फिल्मकर्मीलाई प्रश्न- मुद्दाका लागि लड्ने कि व्यक्तिका लागि ?-Sutra News

फिल्मकर्मीलाई प्रश्न- मुद्दाका लागि लड्ने कि व्यक्तिका लागि ?

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

‘मैले करिश्मा मानन्धरको पुस्ता पनि देखेँ, रेखा थापा, सञ्चिता लुइँटेल आदिको पुस्ता पनि देखेँ। त्यसपछि ऋचा, नम्रता, केकी, नीताहरुको पुस्ता पनि देखियो। हुँदा-हुँदा स्वस्तिमा, आँचल, वर्षा र साम्राज्ञीहरुको अन्तर्वार्ता पनि लिँदै हिँड्नुपरेको छ यतिखेर। चार पुस्ता देखेको छु, ठीकै छ, पाँचौँ पुस्ताको अन्तर्वार्ता पनि मेरै खप्परमा लेखेको छ कि, हैन त!’



एपिवान टेलिभिजनबाट साप्ताहिकरुपमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’का प्रस्तोता प्रकाश सुवेदीले कार्यक्रमको पछिल्लो एपिसोडमा अहंका साथ राखेको भनाइ हो यो। त्यसपछि एक नायिकाप्रति इंगित गर्दै उनी अघि थप्छन्, ‘अन्तर्वार्ता दिने पनि आफैँ, बोल्ने पनि आफैँ, नआउने पनि आफैँलाई अनि हामीलेचाहिँ लिएको अन्तर्वार्ता काटिदिनुपर्ने मिलाई–मिलाई। महानायिका बनाइदिनुपर्ने दारा निस्केको अनुहारलाई। कति हाँस्नु!’

कार्यक्रमभित्रै अभिनेत्रीको शरीरलाई लिएर टिप्पणी गरेपछि टिभी प्रस्तोता सुवेदी अहिले सर्वत्र आलोचनाको पात्र बनिरहेका छन्। शुक्रबार साँझ अभिनेत्री पूजा शर्माले आफ्नो फेसबुकमा ‘कति चुप रहने, कति सहने’ भन्ने प्रश्नसहित जब सुवेदीविरुद्ध लामो स्टाटस लेखिन्, त्यसपछि उनका प्रशंसकमात्रै होइन, पूरा फिल्म जगत् उनको समर्थनमा उत्रिएको छ।

आफूले अन्तर्वार्ता दिन नमानेपछि सुवेदीले आफूविरुद्ध शारीरिक टिप्पणीसहित मानहानी गरेको भन्दै पूजा यतिखेर उजुरीसहित चलचित्र कलाकार संघको कार्यलय गुहार्न पुगेकी छन्। पूजाको प्रश्न छ, ‘के एक पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ? हरेक ट्रोलको शिकारदेखि, यस्तो अभद्र व्यवहारप्रति हामी कलाकार सधैं मौन रहनुपर्ने? अहिले आएर उहाँले मैले कसैको नाम तोकेको छैन भनेर भन्दै हुनुहुन्छ, के यसरी पन्छिन मिल्छ? म नभए पनि कोही अभिनेत्रीलाई त ‘दारे अभिनेत्री’ भनेर सम्बोधन गरिएकै छ त्यहाँ। हामी कलाकारहरू कहिलेसम्म पालैपालो यस्तो अतिवादको शिकार भइरहने?’

अब प्रश्न उठ्छ, हामीकहाँ अभिनेत्रीहरू महिला मुद्दाका लागि लड्छन् कि व्यक्तिका लागि ? फिल्मकर्मीहरू प्रवृत्तिविरुद्ध बोल्छन् कि व्यक्तिविरुद्ध ? होइन भने पूजामाथि ‘बडी सेमिङ’ अर्थात् शारीरिक टिप्पणी हुँदा देखिएको यो बुलन्द आवाज साम्राज्ञीले यौन दुर्व्यवहारको कुरा उठाउँदा किन देखिएन ?

पत्रकारिता एउटा पेसा हो, पत्रकार त्यो पेसामा संलग्न हुने मान्छे। ऊ कुनै अर्कै ग्रहबाट धर्तीमा जे पनि गर्ने छुटसहित आइपुगेको प्राणी होइन। त्यसैले पूजाको प्रश्न सतप्रतिशत जायज छ। र, यसको जवाफ पनि स्पष्ट छ, ‘अहँ, पत्रकार भएकै कारण कसैप्रति अशिष्ट, अभद्र र अमर्यादिन हुन पाइँदैन।’

पत्रकारिताका प्राध्यापक पि. खरेल भन्छन्, ‘कसैको शारीरिक हाउभाउलाई लिएर त्यसरी टिप्पणी गर्न मिल्दैन। त्यो त अपराधसरह हो। प्रमाण पुगेमा त्यस्तो गर्नेलाई कारबाही हुन्छ।’

शारीरिक हाउभाउलाई लिएर कसैप्रति टिप्पणी गरिनुलाई विश्वभर ‘बडी सेमिङ’ भनिन्छ। यो एक-किसिमको दुर्व्यवहार नै हो। यो दुर्व्यवहारविरुद्ध अहिले जसरी सारा फिल्मकर्मीहरु आवाज उठाइरहेका छन्, झट्ट हेर्दा यो जत्तिको सुन्दर पक्ष अरु केही लाग्दैन। एउटा सभ्य र सचेत समाज निर्माणका लागि अन्यायविरुद्ध पीडितलाई साथ दिनु, खराब प्रवृत्तिविरुद्ध डटेर बोल्नु जत्तिको सुन्दर कुरा अरु के हुन सक्छ र!

तर, नेपाली फिल्म क्षेत्र महिला हिंसा अर्थात् महिला मुद्दाका मामिलामा बाहिर बसेर झट्ट देखिएजस्तै सधैं स्पष्ट छ त? अभिनेत्रीविरुद्ध हुने दुर्व्यवहारको समर्थनमा उठ्ने आवाज सधैं उस्तै छ त? कि कतै यो आवाजको ‘भोल्युम’ले व्यक्तिअनुसार फरक-फरक व्यवहार गरिरहेको त छैन?

मलाई लाग्छ, यो विषयमा प्रश्न र समीक्षा दुवै आवश्यक छ। समीक्षाका लागि धेरै पर जानै पर्दैन, यतिखेर पूजासँगसँगै बढिरहेको अर्को मुद्दा हो- अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको। साम्राज्ञीले सोसियल मिडियामार्फत् पहिलो फिल्म ‘ड्रिम्स’मा अभिनय गर्दा भोगेका दुर्व्यवहारबारे खुलेर बोलिन्। फिल्मका निर्देशक भुवन केसीले आफूमाथि गरेको दुर्व्यवहारको फेहरिस्त हिम्मतसाथ बाहिर ल्याइन्।

त्यसपछि भुवनले साम्राज्ञीको बोलीमा ताल्चा लगाउन कहिले कलाकार संघमा उजुरी दिए, कहिले साइबर क्राइममा थुनाइदिने धम्की दिए त कहिले आफू निकटका पत्रकार, निर्देशक, प्राविधिकमार्फत् उल्टै चरित्रहत्याको प्रयास गरे। यतिले पनि नपुगेपछि अहिले उनी अदालत पुगेका छन्- साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्तिको माग दाबीसहित।

अचम्म त के छ भने यी सब घटनाक्रम भइरहँदा पुरुष कलाकार त परको कुरा, आफूलाई बौद्धिक र महिलावादी अभिनेत्रीका रुपमा चिनाएका महिला कलाकारहरुसमेत साम्राज्ञीले उठाएको दुर्व्यव्यवहारको मुद्दामा चुइक्क बोल्न सकेनन्। रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, करिश्मा मानन्धर, गौरी मल्ल, वर्षा शिवाकोटी, वर्षा राउत, पूजा शर्माआदि अभिनेत्रीहरु सबै मौन देखिए।

र, साम्राज्ञीले उठाएको यौन दुर्व्यवहारको मुद्दामा मौन देखिएका फिल्मकर्मी यतिखेर एउटी अभिनेत्रीविरुद्ध गरिएको टिप्पणीमाथि खरो उत्रिएका छन्, फेसबुकमा लामा-लामा स्टाटससहित।

केकीले लेखिन्, ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो इतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारीरिक बनावटमाथि गर्नुभएको छुद्र टिप्पणी अत्यन्तै अशोभनीय र खेदजनक छ।’

ऋचाले पनि लेखिन्, ‘एउटा अभिनेत्री र त्योभन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जीउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने, कसरी हिड्नु, बोल्नु, खानुपर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाइदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउँछ। मेरो शरीरको बनावट उनीहरुले चाहेझैँ बनाऊ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाऊ म मोटी, दारा भएको काली, भयात्त परेकी हुन्छु। जब-जब मान्छेले आफूलाई संरक्षक कहलाई अहंकार र अभिमानको बाटो रोजेका छन्, ठूला-ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नु परेको छ। मलाई म र तपाईँलाई तपाईँ बन्न नदिनेलाई अब चुप लगाउनुहोस्।’

केही समयअघिमात्रै कलाकारहरु नम्रता सापकोटा, वर्षा शिवाकोटी, नाजिर हुसेनलगायतले नेपाली फिल्म क्षेत्रमा ग्रुपिज्म हाबी रहेको बताएका थिए। कतै यो मौनता त्यही ‘ग्रपिज्म’कै प्रभाव त होइन? कतै साम्राज्ञी कसैको समूहमा नअटाएकी त होइनन्?

गौरी मल्ल, रीमा विश्वकर्मा, स्वस्तिमा खड्कालगायत अभिनेत्रीले पनि प्रकाशको अभिव्यक्तिविरुद्ध फेसबुकमा आफ्नो मत प्रकट गरे।

तर, धेरैलाई थाहा नहुन सक्छ, प्रकाश सुवेदीले पुजाविरुद्ध व्यंग्य गर्दै गरेको शारीरिक टिप्पणीलाई अभिनेत्री सुष्मा कार्कीले त रमाइरमाइ सेयर गरेकी थिइन्। सोसियल मिडियामा यसको भिडियो क्लिपलाई भाइरल बनाउन उनको सेयरले पनि मद्दत गरेको थियो।

उनले फेसबुकमा लेखेकी पनि छिन्, ‘मेरो पनि दारा छ। तर, मलाई अलिकति पनि चित्त दुखेन त! प्रचारको लागि आफैँले आफैँलाई दारे सम्झिएर मिडियाबाजी गर्नु भनेको के हो? कुरा क्लियर छ। मुद्धा हाल्न जादा पनि प्रेसमिट गर्नु पर्दो र’छ? अनि, साम्राज्ञीको विषयमा कसैको बोली फुटेको थिएन त?  नामै नतोकी भनेको विषयमाचाहिँ यत्रो हंगामा किन? फेमिनिज्मको पनि बेइज्जत भयो अब त।’

पूजाविरुद्ध सुष्माले राखेको यो ‘हल्काफुल्का’ टिप्पणीमा कुनै पनि दृष्टिले सहमति जनाउन सकिन्न तर साम्राज्ञीको विषयमा धेरैको बोली नफुटेको भन्ने उनको वाक्यमा भने सत्यता छ। अहिले बोलिरहेका सुदर्शन थापा, प्रदिप भट्टराई, मनोज गजुरेल, दीपकराज गिरीलगायत फिल्मकर्मीहरु समेत साम्राज्ञीको मुद्दामा मौन देखिए।

आफूलाई बौद्धिक अभिनेत्रीका रुपमा उभ्याएका दुई अभिनेत्रीसँग मैले एक अनौपचारिक गफमा सोधेको थिएँ– साम्राज्ञीको मुद्दामाचाहिँ तपाईँहरु किन मौन? जवाफ दुवैको उस्तै थियो- ‘मुद्दा अदालतमा पुगेकाले साम्राज्ञीले नै नबोल्नु भनेर अनुरोध गरेकी थिइन्।’

जवाफ सुनेर चकित भइयो। कोही अन्यायमा परेको छ र त्यसविरुद्ध बोल्नुपर्छ भन्ने लाग्छ भने त्यसका लागि ‘तपाईँ अन्यायमा पर्नुभयो, म बोलुँ कि नबोलुँ’ भनेर पीडितलाई सोध्नुपर्छ र? खासमा यस्तो तर्क मौनताको कारण हुनसक्छ भन्ने मलाईचाहिँ कहिल्यै लाग्दैन।

