काठमाडौं- तीन दिनदेखि बेपत्ता भएका कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो। हालः उनको शव हेटौंडा अस्पतालमा राखिएको छ।
बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन थिए। उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जनाएको छ। बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो। त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको प्रहरीले जनाएको छ।
एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए। तर पानीको अत्याधिक बहाबले उद्धार गर्न नसकेको स्थानीयले बताएका छन्।
तनुहँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।