कोरोना जितेका सांसद्को प्रश्न : ‘राज्य कहाँ, कुन दुलोमा छ ?-Sutra News

कोरोना जितेका सांसद्को प्रश्न : ‘राज्य कहाँ, कुन दुलोमा छ ?

बुधबार, २८ साउन २०७७

बुधबार, २८ साउन २०७७

काठमाडौं- पर्साका प्रतिनिधिसभाका सांसद प्रदीप यादवलाई १६ साउनमा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि भएलगत्तै उनले आफूलाई संक्रमण भएको सार्वजनिक गरे । र, ‘होम आइसोलेसन’ मा बसेको जानकारी दिए । मंगलबार (२७ साउन) बाट उनी कोरोनामुक्त भएका छन् ।



तिनै सांसद यादवले ‘कोभिड–१९’ र ‘होम आइसोलेसन’ को अनुभूति सूत्रन्यूजका समर्पण श्रीसँग साँटेका छन्।

साउन १६ गते । वीरगञ्जस्थित नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले साँझ ९:४५ मा फोन गर्नुभयो । ‘तपाईँको कोरोना पोजेटिभ देखियो । सँगै तपाईँको पिएसओ र ड्राइभरको पनि ‘पोजेटिभ’ देखियो ।

उहाँको कुराले मलाई नराम्रोसँग झस्कायो । मनमा अनेकथरि कुराको प्रवाह छुट्यो । डर पनि लाग्यो । रातभरि निद्रा लागेन । निकै असह्य भयो । त्यो रात छट्पटाहटमै बिताएँ ।

तर, मैले आफ्ना साथीहरुलाई पनि सजग गराउनुपर्दथ्यो । त्यसैले त्यसै राति फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी साथीहरुलाई गराएँ ।

बिहानदैखि साथीहरुको फोन आउन थाल्यो । धेरैले भन्नुभयो, ‘हिम्मत नहार्नु होला । हिम्मतले नै हो कोरोनालाई जित्ने ।’

विहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि फोन गर्नुभयो र हिम्मत बढाउन हौसला दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, उप–प्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पूर्व–प्रधानमन्त्री बाबुराम भट्टराई, प्रतिनिधिसभाका थुप्रै सांसद र प्रदेश सांसद, विभिन्न राजनीतिक दलका नेता, पत्रकार साथीहरु, विदेशबाट शुभचिन्तकहरु लगायत धेरै इष्टमित्रहरुले फोनमार्फत् सान्त्वना दिनुभयो ।  

सबैको हौसलाले मनमा भएको डर पातलिँदै गयो । ‘जे हुनु भइहाल्यो, अब जित्नुपर्छ’ भन्ने भावले समात्न थाल्यो ।

संक्रमण पुष्टि भएकै दिनदेखि म ‘होम आइसोलेसन’ मा बसें । विहान ५ बजेदेखि राति १० बजेसम्मको ‘सेड्युल’ बनाएँ । बिहान ६ बजे नै उठ्ने, ३ घण्टा जगिङ गर्ने, १५ मिनेट रामदेव बाबाको प्रणयमहरु गर्ने लगायतका सेड्युल बनाएँ । नियमितरुपमा पानीको बाफ पनि लिएँ । ‘इम्युनिटी पावर’ बढाउने किसिमका खानाहरु खान थालें ।

मैले कोरोनालाई एउटा युद्धजस्तो बनाएको थिएँ । जसरी हिम्मत गरेर लडें, त्यही आत्मबलको कारण कोरोनालाई परास्त गरें । सुरुकै दिनजस्तो बेचैनी भएको भए म अझै ठीक नहुन सक्दैनथेँ होला वा जे पनि हुनसक्थ्यो होला । तर, मैले कोरोनासँग निर्धक्क लडें र जितें

हरेक दिन मैले हिम्मत बढाइरहेँ । दिउसोको समय किताब पढ्थें, फिल्महरु पनि हेर्ने गर्थें । फोनमा साथीभाइसँग कुरा गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने, जनताका लागि गर्नुपर्ने भनसुनका काम ‘आइसोलेसन’ मै बसेर गरेँ ।

यी सबै दैनिकीका बीच एउटा कुरामा मैले मानसिक रुपमा आफूलाई अभ्यस्त गराइरहेँ । त्यो हो, ‘म मा कोरोना छैन’ भन्ने भावना । 

संक्रमण पुष्टि भएपछि मलाई केही लक्षण देखिएका थिए । डायरिया हुने, खोकी लाग्ने र ज्वरो आउने । मैले खोकीको ‘कफ सिरफ’ पनि खाएँ । सुरुका दिनमा ‘पारासिटामोल’ पनि लिएँ । त्यसपछि मैले २ दिन ‘एन्टिबायटिक’ खाएँ । तर, डायरिया भएपछि ‘एन्टिबायटिक’ खान छाडें । अरु औषधि पनि लिन बन्द गरें ।

हरेक डेढ घण्टामा मौसमी जुस र हरेक डेढ घण्टामा नरिवल पानी खाँदै गएँ । विहान चेवनप्रास पनि सुरु गर्न थालें । औषधिको रुपमा ‘कफ सिरफ’ मात्र प्रयोग गरें । मलाई कसैले हेरचाह गर्नुपरेन । जे गरेँ, डाक्टरको सल्लाहबमोजिम नै गरें ।

स्वास्थ्यलाभका लागि जब म ‘आइसोलेसन’ मा बसें, मलाई केही कुराहरुले निकै चिन्तित तुल्यायो । वीरगञ्जमा दिनहुँ २-३ जना मानिसको कोरोनाबाट मृत्यु हुन थालेको थियो । दिनहुँ सय-डेढ सयको रिपोर्ट पोजेटिभ आउने गरेको थियो । यसले मेरो मनलाई खिन्न पारिरहन्थ्यो।

तर, जनप्रतिनिधि भए पनि पनि मैले केही गर्न सकिरहेको थिइनँ । मलाई पीडा यसकारण हुन्थ्यो कि, ‘राज्य कहाँ छ, कुन दुलोमा पसेको छ ? संक्रमण भुसको आगो जसरी फैलिरहँदा पनि राज्यको उपस्थिति देखिएको थिएन ।

वीरगञ्जमा विज्ञहरु आए, हेरेर गए । तर, कुनै टोली पठाएनन् । उहान (चीन)मा हाम्रा विद्यार्थीहरु फस्दादेखि नै मैले यसबारे बोल्न थालेको थिएँ । संसदमा पनि मैले बारम्बार कुरा उठाएँ । तर, जब आफैंलाई संक्रमण भयो, त्यसको असर कति ठूलो हुन्छ भन्ने कुरा महसुस गर्न पाएँ । ‘हामीले केही गर्न सकिरहेका रहेनछौं’ भन्ने महसुस पनि भयो । मलाई जस्तो पीडा आम सर्वसाधारणलाई भयो होला ।

यो क्षण, घर परिवार सबै आफूभन्दा टाढा छन् । एक्लै बसेर कोरोनालाई परास्त गर्नुपर्ने चुनौति छ । त्यसमाथि दिनुहँ मरिरहेका जनतालाई बचाउन सकिएको छैन । यो सम्झेर धेरै दुःख महसुस गरें । 

म आइसोलेसनमा बसिरहँदा केही साथीहरुले भन्नुभयो, ‘प्रदीप यादवले स्वास्थ्य मापदण्ड पालना नगरेको र भिडमा गएर लापरबाही गर्‍यो ।’

मैले यी सबै कुरा नियालें । तर, हामी जनताको सेवा गर्न राजनीतिमा होमिएको मान्छे । जनता पीडामा भएको बेला ढुक्कसँग घरमा बस्न सकिन्न थियो । जनताको पीडामा म काम लाग्दिनँ भने म प्रतिनिधि के का लागि ? म सुरक्षित भएरै गएको थिएँ । मास्क लगाएरै गएको थिएँ । फिल्डमा जाँदा बाढी पीडित जनतालाई सहयोग गर्न पनि गएँ । नजाँदा ‘मेरो प्रतिनिधि आएन, मेरो कुरा सुनेन, घरमा पानी पस्यो हेर्न आएन’ भनेर जनताहरुको गुनासो आउँथ्यो । यसले मेरो बेचैनी बढाउँथ्यो । मैले उनीहरुलाई सहयोग गर्नै पर्दथ्यो । त्यसैले म जनताको माझमा गएँ । हामी नगएको भए को जान्थ्यो ? ‘फ्रन्टलाइन’ मा बसेर काम त गर्नैपर्दथ्यो ।

समुदाय स्तरमा फैलिसकेको कोरोना त्यसअघि नियन्त्रण गर्न सक्दो प्रयाय मैले गरेको पनि हुँ । तर, राज्यले बेवास्ता गरेपछि भगवान भरोसामा रहनुपर्ने अवस्था आयो । 

संक्रमण पुष्टि भएको ११ दिनपछि अर्थात् २७ साउनमा मेरो खुसी फर्कियो । २६ साउनमा परीक्षणका लागि मेरो स्वाव संकलन गरिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट आयो, ‘नेगेटिभ’ ।

यस्तो रिपोर्ट आएपछि म धेरै प्रफुल्ल भएँ । खुसीको सीमा रहेन ।

मैले कोरोनालाई एउटा युद्धजस्तो बनाएको थिएँ । जसरी हिम्मत गरेर लडें, त्यही आत्मबलको कारण कोरोनालाई परास्त गरें । सुरुकै दिनजस्तो बेचैनी भएको भए म अझै ठीक नहुन सक्दैनथेँ होला वा जे पनि हुनसक्थ्यो होला । तर, मैले कोरोनासँग निर्धक्क लडें र जितें ।

अहिले मलाई लागिरहेछ, आत्मबल भन्ने कुरा निकै ठूलो कुरा रहेछ ।

अझै केही दिन म आराम गर्छु । ७ दिनपछि फेरि जनताको सेवामा लाग्छु । कोरोनाविरुद्धको लडाइँमा जनतालाई साथ दिन्छु ।

संक्रमित साथीहरुलाई मेरो सुझाव छ, तपाईँहरु पनि नआतिनुस् । हाम्रो आत्मबल भन्दा ठूलो कुरो कोरोनालाई परास्त गर्न अरु केही छैन । हिम्मत नहार्नुस् ।

‘मलाई कोरोना भएकै छैन’ भन्ने सोच्नुस्, नियम र विधि पालना गर्नुस्, तपाईँहरुले पनि पक्कै कोरोनालाई जित्नुहुनेछ । तर आत्मबल कमजोर बनाउनु भयो भने कोरोनाले तपाईँलाई हराउँछ ।

फेरि पनि मेरो सुझाव छ, आत्मबल मजबुत पार्नुस्, कोरोना तपाईँसँग पराजित हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट