काठमाडौं- आइतबार प्रहरीले सुटकेशमा टाउको, खुट्टा र शरीर काटिएको अवस्थामा गोगंबुबाट एउटा बेवारिशे शव फेला पार्यो । त्यसपछि महानगरीय प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली उक्त शवको सनाखत प्रक्रिया र हत्यारा दुवैको खोजीमा जुट्यो ।
शव भेटिएको दुई दिन नकट्दै अर्थात् सोमबार नै प्रहरीले उक्त शव दाङका कृष्णबहादुर बोहराको रहेको पहिचान गर्यो। प्रहरीले चितवनबाट कल्पना मुडभरी पौडेललाई हत्या आरोपमा पक्राउसमेत गर्यो ।
‘मिसन जो जो’ नाम दिइएको यो अपरेशन सफलता नजिक पुगेपछि हौसिएको परिसर र महाशाखाको टोलीले लगत्तै मंगलबार घटनाबारे जानकारी दिन ‘प्रेसमिट’ आयोजना गर्यो । सायद प्रहरीलाई लागेको थियो– घटनामा प्राप्त सफलतालाई लिएर प्रहरीको सर्वत्र वाहवाही हुनेछ ।
तर, अहिले उल्टै ‘प्रेसमिट’लाई लिएर सामाजिक सञ्जालमा प्रहरीको चर्को आलोचना सुरु भएको छ। ‘प्रेसमिट’मा देखिएको पत्रकारहरुको भिडले प्रहरीमाथि नै प्रश्न उब्जाएको छ । सर्वसाधारणलाई भिडभाड गर्न नदिने, सामाजिक दूरी कायम गराउने, मास्क नलगाए कारबाही गर्नेजस्ता सरकारका नीतिगत निर्णयलाई कार्यान्वयन गराउने जिम्मेवार निकाय नै प्रहरी प्रशासन हो । तर, यस्तो जिम्मेवार निकायले नै सामाजिक दूरी कायम नगरी खाँदाखाँद अवस्थामा ‘प्रेसमिट’ आयोजना गरेको तस्बिर सार्वजनिक भएपछि अहिले प्रहरीको चर्को आलोचना भइरहेको हो ।
सरकारी निकायले यसरी सामाजिक दूरीलाई ख्याल नगरी आयोजना गरेको पत्रकार सम्मेलन यो नै पहिलो होइन । यसअघि पनि नेपालमा दोस्रो संक्रमित पुष्टि हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेसमिट’मा सामाजिक दूरीलाई ख्याल गरिएको थिएन । दोस्रो संक्रमित फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । त्यतिबेला स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गरेको पत्रकार सम्मेलनमा हल भरिभराउ थियो । न मन्त्रीले सामाजिक दूरी कायम गरेका थिए, न पत्रकारले ।
त्यसैगरी साउन दोस्रो साता प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रहरी समायोजनसम्बन्धी बैठकमा सहभागी प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई केही दिनपछि कोरोना पुष्टि भएको थियो । उनी सहभागी उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेथ थापा क्षेत्री, गृहमन्त्रीका सल्लाहकार सूर्य सुवेदी लगायतको सहभागिता थियो । बालुवाटारमा भएको बैठकमा सहभागीहरुले सामूहिक तस्बिर खिचाएका थिए । त्यसमा पनि सामाजिक दूरीको पालना थिएन, न थियो मास्कको प्रयोग नै ।
नेपालमा कोभिड–१९ को संक्रमण बढिरहेको बेला नियन्त्रणका लागि नीति बनाउने र कार्यान्वयन गर्ने तह नै चुकिरहेका कुरा यिनै प्रसंगबाट प्रष्ट हुन्छन्।
सरकारको निर्देशन विपरीत मास्कको प्रयोग नगरी हिँडेका कारण सोमबारसम्म तीन लाख ९५ हजार जना व्यक्ति कारबाहीमा परेको गृह मन्त्रालयको तथ्यांक छ । सवारीसाधनमा जोर बिजोर प्रणाली लागू भएपछि प्रहरीले करीब पाँच हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएकोसमेत तथ्यांकमा उल्लेख छ ।
सरकारको निर्देशन पालना नगरेको भन्दै उनीहरुलाई कारबाही गरिएको प्रहरी अधिकारीहरु बताउँदै आइरहेका छन् । तर आफैँले गरेको ‘प्रेसमिट’बारे सूत्रन्युजले प्रश्न गर्दा नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायत पत्रकार सम्मेलनमा दूरी कायम नगरिनु गलत भएको बताउँछन् । ‘दूरी कायम गर्नुपर्ने थियो,’ उनी गल्ती स्वीकार गर्दै भन्छन्, ‘तर, त्यो गरिएको देखिएन ।’
नेपाल प्रहरीले महानगरीय प्रहरी परिसरलाई यस बारेमा सम्झाएको समेत उनले बताए । अहिले सरकारले कुनै पनि सभासम्मेलन वा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । भिडभाड वा सभा सम्मेलन गरेमा संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबारी गरिने बताइएको छ । तर, सरकारकै प्रमुख निकाय नेपाल प्रहरीले भौतिकरुपमा पत्रकार सम्मेलनको आयोजना गरेर भिडभाड बढाइरहेको देखिन्छ ।
अपराध अनुसन्धान महाशाखाका प्रवक्ता ईश्वर कार्की भने कोभिड १९ को जोखिम कम गर्न नेपाल प्रहरी कटिबद्ध भएको बताउँछन् । अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरले संयुक्त आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा भएको भिडभाडको जिम्मेवार पत्रकारहरु आफैँ भएको उनको तर्क छ ।
‘पत्रकार सम्मेलनमा दूरी कायम नगरिएको कुरा व्यक्तिगत अनुशासनको कुरा हो,’ उनी भन्छन्, ‘सम्मेलनमा ड्यासमा बसेका प्रहरीले दूरी कायम गरेका थिए । सम्मेलनमा आएका पत्रकारहरुले दूरी कायम नगरेका हुन् ।’ पत्रकारहरु सचेत नागरिक भएर पनि जिम्मेवारी निर्वाह गर्न चुकेको उनको तर्क छ ।
‘देशकै ठूलो घटनाको पर्दाफास भइरहेको अवस्थामा पत्रकारलाई मास्क लगाएको छैन, दूरी कायम गरेको छैन भनेर रोक्ने कुरा हुँदैन,’ कार्कीले भने, ‘त्यसरी टिप्पणी गर्दा विषय पनि फेरिन्छ । तर, दूरी कायम गर्ने कुरा व्यक्तिगत जिम्मेवारीको कुरा हो । पत्रकारहरुले नै यो कुरा कायम गर्नुपर्ने थियो ।’
भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्ने, प्रेस विज्ञप्ति पठाउने माध्यम हुँदाहुँदै पनि कोभिड–१९ को जोखिम बढाएर गरिएको उक्त पत्रकार सम्मेलनका कारण भने ‘देशकै ठूलो घटनाको पर्दाफास भएको’ कार्की बताउँछन् ।
‘पत्रकार र प्रहरी नै व्यावहारिक भएनन्’
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पत्रकार शिव गाउँलेले पत्रकार र प्रहरी दुवैले आफूले भन्ने कुरा व्यवहारमा नउतारेको बताउँछन् । ‘प्रहरीले गर्ने पत्रकार सम्मेलनमा यो अवस्थामा यति भिड गर्नु भनेको प्रहरी र पत्रकार दुवैले अहिले कति जोखिम छ भन्ने महसुस नगरेको हो,’ उनी भन्छन्, ‘प्रहरीसँग अहिले अन्य उपाय छन् । उनीहरुले भिडियो वा अन्य माध्यमबाट प्रेस कन्फ्रेन्स गर्न सक्छन् । तर, यसरी भौतिकरुपमा भेटघाट गरेर भिडभाड गर्नु भने जोखिम बढाउनु हो । प्रहरी र पत्रकार दुवै यसमा दोषी छन् ।’
पत्रकार गाउँले महामारीकैबीच प्रहरीले पत्रकार सम्मेलनको आयोजना गर्नु गलत भएको टिप्पणी गर्छन् । ‘त्यो घटनापछिको पत्रकार सम्मेलनमा यस्तो भिडभाड गर्ने अधिकार कसले दियो? दूरी कायम नगराउने अधिकार कसले दियो ?,’ गाउँले भन्छन्, ‘पत्रकारले पनि आफूले लेख्ने कुरालाई व्यवहारमा उतारेका छैनन् । झन् सरकारको जिम्मेवार निकाय रहेको प्रहरीले यस्तो बेलामा सम्मेलन आयोजना गर्नु नै हुँदैन थियो ।’
यो गैर-जिम्मेवारीपन हो : जनस्वास्थ्यविद् वन्त
जनस्वास्थ्यविद् डा. शरद वन्त जिम्मेवार पक्ष विभिन्न घटनाहरुमा चुकिरहेको बताउँछन् । निर्णय गर्ने तर कार्यान्वयनको पाटोमा जिम्मेवार निकाय नै गैर-जिम्मेवार देखिएको डा. वन्तको दाबी छ ।
‘भिड हुनेगरी भेलामा बोलाउनु नै गल्ती हो । पत्रकार साथीहरु पनि समाचार संकलनको लागि भिडमा जानु गैर-जिम्मेवारीपन हो,’ उनी भन्छन्, ‘यसले ठूलै जोखिम निम्त्याउन सक्छ । सरकारले पनि निर्देशन जारी गर्ने तर आफैँ त्यसलाई वास्ता नगर्नु राम्रो संकेत होइन ।’
डा. वन्तका अनुसार नागरिक दायित्व भनेको सरकारले भनेको काम गर्नुमात्र होइन । ‘अमेरिकामा सरकारले भनेको कुरालाई मात्र जनताले मानेको भए अमेरिका ध्वस्त हुन्थ्यो होला । आफ्नै विवेकले गर्दा मात्रै बाँचेका हुन्,’ उनी उदाहरण दिँदै भन्छन्, ‘त्यसैले पत्रकारलगायत सबै नागरिक भिडभाडमा नजानु नै कोरानाबाट बच्ने सबैभन्दा उत्तम पक्ष हो ।’