सिन्धुली–जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो।
वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६ प्रहरी कर्मचारी निलम्बित छन्।
उनीहरुलाई सवारी चालकसंँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइ थप छानबिन गर्न हाललाई मंगलबार निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए।
उनका अनुसार निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार प्रहरी जवान छन्। निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन्।