अब प्रश्न उठ्छ, हामीकहाँ अभिनेत्रीहरु महिला मुद्दाका लागि लड्छन् कि व्यक्तिका लागि? फिल्मकर्मीहरु प्रवृत्तिविरुद्ध बोल्छन् कि व्यक्तिविरुद्ध? होइन भने पूजामाथि ‘बडी सेमिङ’ अर्थात् शारीरिक टिप्पणी हुँदा देखिएको यो बुलन्द आवाज साम्राज्ञीले यौन दुर्व्यवहारको कुरा उठाउँदा किन देखिएन? भुवन केसी शक्तिशाली पात्र भएर या साम्राज्ञी आफू निकटकी कलाकार नभएर?

केही समयअघिमात्रै कलाकारहरु नम्रता सापकोटा, वर्षा शिवाकोटी, नाजिर हुसेनलगायतले नेपाली फिल्म क्षेत्रमा ग्रुपिज्म हाबी रहेको बताएका थिए। कतै यो मौनता त्यही ‘ग्रपिज्म’कै प्रभाव त होइन? कतै साम्राज्ञी कसैको समूहमा नअटाएकी त होइनन्?

महिलाका विषयमा फिल्म बनाउँदै आइरहेकी रेखा थापा त झन् साम्राज्ञी र पूजा दुवैको विषयमा केही प्रतिक्रिया जनाएकी छैनन्। बरु यही बेला उनले एक साप्ताहिक पत्रिकाले प्रियंका कार्कीको पहिरनलाई लिएर बनाएको गसिपप्रति आपत्ति जनाउँदै स्टाटस लेखेकी छन्।

खासमा कोही पनि महिला या पुरुषलाई पीडित यहाँ व्यक्तिले होइन, सिस्टमले बनाइरहेको हुन्छ। राजनीतिक तथा सामाजिक प्रणाली यस पछाडिका खास कारण हुन्। हाम्रा सामाजिक सोच तथा मान्यताले प्रभाव पारिरहेको हुन्छ। त्यसैले हामी बोल्नुपर्ने त ती प्रणाली र मान्यताविरुद्ध हो। तर, यहाँ हामी कतै अनुहार हेरेर त बोल्दै छैनौं? यो त्यस्तै थिइ, ठिक्क पर्‍यो, तर त्यो त मेरो साथी हो, बोल्नुपर्छ भन्ने मानसिकता त राख्दै छैनौं? बहस आवश्यक छ।

एक वर्षअघि ‘वीरविक्रम-२’ फिल्मको व्यंग्यात्मक समीक्षा गरेकै कारण कमेडियन प्रनेस गौतम प्रहरी हिरासतमा पुगेका थिए। त्यतिबेला अभिव्यक्ति स्वतन्त्रताका पक्षधर मानिने फिल्मकर्मीहरुको मौनतामाथि प्रश्न उठाउँदा केही कलाकारले उल्टै प्रश्न गरेका थिए, ‘मौन बस्न पाउनु मेरो मौलिक अधिकार हो, किन प्रश्न गर्छौ?’

अहिले साम्राज्ञीको विषयमा किन मौन भनेर प्रश्न गरिरहँदा सायद फेरि मलाई यस्तै प्रश्न आउन सक्छ। त्यतिखेर म रुसी यहुदी लेखक एवम् शिक्षक नदेज्दा मन्डेस्टम सम्झन्छु। उनले भनेकी थिइन्, ‘मैले चिच्याउनु नै उत्तम ठानेँ। किनभने मौनता मानवताविरुद्धको वास्तविक अपराध हो।’

आइरिस राजनीतिज्ञ एडमन्ड वर्कले पनि भनेका थिए, ‘दुष्टहरूको विजयका निम्ति एउटै चिज आवश्यक हुन्छ- असल मान्छेहरूले केही पनि नगरिदिनु।’ उनी भन्थे- असल मान्छेहरूको मौनता सबैभन्दा घातक हुन्छ।

फेरि पनि फिल्मकर्मीलाई प्रश्न- कहिलेसम्म मौन बसिरहने?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट