थारू समुदायमा कृष्णजन्माष्टमीको रौनक-Sutra News

थारू समुदायमा कृष्णजन्माष्टमीको रौनक

मंगलबार, २७ साउन २०७७

मंगलबार, २७ साउन २०७७

बाँके- भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्णजन्माष्टमी पर्व थारु समुदायमा पनि उत्तिकै श्रद्धापूर्वक मनाउने गरिन्छ। नेपालको पूर्व तराईदेखि पश्चिम क्षेत्रका थारू समुदायका महिलाले विशेष महत्वका साथ मनाउने यो पर्वको रौनकता पछिल्लो समय अझ बढेर गएको छ। थारू समुदायका बस्तीमा कृष्णजन्माष्टमीको चहलपहल अघिल्लो दिनदेखि नै शुरु भइसकेको छ।



थारू अगुवाका अनुसार यो पर्व अन्य समुदायका महिलाले मान्दै आएको तीज पर्व जत्तिकै महत्वका रूपमा थारू समुदायका महिलाले मनाउने गर्दछन्। कृष्णजन्माष्टमी पर्वमा निराहार व्रत बस्ने अविवाहित महिलाले राम्रो वर पाऊँ भन्ने कामना गर्दछन् भने विवाहिताले पतिको दीर्घायुसँगै घरपरिवारको समृद्धिको कामना गर्दै भगवान् कृष्णको पूजा गर्ने गर्ने चलन रहेको छ।

‘कृष्णजन्माष्टमी थारू समुदायका महिलाको ठूलो पर्व हो, महिला व्रत बसेर कृष्णको पूजाआजा गरी आफ्नो मनोकाङ्क्षा पूरा होस् भनेर कामना गर्दै व्रत बस्ने पर्व हो,’ बर्दियाका कौसिल्या थारूले भने, ‘थारू समुदायका महिलाहरूको प्रमुख पर्वका रूपमा मनाइने यो पर्वमा पुरुष भने व्रत बस्दैनन्।’

कृष्णजन्माष्टमी पर्वलाई थारू समुदायले ‘अष्टिम्की’ भन्ने गरिन्छ । भगवान् कृष्ण थारू समुदायका कुलदेवताका रूपमा रहेको मान्यतामा छ । द्वापरयुगदेखि यो समुदायसँग जोडिएको भगवान् कृष्णसँगको सम्बन्धका कारण कृष्ण थारू समुदायका कुलदेवताका रूपमा रहन गएको थारु अगुवा लौटी थारू बताउँछन्। ‘हाम्रो समुदायले भगवान् श्रीकृष्णलाई देवताका रूपमा स्थान दिएको छ,’ उनले भने।

थारूराजा दंगीशरण र कृष्णबीचको वैमनस्यबाट थारू समुदाय र कृष्णबीचको सम्बन्ध स्थापित भएको किंवदन्ती छ । द्वापरयुगमा थारू राजा दंगीशरणसामु स्वर्गकी अप्सरा मेनका शरणमा पर्न आइन् । मेनकाको खोजी गरिरहेका कृष्णले राजा दङ्गीशरणको शरणमा पुगेको भन्ने थाहा पाए । अनि दङ्गीशरणको शरणबाट छुट्याएर मेनकालाई आफूसँग ल्याउन निर्देशन दिए । पुर्खाको भनाइ भने फरक रहेको छ तर दङ्गीशरणले प्रेम गर्दै आएकी मेनकालाई कृष्ण कहाँ पठाउन राजी नभएको थारू किंवदन्तीमा उल्लेख रहेको उनको भनाइ छ । 

‘कृष्ण भगवान्ले दङ्गीशरणलाई जितेर मेनकालाई ल्याउ भनेर अन्य देवतालाई निर्देशन दिनुभएको रहेछ,’ थारू अगुवा लौटीले भने, ‘तर दङ्गीशरणले अगाध प्रेम गर्न थालिसकेका कारण मेनकालाई छोड्न राजी हुनु भएन भन्ने किंवदन्तीमा उल्लेख छ ।’

भगवान् कृष्णले युद्व गरेरै ल्याउन भनेपछि राजा दङ्गीशरण डराए अनि पाँच पाण्डवको शरणमा गइपुगे । पाँच पाण्डवमध्येका भीमले दङ्गीशरणसमक्ष एउटा शर्त राखे ‘सबै देवतालाई मान्नुपर्छ ।’ दङ्गीशरणले आफ्नो ज्यान जोगाउनका लागि सबै देवतालाई मान्ने वचन दिए । दङ्गीशरणलाई कृष्णको आक्रमणबाट बचाउने आश्वासन दिएका भीम र कृष्णबीच द्वन्द्व चल्यो । 

यो द्वन्द्वको समापनपछि राजा दङ्गीशरणले सबै देवतालाई मान्न थालेको र कृष्ण कुलदेवताका रूपमा आफूहरूले समुदायमा स्थान पाएको अगुवाहरूको भनाइ छ । ‘थारू राजा दङ्गीशरणले सबै देवतालाई मान्ने र भगवान् कृष्णलाई कुलदेवताका रूपमा मान्न थालेपछि अहिले पनि हाम्रो समुदायले भगवान् कृष्णलाई कुलदेवताका रूपमा स्थान दिँदै आएको देखिन्छ,’ उनले भने। थारू समुदायका महिलामा विशेष महत्व राख्ने यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । यो पर्वको अघिल्लो दिन थारू समुदायका महिलाले दर खाने प्रचलन रहेको छ । 

‘यो पर्वको अघिल्लो दिन महिलाहरूले दर खाने प्रचलन रहेको छ,’ सुकुनीले थारूले भने, ‘कृष्णजन्माष्टमीका दिन उनीहरू व्रत बस्ने प्रचलन रहेको छ ।’ दिनभर व्रत बसेका महिलाहरू बेलुका कृष्णको तस्बिरमा पूजा गर्ने प्रचलन छ । पूजाको शुरुमा घरमा त्यसपछि जस्को घरमा फोटो बनाएको छ सो घरमा गाउँका पुर्जा हुन्छ । गाउँका सबै महिला उनै वर्घर र महतवाको घरमा पूजाका लागि लाइन लाग्दै भेला हुने गर्दछन् । वर्घरको घरको भित्तामा कृष्णलगायत अन्य चित्रहरू राखिएको हुन्छ । सो चित्रमा पुर्जा गर्ने चलन छ । रातभरि मन्दिरमा पूजाआजा गर्दै व्रतालुहरु महिलाले गीत गाउने पनि गर्छन् ।

भोलि बिहान उठेर फेरि पूजा गर्ने नदीमा गएर स्नान गर्ने नुहाइधुवाइ गरेर आएपछि कृष्ण भवगवान्का नाममा फलफूल खानाका विभिन्न परिकारहरु, तरकारी सबै चीज कृष्णका नाममा बनाएर कृष्णलाई खाना दिनका लागि चढाउन पछि अनि आफू खाने गर्छन् । खाना खाइसकेपछि आफनो विवाहित दिदीबहिनीहरुलाई पूजामा चढाएको खानासमेत खानका लागि पाहुनाका रुपमा पु¥याउने कोहीकोहीले गर्ने गर्छन् ।

कृष्णजन्माष्टमीमा बाँके बर्दियाको कृष्ण मन्दिरमा रथयात्रा शोभायात्रा यस पटक कोरोनाका कारण नहुने देखिएको छ । बाँके र बर्दियामा यहाँ कोरोनाको रेडजोन क्षेत्रमा भएकाले दुवै जिल्ला निषेधाज्ञा जारी गरिएका कारण आफ्नो कृष्णको सम्झनामा घरमा महिला पूजाआजा गरिहेको छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्णजन्माष्टमी मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दू धर्मशास्त्रमा वर्णन गरिएको छ ।

आज बाँकेको नेपालगञ्ज बर्दियाको गुलरिया रहेको कृष्ण मन्दिर रहेको कृष्ण मन्दिरहरुमा कृष्ण मन्दिरमा र देशभरका अरू कृष्ण मन्दिरमा भव्य रुपमा पूजाआराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्णजन्माष्टमी पर्व मनाउने गरिन्छ । कोरोना सङ्क्रमणका कारण आज यी मन्दिर सर्वसाधारणका लागि खोलिएको छैन । आज व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभरि जाग्राम बसेर श्रीकृष्णको भजनकीर्तन गर्ने तथा गीत  गाउने गरिन्छ। कोरोनाका करण यस पटकको कृष्णाष्टमीमा आ–आफ्नै घरमा महिलाहरु व्रत बसी पूजा गरिरहेको बाँके जिल्लाका स्थानीय थारू महिला पुर्जा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट