सुटकेशमा भेटिएको शव सनाखत हुन नसकेपछि प्रहरीले सार्वजनिक गर्‍यो तस्बिर-Sutra News

सुटकेशमा भेटिएको शव सनाखत हुन नसकेपछि प्रहरीले सार्वजनिक गर्‍यो तस्बिर

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं- राजधानीको गोंगबुस्थित गणेशथानमा आइतबार सुटकेशमा भेटिएको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्बिर सार्वजनिक गरेको छ।



‘शव कसको हो, अझै पहिचान हुन सकेन,’  महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र राठौरले सूत्रन्युजसँग भने, ‘शवको पहिचान भए घटनाको अनुसन्धान गर्न सहज हुन्छ। त्यसैले तस्बिर सार्वजनिक गरेका हौं।’

कसैले तस्बिर पहिचान गर्नसके नजिकैको प्रहरी चौकीमा खबर गर्न एसपी राठौरले आग्रहसमेत गरेका छन्।

घटना के हो?

आइतबार बिहानै करिब ७ बजेतिर गणेशथान नजिकैको नवज्योती मार्गमा कालो रंगको शंकास्पद सुटकेश फेला परेको भन्दै प्रहरीमा फोन पुग्यो। लगत्तै महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुग्दा सुटकेशमा टाउको र खुट्टा काटिएको शव फेला पर्‍यो।

त्यसपछि शवको बाँकी अंग खोज्नका लागि प्रहरीले नेपाल प्रहरीको केन्द्रीय कुकुरबाट तालिमप्राप्त कुकुरको सहारा लियो। त्यसपछि तालिम केन्द्रबाट ल्याइएको जोजो नामको कुकुरलाई प्रहरीले घटनास्थलमा फेला परेको नाम्लो सुँघायो। लगत्तै कुकुरले सुटकेश भेटिएको ठाउँभन्दा करिब तीन सय मिटर पर रहेको झोलामा पुगेर संकेत गर्‍यो। झोला खोलेर हेर्दा शवको टाउको र खुट्टा भेट्टियो।

टुक्राटुक्रा अवस्थामा फेलामा परेको शवमा भेस्ट र कट्टुबाहेक अन्य कपडा भेटिएनन्। आइतबारै फेला परेको शव पोस्टमार्टमका लागि अस्पताल त लगियो तर अझै मृतकको सनाखत भने हुन सकेन।

मृतकको पहिचानमा अन्यौलता देखिएपछि प्रहरीले सर्वसाधारणबाट सूचना पाइएला कि भनेर तस्बिर सार्वजनिक गर्ने निर्णय गरेको छ।

‘शव हेर्दा मृतक ४० देखि ४५ वर्षका पुरुष देखिन्छन्। घटनाको प्रकृति हेर्दा हत्या नै हो। तर, यो कसले, कसरी, कहाँ र किन गर्‍यो, यो अनुसन्धानकै क्रममा छौं,’ एसपी राठौरले भने।

उता घटनाको अनुसन्धान गरिरहेका महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले समेत घटना सनाखतकै प्रकृयामा रहेको बताए।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट