काठमाडौं–कांग्रेसका सभापति शेरबहादुर देउवाले २६ असारमा पार्टीका विभिन्न विभागलाई पूर्णता दिएको भोलिपल्टै कांग्रेसका झण्डै एक दर्जन ‘युवा नेता’ हरूले संयुक्त विज्ञप्ति जारी गरे। विभागले पूर्णता पाएको भोलिपल्ट जारी गरिएको विज्ञप्तिलाई धेरैले देउवाको एकलौटीको विरूद्धमा युवा नेताहरूले चालेको कदमको रूपमा बुझे ।
‘युवा नेता’ हरूको संयुक्त विज्ञप्ति विभागलाई पूर्णता दिने देउवाको कदमप्रतिको असन्तुष्टि त थियो नै। त्यसमा उनीहरूले पुरानो पुस्ताले कांग्रेसको ‘राजनीतिक रथ’ लाई सफलतापूर्वक अघि बढाउन नसक्ने दावी गर्दै पार्टीको आगामी नेतृत्व युवा पुस्ताले लिने हाँक पनि थियो ।
विज्ञप्तिमा उनीहरूले भनेका छन् ‘अहिले देखिएको सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफसहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं ।’
विज्ञप्ति जारी गर्ने नेताहरुमा डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामकृष्ण यादव र किरण यादव छन्।
पुरानो पुस्ताविरुद्ध कांग्रेसको नयाँ पुस्ता विस्तारै संगठित हुँदै जान थालेको छ भन्ने कुराको संकेत पनि हो यो। किनभने, संयुक्त विज्ञप्ति हस्ताक्षर गर्नेमा गत महाधिवेशनमा देउवालाई समर्थन गरेका चन्द्र भण्डारीमात्र होइन,कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा पनि छन्।
पुरानो पुस्ताले राजनीतिबाट अवकास लिएर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने संगठित आवाज युवा पुस्ताले उठाएपनि निर्णायक घडीमा उनीहरू यसैगरी संगठित भएर आवाज उठाउलान् ?
नयाँ पुस्ताका नेताहरूले पुरानो पुस्तालाई ससम्मान विदाइ गर्नुपर्ने र परिपक्व बनिसकेको दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग नेतृत्वसँग राख्दै आएका छन्। उनीहरुको आग्रह छ, ‘पुरानो कार्यशैलीबाट अब पार्टी चल्दैन, त्यसैले ७० वर्ष कटेका नेताहरूले राजनीतिबाट विश्राम लिएर अभिभावकको भूमिकामा रहनुपर्छ ।’
६ पुस ०७४ मा पनि कांग्रेसका युवा नेताहरूको एक बैठकले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिएको थियो। केन्द्रीय सदस्य चन्द्र भण्डारीको संयोजनमा भएको बैठकमा गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, महादेव गुरुङ, जीवन परियार, प्रदीप पौडेल, उमेशजंग रायमाझी, रामहरि खतिवडा, सुवास पोखरेल,उज्वल बराललगायत थिए।
युवा नेता भण्डारी पहिलो पुस्ताका नेतालाई ‘डेट एक्स्पायर’ औषधिका रूपमा चित्रण गर्छन्। ‘नेपालीको सरदर आयु ७० वर्ष हो,तर हाम्रा नेताको उमेर ७२/७४ पुगिसक्यो’ भण्डारी भन्छन्,‘आईसीयूमा पुगेको कांग्रेसलाई अब यी बूढा डाक्टरले शल्यक्रिया गर्न सक्दैनन्, समयअनुसार चल्न नसक्ने भएकाले अब उहाँहरुलाई सक्रिय राजनीतिबाट विदा गरी अविभावकीय भूमिकामा सीमित गर्नुपर्छ ।’
पुरानो मानसिकताबाट पार्टी चल्न नसक्ने बताउने युवा नेता रामहरि खतिवडा पुरानो पुस्तालाई सक्रिय राजनीतिबाट अवकास दिने हो भने गुटको राजनीतिबाट मुक्त हुनुपर्नेमा जोड दिन्छन्। ‘हामीले अब गुटको होइन,जुटको राजनीति लिएर हिंड्नुपर्छ’ उनी भन्छन्, ‘यसो गर्न सकियो भनेमात्र पार्टी जोगाउन सक्छौँ। नत्र कांग्रेस संकटमा पर्छ ।’
नेतृत्व लिन कस्सिएका ‘युवा नेता’ हरू भावनामा आएर नेतृत्वविरुद्ध एक हुनुभन्दा नेतृत्व लिननका लागि निर्णायक कदम चाल्नुपर्ने बताउँछन् केन्द्रीय सदस्य बद्री पाण्डे। ‘भावनामा आएर एक भएजस्तो गर्ने,तर आफूले उठाएका एजेण्डालाई निरन्तरता नदिने समस्या हामीमा देखिएको छ’ पाण्डे भन्छन्,‘वस्तुगत किसिमले छलफल अघि बढ्ने प्रवृत्ति विकास गर्नुपर्छ ।’
पार्टी नेतृत्व युवा वा पाका पुस्ताले गरेपनि कार्यशैलीमा भने परिवर्तन आउनुपर्ने पाण्डेको भनाइ छ। ‘पाको पुस्ताले कार्यशैली परिवर्तन गर्न सक्दैन। किनभने ऊ आदतले नै अभ्यस्त भइसकेको हुन्छ’ पाण्डे थप्छन्,‘नयाँ पुस्ताले कार्यशैली परिवर्तन गर्न सक्छ कि भन्ने आशा मात्रै हो।’
केन्द्रीय सदस्य जीवन परियारका भनाइमा, युवा चेत र समयानुकूल पार्टी चल्नुपर्ने अभियानको सुरुआत पार्टीभित्रको युवा पंक्तिले गरिसकेको छ। ‘पार्टीमा युवाको भूमिका सशक्त बनाउन केही विषयमा नेतृत्वले पुनर्विचार गर्नु जरुरी छ। यस विषयमा नेतृत्वलाई लिखित र मौखिक रूपमा सुझाव दिएका छौँ’ उनी भन्छन्, ‘हामी आफैँ नेतृत्व पंक्तिमा पुग्छौं भन्ने होइन। तर युवाचेत र समय अनुकूल पार्टी चल्नुपर्छ भन्ने अभियान सुरु गरेका हौं।’
पुरानो पुस्ताले राजनीतिबाट अवकास लिएर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने संगठित आवाज युवा पुस्ताले उठाएपनि निर्णायक घडीमा उनीहरू यसैगरी संगठित भएर आवाज उठाउलान्? यो प्रश्नको जवाफ खोज्न चाहिँ महाधिवेशनसम्म कुर्नै पर्छ । किनभने,अरूबेला जतिसुकै चर्को कुरा गरेपनि निर्णायक घडीमा युवा पुस्ताका नेताहरू गुटको फेरो समात्ने र पुरानो पुस्ताकै नेतालाई काँध थापेर हिँड्न अभ्यस्त भइसकेका छन् ।