कोभिड–१९ को ‘हटस्पट’ नरैनापुरमा बिजुली पुग्दा देखिएको खुसी-Sutra News

कोभिड–१९ को ‘हटस्पट’ नरैनापुरमा बिजुली पुग्दा देखिएको खुसी

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

बाँके-पहिला सडकमा ट्याक्टर मात्र गुड्थे। गाउँमा आगलागी भयो भने अर्को दिन बिहानमात्र दमकल आइपुग्थ्यो। ‘एकचोटी गाउँमा आगलागी भयो, २ सय घरमध्ये ४५ घर जोगिए’, नरैनापुरका विनय दीक्षीतले भने, ‘आगलागीको अर्को दिन बल्ल दमकल आइपुग्यो।’ नरैनापुर त्यही गाउँ हो, जुन केही हप्ता पहिलेसम्म कोभिड–१९ महामारीको हटस्पट बनेको थियो। कोभिड–१९ बाट संक्रमित एक युवाले सुरुमै ज्यान गुमाएका थिए, सयौं मानिसहरू संक्रमित बनेका थिए।



नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा रहेको नरैनापुर गाउँ त्यति दुर्गम त होइन। तर, विकासका न्यूनतम पूर्वाधार नहुँदा दुर्गम देखिने अनगिन्ती विशेषता बोकेको थियो। गाउँमा राम्रो बाटो थिएन, बिजुली बत्ती पनि पुगेको थिएन। नरैनापुर गाउँपालिकाको सुइया गाउँमा बिजुली पुगेपछि देखिएको उत्साहले प्रदेशसभा सदस्य कृष्णा केसी (नमूना) पनि उत्साहित छिन्। ‘सबैको सहयोग र समन्वयका कारण नरैनापुरमा बिजुली बाल्ने कुरा सम्भव भएको हो’ उनले भनिन्, ‘यसको सदुपयोग अब यहीँका जनताले गर्ने हो। अब सिक्टाको पूर्वी नहर आउँदैछ, अब नरैनापुरलाई कृषि केन्द्र बनाउनुपर्छ।’

दुई दशकको सपना

दुई दशकअघि नरैनापुरवासीले बिजुलीका पोल मात्र देखेका थिए। हरेक चुनावमा नेताले गाउँमा बिजुली बाल्ने सपना देखाए। तर नरैनापुर–५ मुन्सीप्रसाद यादवले गाउँमा बिजुली बलेको कहिले देख्न पाएका थिएनन्। अहिले पहिलोपटक पोलमा बत्ती बलेको उनले देखे। गाउँमा बत्ती बलेको देख्दा निकै खुसी लागेको बताउँदै उनी भन्छन्, ‘अब हाम्रो गाउँ पनि उज्यालो हुने भयो।’

चार बिघा जमिनमा नालाको पानी बोरिङ गरेर खेति गर्छन् उनी। घरमा सोलारबाट बत्ती बाल्छन् । टिभी हेर्नका लागि ब्याट्री चार्ज गर्न भारत पुग्नुपथ्र्यो। घरमा बिजुली नभएका कारण सबै कोठामा पङ्खा जडान गरिएको थिएन। ‘अब खेततिका लागि बोरिङ गर्न सजिलो हुनेभयो’ उनी खुसी व्यक्त गर्दै उनी भन्छन्, ‘खेति किसानी गर्ने सबैलाई फाइदा हुने भयो।’

यादव मात्रै होइन, बिजुली बलेको देख्दा गाउँमा नै खुसीयाली छाएको छ। नरैनापुर–१ मजुरोटीका अहमद दर्जी बिजुली आउनु गाउँकै लागि खुसीको कुरा भएको बताउँछन्। ‘बत्ती र सडक नहुँदा धेरै दुःख थियो, सोलारले बत्ती बाल्थ्यौँ, उनले भने, ‘बत्ती नहुँदा परीक्षामा केटाकेटी राम्रोसँग पढ्न पाउँदैनथे।’

नेपालगञ्जबाट पैँतीस किलोमिटर दूरीमा रहेको नरैनापुर पुग्न पाँच घण्टा लाग्थ्यो। पुल बन्नुअघि राप्तीमा डुङ्गा चल्थ्यो। स्थानीयवासी डुङ्गाकै भरमा किनमेल अनि सरकारी कामका लागि नेपालगञ्ज पुग्थे। ‘नून तरकारी भारतबाट लिएर खान्थ्यौँ’ नरैनापुर–५ मटेहयाका ७१ वर्षीय नन्कउ नाउले विगत सम्झे, ‘बिरामी भयौँ भने यहीँ मथ्र्यौँ।’

केही वर्षअघि आफैँ खुट्टाको क्यान्सरले थला परेपछि उनी उपचारका लागि नेपालगञ्ज पुग्न सकेनन्। छ महिना भारतको लखनउमा उपचार गरे। नरैनापुरबाट भारत पुग्न तीन घण्टामात्र लाग्छ, नेपालगञ्ज पुग्न पाँच घण्टा। ‘अहिले सडक बनेयता एक घण्टामा नेपालगञ्ज पुगिन्छ’ नाउले थपे, ‘बाटो बनेपछि नेपालगञ्ज पुग्न सजिलो भयो।’

क्षेत्रीय विद्युत् प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरले गाउँगाउँमा खम्बा गाडिएकाले तार जडान गर्न मात्र बाँकी रहेको बताए। उनले विपन्न समुदायले बिजुलीबाट बञ्चित हुनु नपर्ने उनको भनाइ छ । तेत्तिस केबीको लाइन विस्तार गर्नुका साथै सवस्टेशन पनि जडान गरिसकेको बताउँदै उनले थपे, ‘निःशुल्क तार, मिटर एमसिबी जडान गर्नेछौँ । बत्ती बालेबापत आएको शुल्क मात्र स्थानीय प्रयोगकर्ताले तिरे पुग्छ ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट