कमला उपराष्ट्रपतिको उम्मेदवार बनेपछि अमेरिकामा देखिएको हलचल-Sutra News

कमला उपराष्ट्रपतिको उम्मेदवार बनेपछि अमेरिकामा देखिएको हलचल

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौँ- आगामी अमेरिकी चुनावका लागि उम्मेदवार रहेका जोई वाइडेनले उपराष्ट्रपतिको उम्मेदवारको रुपमा कमला ह्यारिसलाई अघि बढाएका छन् । बाबुआमा नै आप्रवासी भएकाले उनको डेमोक्र्याटिक पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएकी ह्यारिसको उम्मेदवारीलाई अमेरिकी राजनीतिमा निकै चासोका साथ हेरिएको छ । 



अमेरिकाको क्यालिफोर्निया राज्यबाट अमेरिकी सिनेटमा निर्वाचित कमला हेरिस पहिलो एसियाली मूलकी अमेरिकी महिला हुन्, जो अमेरिकामा यो पदका लागि उम्मेदवार बनाइएकी छन् । उनकी आमा भारतीय मूलकी हुन् भने बाबु जमैकाका ।

बाबु–आमाको ‘डिभोर्स’पछि कमला आफ्नी आमासँगै क्यालिफोर्नियाको ओकल्याडमा हुर्किएकी थिइन् ।  उनकी आमा श्यामला गोपालन हेरिस एक क्यान्सर अनुसन्धाता तथा नागरिक अभियन्ता थिइन् । 

वाइडेनले आफूले राष्ट्रपतिको लागि उमेदवारी दिएपछि नै उपराष्ट्रपतिको पदमा कोही महिलालाई ल्याउने वाचा गरेका थिए । उनको यो वाचासँगै विभिन्न महिला नेतृहरु उपराष्ट्रपतिको सम्भावित उम्मेदवारको रुपमा चर्चामा आएका थिए । तर बाजी भने कमलाले मारिन् ।

कोरोना भाइरसको महामारीका कारण सर्वाधिक प्रभावित अमेरिकामा हालसम्म एक लाख ६४ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । कोभिड–१९ का कारण लाखौं मानिस बेरोजगार बनेका छन्, अमेरिकी अर्थतन्त्र पनि ज्यादै नाजुक अवस्थामा पुगेको छ ।

कमलालाई उपराष्ट्रपतिको रुपमा छानिएसँगै डेमोक्र्याकिट पार्टीले यो अमेरिकी राजनीतिका लागि सुखद हुने उल्लेख गर्दै उत्सव मनाएको छ ।

कोभिड–१९ को महामारीबीच पनि अमेरिकालाई आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावको माहोलले निकै तताएको छ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी कार्यकालका लागि चुनौति दिएका वाइडेनले उपराष्ट्रपतिमा ह्यारिसलाई उम्मेदवार बनाएर आफूतर्फ आप्रवासी मतदाताहरुको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति उम्मेदवारको रुपमा छनोट गरेपछि चुनावी प्रचार अभियानका क्रममा वाइडेनले कमलाको क्षमता र विशेषताको चर्चा गरेका थिए । ‘मलाई यस्तो व्यक्तिको साथ चाहिएको छ, जो स्मार्ट होस्, जसले मिहेनत गरोस् र नेतृत्व लिन पनि तयार होस्,’ उनले भनेका थिए, ‘कमला त्यस्तै व्यक्ति हुन् ।’

बिबिसीमा छापिएको एक सामग्रीका अनुसार कमलामा वाइडेनले भनेका सबै गुण रहेका छन् । जस्तो कि, पृष्ठभूमिको दृष्टिले उनी अश्वेत अमेरिकी हुन् । अर्कातिर आप्रवासी परिवारकी हुन् । अमेरिकामा उनको परिचय पनि स्थापित भइसकेको छ, । साथै अमेरिकाको ठूलो राज्य क्यालिफोर्नियालाई नेतृत्व गरेको अनुभव पनि छ उनीसँग । 

अमेरिकाको ऐतिहासिक महत्व बोक्ने विश्वविद्यालय हार्वडमा कमलाले चार वर्ष अध्ययन गरेकी थिइन् । त्यसपछिको उनको पढाई क्यालिफोर्निया विश्वविद्यालयमा भयो, जहाँ उनले कानुन संकायमा स्नातकोत्तर गरिन् ।

क्यालिफोर्निया विश्वविद्यालयको पढाई पूरा गरेपछि अलामेडा कन्ट्री जिल्ला अधिवक्ताको कार्यलयबाट उनले आफ्नो ‘करिअर’ सुरु गरिन् । क्यालिफोर्निया राज्यको प्रमुख जिल्ला अधिवक्ता हुनुअघि उनी जिल्लाको प्रमुख जिल्ला अभियोजकको जिम्मेवारीमा थिइन् । अधिवक्ताको रुपमा आफ्नो कार्यकालभर उनको चर्चा डेमोक्र्याटिक पार्टीकी ‘चम्किलो तारा’ को रुपमा हुन थाल्यो । 

वाइडेनले उपराष्ट्रपतिको रुपमा कमलाको नाम सार्वजनिक गरेसँगै प्रगतिशील मतदाताहरुमा यसले प्रभाव पार्ने विश्लेषण गरिएको छ । मौलाउँदै गएको नश्लीय विभेदको विरुद्ध न्यायको अपेक्षा गरिरहेका अमेरिकी आप्रवासीहरुमा पनि कमलाको उम्मेदवारीले सकरात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

कमलालाई उपराष्ट्रपतिको रुपमा छानिएसँगै डेमोक्र्याकिट पार्टीले यो अमेरिकी राजनीतिका लागि सुखद हुने उल्लेख गर्दै उत्सव मनाएको छ । राष्ट्रपतिका प्रत्यासी वाइडेनले कमलालाई उपराष्ट्रपतिको उम्मेदवारको घोषणासँगै पार्टीका सम्पूर्ण कार्यकर्ता तथा सदस्यहरुले यो निर्णयमा सहमति जनाएकाले अमेरिकाका लागि सुखद संकेत भएको उल्लेख गरेका छन् । 

राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीले वर्तमान राष्ट्रपति डोनल्ड ड्रम्पलाई नै उम्मेदवार बनाएको छ । र, ट्रम्पले माइक पेन्सलाई उपराष्ट्रपतिको रुपमा अघि सारेका छन् । सन् २०१७ नोभेम्बरमै ट्रम्पले पेन्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा घोषणा गरेका हुन् । 

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट