अबको बैठकपछि पार्टी एक ढिक्का भएर जानेछ : भीम रावल (अन्तर्वार्ता)-Sutra News

अबको बैठकपछि पार्टी एक ढिक्का भएर जानेछ : भीम रावल (अन्तर्वार्ता)

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं- स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगनसँगै केही दिनअघिसम्म उत्कर्षमा पुगेको सत्तारुढ नेकपाभित्रको विवाद अहिले सुस्ताएजस्तै देखिएको छ । केही दिनअघिसम्म चर्को स्वरमा वादविवादमा उत्रिने नेताहरुले पार्टीभित्रको विवादमा अडान त छाडेका छैनन्, तर उनीहरुको स्वर यतिबेला पहिले भन्दा नरम देखिन्छ । यो स्थिति हेर्दा लाग्छ, विवाद समाधानका लागि नेताहरु सुलह र सम्झौताको खोजीमा लागिसकेका छन् ।



यो परिस्थितिमा पार्टीभित्रको विवाद र विकसित परिस्थितिबारे सूत्रन्युजले नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलसँग कुराकानी गरेको छ । प्रस्तुत छ- कुराकानीको सम्पादित रुप । 

स्थायी कमिटी बैठक (१० असार) सुरु भएको पनि दुई महिला पुग्न लागिसक्यो, तर कुनै निष्कर्ष निस्कन सकेको छैन । यस्तो ‘डेडलक’ बाट पार्टीलाई निकाल्न के गर्नुपर्ला ? 

स्थायी कमिटीको बैठक यसरी लम्बिनु उचित होइन । बैठकका लागि हामीले जे कार्यसूची तय गरेका थियौं, त्यही कार्यसूचि अन्तर्गत बैठक अगाडि बढाएर यसलाई सम्पन्न गर्नुपर्छ भन्ने हामीहरुको धारणा रहेको छ ।

दुई अध्यक्षबीच अप्रत्यक्षरुपमा कुराकानी भइरहेकै जस्तो मलाई लाग्छ । तर, कुरा गरेरमात्रै प्रयाप्त हुँदैन । कुराकानी त छँदैछ, हामीले निर्धारण गरेको कार्यसूचिअन्तर्गत अगाडि बढाएर पार्टीप्रतिको विश्वसनीयता, जनता र कार्यकर्ताको नेतृत्वप्रतिको विश्वासलाई जोगाएर जानुपर्छ ।

भिडियो हेर्नुस्:

१२ पटक बैठक स्थगित भइसकेको बैठकलाई निष्कर्षमा पुर्‍याउने विधि के होला त ? 

एकातिर कोराना विषाणुको यत्रो महामारी फैलिरहेको छ, जसले हाम्रो सामूहिक बल, बुद्धि र छलफलको माग गर्दछ । यस्तो स्थितिमा पार्टीभित्र उत्पन्न जुन समस्या छ, त्यो समाधनको सबैभन्दा उचित र विधिसम्मत प्रणाली नै बैठकमा छलफल गर्ने, छलफलबाट निष्कर्ष निकाल्ने र त्यो निष्कर्ष अनुरुप पार्टीलाई सञ्चालन गर्ने हो ।

यद्यपि, यसका लागि नेतृत्वको बीचमा गहन रुपमा कुराकानी हुनुपर्‍यो, वार्ता हुनुपर्‍यो । तर, त्यो वार्ताबाट अहिलेको समस्याको समाधान गर्ने, देश र जनताको चाहना अनुरुप पार्टी र सरकारलाई अगाडि बढाउने गरी अघि बढ्नुपर्छ । त्यसरी सोचियो भने समस्याको समाधान पहिल्याउन सक्छौँ । 

तपाईँले छलफल र वार्ताको कुरा गर्नुभयो । तर, नेताहरु त बैठकमै बस्न मानिरहनु भएको छैन । बैठकमै नबसेपछि कसरी निष्कर्ष निकाल्न सकिएला ?

बैठकहरु नै नगर्ने हो भने त दलीय व्यवस्था नै समाप्त हुन्छ । पार्टीको औचित्य समाप्त हुन्छ । पार्टीको औचित्य समाप्त हुनु भनेको पार्टी नेतृत्वको पनि औचित्य समाप्त हुनु हो । यस्तो अवस्थामा जनताको विश्वसनीयता पनि अन्त्य हुन्छ । हामीले बहुदलीय प्रणाली अपनाएका छौं, यो प्रणालीमा राजनीतिक दलको बैठक नहुने भन्ने कुरा त हुँदैन ।

पार्टीको माथिल्लो तहमा देखिएका अन्तरविरोध समाधानका लागि बैठक केही समय स्थगित भएको कुरालाई मानिसहरुले केही समयका लागि समस्या समाधान भएको रुपमा बुझ्न सक्छन् । तर, अनन्तकालसम्म हामी त्यसैगरी गयौं भने हाम्रो निर्णय क्षमतामाथि प्रश्न उठ्छ ।

साथै, देश जनताको भावना अनुकूल हामीले काम गर्ने जुन संकल्प गरेका छौं, त्यसलाई पूरा गर्न नचाहेको भन्ने अर्थ लाग्छ । त्यसैले, अब धेरै समय बिताएर आफैँले टेकोको धर्ती गुमाउने काम कसैले गर्नुहुने छैन भन्ने लाग्छ मलाई ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटीको बैठक टार्दै जानुमा तपाईँहरुको पेलाइले पनि भूमिका खेलेको छ कि ? 

होइन । पेल्ने कुरा पार्टीमा हुँदैन । पार्टी एउटा विधि र प्राणालीबाट चल्छ । हामी त्यहाँ राजनीतिक संस्कारयुक्तढंगले आफ्ना कुरा राख्छौं । ती कुराहरु तथ्यका आधारमा प्रस्तुत हुनुपर्छ । तथ्यको आधारमा कुरा राख्ने र पार्टी विधान, संगठन, सिद्धान्त, संविधान र हामीले निर्वाचनमा घोषणा गरेका विषयहरुमा छलफल गर्दा कोही पेलिने भन्ने कुरा हुन्छ र ?

कुनै निष्कर्षमा पुग्न नसकिएको अवस्थामा त्यसलाई टुंगो लगाउने विधि तपाईँको पार्टीको विधानले पनि गरेको होला । अब त्यही विधानअनुरुप जाने अवस्था हुन्छ कि हुँदैन ?

जतिसुकै मतभेद भए पनि, जतिसुकै समस्या उत्पन्न भए पनि अन्ततः पार्टीका स्थापित विधि, मान्यता र लोकतान्त्रिक व्यवस्थाअनुरुप अगाडि बढ्नैपर्छ । नेकपाजस्तो ७ मध्ये ६ प्रदेशमा बहुमतका साथ सरकार सञ्चालन गरिरहेको, केन्द्रमा बहुमतकासाथ सरकार सञ्चालन गरिरहेको राजनीतिक दलले त्यो प्रणालीलाई आत्मसात गरेन भने यो प्रणाली नै धरासायी हुन्छ । कोही पनि पार्टीको विधान, सिद्धान्त र यसका स्थापित मान्यताका विपरित जान मिल्छ भन्ने मलाई लाग्दैन ।

पार्टीभित्र केही मतभेद र अन्तरविरोध उत्पन्न भएको हुनाले त्यसको समाधान गर्न कसरी गर्ने भन्ने अहिलेको बहस हो । तर, अनन्तः कालसम्म, अनिर्णित किसिमले जान मिल्दैन । हामीले बैठकको आयोजना गर्नैपर्छ । त्यसलाई सूचारु रुपमा अगाडि बढाएर समस्याको समाधान गर्नैपर्छ । त्यसो गर्न हामी पार्टीको विधानबाट निर्देशित छौं । पार्टीको सिद्धान्तबाट निर्देशित छौं । जनताको मतबाट निर्देशित छौं । र, आम पार्टी कार्यकर्ताबाट हामी निर्देशित छौं ।

विष्णुजीले कुन सन्दर्भमा, किन त्यस्तो शब्द प्रयोग गर्नुभयो, म धेरै विवादमा जान चाहन्न। म यतिमात्रै भन्न चाहन्छु, प्रत्येक व्यक्तिले आफ्नो मर्यादा र दायित्वको हेक्का राख्नुपर्छ ।

अल्पमत-बहुमतको आधारमा अघि बढ्दा पार्टी फुट्न सक्छ भन्ने डर तपाईँहरुलाई लागिरहेको हो ?

कहिलेकाहीँ काम गर्दा पार्टीभित्र अन्तरविरोध उत्पन्न हुन सक्छन् । विवाद उत्पन्न हुनसक्छ । विवाद समाधान गर्ने उपाय पनि पार्टीको विधि र प्रणाली नै हो । हामीले त्यसलाई छोड्नु हुँदैन । नेतृत्वबीच बीच कुनै मदभेद छ भने त्यसलाई अनेकौं औपचारिक-अनौपचारिक छलफलबाट एउटा टुंगोमा पुर्‍याएर ती विषयलाई हामीले पार्टीको विधिबाट औपचारिकता दिनुपर्छ ।

अहिले बहसबाटै भाग्ने जस्तो कुरा भइरहेको छ । यो त कम्युनिष्ट पार्टीको सिद्धान्त अनुसारको आचरण पनि भएन नि ?

मार्क्सवाद भनेकै द्वन्द्वादमा आधारित छ । हुन त हाम्रो पूर्वीय शास्त्रीय परम्परामा ‘बादे बादे जायते तत्व बोध’ भन्ने सिद्धान्त उहिल्यै प्रतिपादन भएको हो । तर, हामीले  द्वन्दात्मक भौतिकवादलाई हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त मानेर अपनाएका छौं । यस्तो स्थितिमा कसैले पनि पार्टीमा हुने छलफल र बहसबाट भाग्ने भन्ने कुरा हुन सक्दैन । हाम्रा छलफलहरु तथ्यमा आधारित हुनुपर्छ । कसैलाई अपमानित गर्ने, कसैलाई अपशब्द प्रयोग गर्ने  हाम्रो पार्टीमा हुँदैन । हामी त्यस्तो राजनीतिक संस्कृति भएको राजनीनिक पार्टी होइनौं । यद्यपि यो स्थायी कमिटी बैठक अगाडि बढाउने क्रममा जस्ता घटनाक्रम, अभिव्यक्ति देखिए, आगामी दिनमा त्यसबाट बच्नुपर्छ ।

बैठकका लागि निर्धारित हाम्रा जुन कार्यसूची छन्, ती अत्यन्त महत्वपूर्ण छन्, त्यसमा प्रवेश गरेर हामीले तुरुन्तै निर्णयमा पुग्नुपर्छ । पार्टीप्रतिको जनताको विश्वास र भरोसालाई हामीले कदापी पनि डगमगाउन दिनु हुँदैन ।

पार्टीका बहसमा अपशब्द प्रयोग गर्नु हुँदैन भनेर तपाईँले भन्नुभयो । तर, हालसालै प्रधानमन्त्रीका मुख्य सल्लाहाकारले तपाईँकै पार्टीका प्रवक्तालाई ट्वीटरमा ‘मेन्सन’ गरेरै विभिन्न आरोपहरु लगाउनुभयो । व्यक्ति लक्षित यस्ता टिकाटिप्पणीलाई कसरी हेर्ने ?

बैठक हुँदा बैठकमा कुरा राख्ने हो । बैठक नहुँदा कुनै अत्यन्तै महत्वपूर्ण सार्वजनिक सरोकार, राष्ट्रिय हितसँग जोडिएको विषय वा देश, जनता र पार्टीलाई दीर्घकालीनरुपमा प्रभाव पार्ने कुनै कुराहरु छन् भने वस्तुगत र शिष्टतापूर्वक आफ्ना कुरा राख्न सकिन्छ ।

विष्णुजीले कुन सन्दर्भमा, किन त्यस्तो शब्द प्रयोग गर्नुभयो, म धेरै विवादमा जान चाहन्न। म यतिमात्रै भन्न चाहन्छु, प्रत्येक व्यक्तिले आफ्नो मर्यादा र दायित्वको हेक्का राख्नुपर्छ । र, तदनुकूल शब्द, वाक्य प्रयोग गर्नुपर्छ । त्यसरी नजाँदा पनि पार्टीमा कतिपय समयमा समस्या उत्पन्न भएका छन् ।

भारतसँग कालापानीको विवाद भइरहेकै बेला प्रधामन्त्रीले राम जन्मभूमिको कुरा अगाडि ल्याउनुभयो । जुन मुद्दा उठाउनुपर्ने हो, राम जन्मभूमिको विषय उठाएर त्यसलाई ‘डाइभर्ट’ गर्न खोजेजस्तो देखियो नि ? 

यी सबै कुरा मैले सञ्चार माध्यममा देखेँ, पढेँ । प्रारम्भमै मैले के भनेको थिएँ भने, प्रमुख चुनौती र गर्नैपर्ने काम नेपालको सुदूर पश्चिमको दार्चुला जिल्लामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौजलाई फिर्ता गर्ने हो । हाम्रो भूमिमा हाम्रो भोगचलन कायम गर्ने, हाम्रो सीमानामा डुबान हुनेगरी अन्तर्राष्ट्रिय कानुन विपरित र असल छिमेकीको नीतिविपरित बनाइएका भौतिक संरचनाहरुको सम्बन्धमा भारतसँग गम्भीर वार्ता गर्ने हो । तथ्यको आधारमा, ऐतिहासिक दस्तावेजका आधारमा, सबै अतिक्रमित भूमिबाट भारतीय अतिक्रमण हटाउने हो । यो हाम्रो राष्ट्रको सर्वाधिक प्राथमिकताको विषय हुनुपर्थ्यो । तर, यो विषयबाट ध्यान अन्यत्र मोड्नेगरी हामीले कुनै काम गर्नु उचित हुन्न भन्ने कुरा मैले सुरुदेखि भन्दै आएको छु । अहिले पनि हामीले त्यो गर्न हुन्न ।

सिंहदरबारमा रहेको एमसिएको कार्यालय अहिले पाँचतारे होटेलमा राखिएको छ । ‘अर्थतन्त्र कमजोर हुन लाग्यो, हामीसँग पैसा छैन’ भन्ने एकातिर । यस्तो अवस्थामा कसको इशारामा त्यो कार्यालय पाँचतारे होटेलमा राखियो ?

मैले भर्खरै सञ्चार माध्यमहरुमा नेपाल र भारतका विदेश सचिवहरुबीच वार्ता हुँदैछ भन्ने हेरेँ । यदि त्यस्तो हो भने त्यो वार्तामा हामीले हाम्रो अतिक्रमित भूमिबाट विदेशी फौज हटाउने र नेपाल–भारत सम्बन्धलाई युगानुकूल बनाउने, यसलाई समधुर बनाउने, समानता, सर्वभौतिकता, अन्तर्राष्ट्रिय कानुन बमोजिम बनाउने हो । ती स्थापित मान्यताअनुसार अगाडि बढाउनका लागि दुई देशका प्रबुद्ध व्यक्ति समूहको गठन भएर जुन प्रतिवेदन सर्वसम्मरुपबाट प्रस्तुत भएको छ, त्यसलाई भारत र भारतीय प्रधानमन्त्रीले ग्रहण गर्नुपर्छ । भारतीय प्रधानमन्त्रीले बुझ्न नसक्ने त्यस्तो अवस्था हो भने त्यसलाई संसोधन गरेर त्यो प्रतिवेदन नेपालको भारतस्थित दूतावासले त्यहाँको परराष्ट्र मन्त्रालयलाई बुझाउने र यहाँस्थित भारतीय दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई बुझाए पनि हुने व्यवस्था गरिनुपर्छ ।

असमान सन्धि, सम्झौता र नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुरालाई वार्तामा बसेका बेला होस् या अरु कुनै छलफलका बेला अडानका साथ उठाउनुपर्छ । यसका लागि अब पार्टीभित्रका अन्तरविरोधहरुलाई समाधान गरेर, हामी एकताबद्ध भएर जानुपर्छ । हाम्रो पार्टीभित्र मात्रै नभई अन्य पार्टी र समग्र राष्ट्रमा एकता बनाएर ती प्राथमिकताका विषयमा ध्यान दिएर भारतसँग वार्ता गर्नुपर्छ ।

जुन विषय (राम जन्मभूमि) ले हामीलाई त्यति धेरै बलियो बनाउँदैन, त्यसका पछाडि प्रधानमन्त्री निरन्तर लाग्नुको कारण के होला ? 

उहाँसँग यो विषयमा छलफल गर्न पाएको छैन । बैठक नरोकिएको भए यो विषयमा कुरा उठाइन्थ्यो र उहाँका तर्क सुन्न पाइन्थ्यो । त्यो सुन्ने अवसर प्राप्त भएको छैन । तर, मलाईचाहिँ के लाग्छ भने, गौतम बुद्धको जन्मभूमि लुम्बिनीका सम्बन्धमा गर्नुपर्ने थुप्रै कामहरु छन् । लुम्बिनी विकासमा जे जति कुराहरु अगाडि सारिएका थिए, ती केही पनि पूरा भएका छैनन् । त्यही ठाउँलाई हामीले एकदमै राम्रो बनाएपछि त्यही क्षेत्रबाट हाम्रो देशको पहिचान बन्छ ।

गौतम बुद्ध, जसले विश्वलाई शान्तिको सन्देश दिनुभएको छ, हामी यसैमा गौरवान्वित हुनुपर्छ । हामीसँग जे कुरा छ, त्यो कुरा पहिले पूरा गरौं । हामीले धर्मलाई अन्धविश्वास नमानेर हाम्रो सांस्कृतिक सम्पदा, हाम्रो चेतनाको कुनै युगको अभिव्यक्तिका रुपमा त्यसलाई ग्रहण गर्ने हो भने राम्रो गर्न सकिन्छ । जस्तोः हामीकहाँ चार धामहरु छन् । ती धामहरु महत्वपूर्ण छन् । यी धामहरुको भौतिक परिवेशलाई अझ विकसित गरेर, हामीसँग भएकै कुराहरुलाई अत्यधिक उपयोग गर्‍यौं भने पनि मलाई लाग्छ, नेपालको सांस्कृतिक सम्पदा विश्वमा अत्यन्त चर्चित हुन सक्दछ । त्यसकारण भएको कुरालाई पहिले हामी सुदृढ पार्नुपर्छ ।  

मैले पनि धेरै पटक रामायण पढेको छु । पौराणिक कथा कति किम्बदन्तीमा आधारित छन्, कति सत्यतामा आधारित छन् भन्ने कुराको अनुसन्धान हुन बाँकी छ । त्यसकारण यी कुरा कुनै बेला फुर्सदमा गरे पनि हुने भयो । यी विषयमा छलफल गर्नै हुँदैन म भन्दिनँ । तर, अहिले हाम्रो अतिक्रमति क्षेत्रबाट भारतीय फौज हटाउने कुरा सर्वाधिक महत्वमा पर्नुपर्छ । भारतसँग कुनै कुरा उठाउनुपर्‍यो भने सबैभन्दा पहिले त्यो कुरा उठानुपर्छ । हाम्रो तराई–मधेश क्षेत्रमा हाम्रा दाजुभाइहरु अहिले पनि डुबानमा परेर पीडित भइरहनुभएको छ, त्यहाँ हाम्रा दशगजाहरु मिचिएका छन् । अतिक्रमित भूमिहरु छन् । त्यो कुरालाई सबैभन्दा महत्वकासाथ उठाउनुपर्छ ।

एमसिसी सम्झौतामा भएका कतिपय प्रावधानहरु राष्ट्रहितमा छैनन् भनेर आवाज उठाउननेमध्ये तपाईँ पनि एक हुनुहुन्छ ।  यो विवाद कसरी टुंग्याउनु हुन्छ ? 

संविधानअनुसार हाम्रो स्वतन्त्र परराष्ट्र नीति र स्वाभिमानी नेपालीहरुको गौरवलाई कायम राख्ने कुरालाई सर्वाधिक महत्व दिनुपर्छ । नेपालको संविधानले हामीलाई त्यो गर्नका लागि निर्दिष्ट गरेको छ, मार्गदर्शन गरेको छ । त्यही मार्गदर्शनका आधारमा हामी अगाडि बढ्ने हो । पार्टीको कुरा गर्ने हो भने, नेकपाले आफ्नो जन्मकालदेखि नै राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको झण्डालाई बुलन्द गरेको छ । बाह्य हस्तक्षेपका सम्पूर्ण रुपहरुलाई अस्वीकार गर्न आफू तत्पर रहेको घोषणा गरेको छ ।

सात दशकपछि त्यो पार्टीलाई बहुमतको सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएको छ । यस्तो स्थितिमा सैनिक प्रकृतिको गठबन्धन, सम्झौतामा सहभागी हुने, हामीले त्यत्रो लगानी गर्दा पनि त्यसको बौद्धिक सम्पतिमा स्वामित्व नपाउने, त्यत्रो रकम लगानी गर्दा पनि मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) का नाममा त्यहाँ हाम्रो भनाइको अर्थ नहुने प्रावधान एमसीसीमा छ । भन्ने बेलामा ‘एमसीएको नेपालको सचिव प्रमुख हो नि’ भन्ने, तर पूर्णरुपमा अमेरिकाबाट निर्देशित हुनेजस्ता प्रावधान हाम्रो आत्मनिर्णयको अधिकारको हनन गर्छ । त्यो पहिले नै हामीले दिन्नौं भनेर निर्णय गरिसक्नुपर्थ्यो ।

मैले त स्थायी कमिटीको बैठकबाट ‘यस विषयमा छिटोभन्दा छिटो निर्णय गर्नुपर्छ । संसदमा यो कार्यसूचिमा रहेन, यसलाई हटाइदिनुहोस् भनेर निर्णय गर्नुपर्छ’ भनेर म पहिलेदेखि भन्दै आएको छु ।

कहिलेकाहीँ मान्छेहरु देश र जनताप्रति गैरजिम्मेवार हुँदा अनेकौं प्रकारका विभाजन नभएका होइनन् । तर, मलाई अहिले पनि के विश्वास छ भने, नेकपाका अत्याधिक ठूलो संख्याका नेताहरु, कार्यकर्ताहरु र सदस्यहरु विभाजनको विरुद्धमा छन् ।

नेकपाले निर्णय नगरेपनि एमसीसी अब बेवारिसे भयो, होइन ?

कहाँ बेवारिसे हुनु ? बरु नेपालमा फेरि एमसीसीका नाममा आपत्तिजनक गतिविधि हुन लागेका छन् । मैले कतिपय सञ्चारमाध्यमबाट सुनेँ, एमसीएअन्तर्गत थुप्रै पैसा खर्च गरिँदैछ । त्यसको विज्ञापन गरिँदैछ- विभिन्न एफएम रेडियोबाट, विभिन्न सञ्चारमाध्यमबाट । कसरी अधिकार पायो एमसीएले विज्ञापन गर्ने ? यो गैरजिम्मेवार हो । राष्ट्रप्रतिको बेइमानी, धोका र एकप्रकारको गद्दारी हो ।

किनभने जब एमसिसीअन्तर्गतको सम्झौता के गर्ने भन्ने कुरा संसदबाट निर्णय हुन बाँकी नै छ । अर्थमन्त्रीले गएको सेप्टेम्बरमा मनपरी सम्झौता गर्नुभयो । त्यो सम्झौता नेपालको हित विपरित, नेपालको स्वतन्त्रतामा आँच पुर्‍याउने किसिमले बनाइएको छ । पहिलेको सम्झौताभन्दा पनि खराब सम्झौता गरिएको छ । यस्तो काम वर्तमान अर्थमन्त्री युवराज खतिवडाले गर्नुभएको छ । मलाई उहाँको नाम लिन कुनै हिच्चकिचाहट छैन । यस विषयमा म तथ्य तथ्याङ्क राखेर बहस गर्न सक्छु । मैले त्यसका दफा दफाहरु सञ्चारमाध्यममा पनि भनेको छु ।

सिंहदरबारमा रहेको एमसिएको कार्यालय अहिले पाँचतारे होटेलमा राखिएको छ । ‘अर्थतन्त्र कमजोर हुन लाग्यो, हामीसँग पैसा छैन’ भन्ने एकातिर । यस्तो अवस्थामा कसको इशारामा त्यो कार्यालय पाँचतारे होटेलमा राखियो ? त्यतिले नपुगेर अहिले एमसिसीको गुनगानमा एमसीएअन्तर्गत नेपालको पैसा विज्ञापनमा दोहोन गरिँदैछ । यो नेपाली जनताप्रतिको अनुत्तरदायी क्रियकलाप हो । यो बन्द हुनुपर्छ ।

यसलाई अब लामो तन्काएर लैजानुपर्ने अवस्था छैन । छिटोभन्दा छिटो पार्टीले यस विषयमा छलफल गर्नुपर्छ । हामीले कार्यदलको प्रतिवेदन दिइसकेका छौं । त्यसको आधारमा नेपालको हित विपरित, नेपालको आत्मनिर्णयको अधिकार विपरित, नेपालको स्वाधिनता, नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरितका नीति, प्रावधानहरु संसोधन हुन्छ भने हामी अमेरिका, जापान, चीन, युरोपियन युनियन, भारत जोसँग पनि पारस्पारिक सम्मानको आधारमा सहयोग लिने तयारै छौँ । तर, संसोधन हुँदैन भने त्यसलाई मान्न सकिँदैन भनेर नेपाल सरकारले अविलम्ब घोषणा गर्नुपर्छ, नेकपाले त्यसमा निर्णय गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । यो धारणा नेपालका सम्पूर्ण देशभक्त नेपालीहरुको आवाज हो भन्ने कुरामा कुनै शंका मलाई छैन ।

अन्त्यमा, जारी विवादबाट पार पाएर नेकपा एकढिक्का भएको देख्नसक्ने अवस्था आउला कि नआउला ?

कहिलेकाहीँ मान्छेहरु देश र जनताप्रति गैरजिम्मेवार हुँदा अनेकौं प्रकारका विभाजन नभएका होइनन् । तर, मलाई अहिले पनि के विश्वास छ भने, नेकपाका अत्याधिक ठूलो संख्याका नेताहरु, कार्यकर्ताहरु र सदस्यहरु विभाजनको विरुद्धमा छन् । नेपाली जनता पनि विभाजनको विरुद्धमा छन् । हाम्रो अहिलेको परिवेशले विभाजनलाई अपराध मान्छ । जनता र देशप्रतिको धोका हो भन्छ ।

यस्तो परिवेशमा पार्टी फुट्दैन भन्ने मलाई लाग्छ । पार्टी फुटाउने दुस्साहस र अपराधको कर्मतिर कोही जाँदैन भन्ने मलाई लाग्छ । अबको बैठकबाट समस्याको समाधान खोज्ने, एक ढिक्का भएर जानेमा हामी निर्देशित हुनेछौँ भन्नेमा म आशावादी छु ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट