काठमाडौं- बुधबारसम्म नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या करिब २५ हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या ९५ पुगिसकेको छ।
लकडाउनयता उपत्यकालगायत विभिन्न जिल्लामा संक्रमण निकै बढेको पाइन्छ। बढिरहेको कोभिड–१९ संक्रमणको ‘ग्राफ’ले आम सर्वसाधरणमात्रै होइन, ‘हाइ प्रोफाइल’ व्यक्तित्वहरु पनि प्रताडित छन्। राजनीतिक दलका नेता तथा उच्च पदस्थ व्यक्तिहरु पनि यसको संक्रमणबाट जोगिन सकेका छैनन्।
हामीले बाहिर सार्वजनिक भएका केही कोराना संक्रमित ‘हाइ प्रोफाइल’ नामको यहाँ सूची यहाँ तयार पारेका छौः
अख्तियार प्रमुख नवीन घिमिरे: अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई मंगलबार कोरोना पोजेटिभ देखियो। सरकारी कर्मचारीमध्ये संक्रमण देखिनेमा उनी पहिलो अधिकारी हुन्। उनी हाल होम आइसोलेसनमा आराम गरिरहेका छन्।
प्रतिनिधिसभा सांसद प्रदीप यादव: पर्साका प्रतिनिधिसभाका सांसद प्रदीप यादवलाई साउन १६ गते कोरोना संक्रमण पुष्टि भयो। संक्रमण पुष्टिलगत्तै उनले आफूलाई संक्रमण भएको र होम आइसोलेसनमा बसेको जानकारी दिएका थिए । मंगलबारबाट उनी कोरोनामुक्त भएका छन्।
नेकपा नेता रहबर अन्सारी: नेकपा नेता रहबर अन्सारीलाई पनि कोरोना संक्रमण पुष्टि भयो। उनले १६ गते परीक्षणका लागि स्वाव दिएका थिए। अहिले उनी होम आइसोलेसनमा आराम गरिरहेका छन्। केही दिनअघि अन्सारीले आफूलाई निको हुँदै गइरहेको जानकारी दिएका थिए। अन्सारी स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) केन्द्रबाट प्रतिस्पर्धा गरेका थिए।
प्रदेश ५ सांसद कृष्णा केसी: प्रदेश ५ की सांसद कृष्णा केसीलाई पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भयो। केसीले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी थिइन्। उनले लेखेकी थिइन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्छु।’
प्रदेश २ का कानुनमन्त्री ज्ञानेन्द्र यादव: प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई पनि गते साउन १९ गते कोरोना संक्रमण पुष्टि भयो। १८ गते स्वाव परीक्षण गराएका यादवको रिपोर्ट पोजेटिभ आएपछि बालुवाटर पनि सशंकित भएको थियो। कारण, संक्रमण हुनुअघि यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रहरी समायोजनसम्बन्धी बालुवाटारमा सञ्चालित बैठकमा सहभागी भएका थिए। उनी हाल होम आइसोलेसनमा छन्।
यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेपछि प्रदेश २ फर्किएका हुन्। मन्त्री यादवले कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कोरोनाको कुनै लक्षण नरहेको स्पष्ट पारेका छन्। ‘हिजो मेरो रिपोर्ट पनि पोजेटिभ आएको छ। तर, यससँग डराउनुपर्ने आवश्यकता छैन। सर्तकता अपनाई यससँग अहिले लड्नु पर्ने आवश्यकता छ,’ उनले भनेका छन्।
होम आइसोलेसनमा बसेका मन्त्री यादवले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन सबैसँग अपिल गरेका छन्।
प्रदेश १ सांसद कुसुम श्रेष्ठ: प्रदेश १ सांसद कुसुम श्रेष्ठ दम्पत्ति पनि बुधबार कोरोना संक्रमित भए। सांसद कुसुम र उनका पति नयन श्रेष्ठ आवश्यक कामका लागि काठमाडौं पुगेर इटहरी फर्किएका थिए। परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको श्रेष्ठले बताएकी थिइन्। श्रेष्ठ दम्पती हालः होम आइसोलेसनमा बसिरहेका छन्।
पूर्वमन्त्री जीवन बहादुर शाहीः कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई असार २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सुर्खेतबाट हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परीक्षण गरेपछि उनको रिपोर्ट पोजेटिभ देखिएको थियो।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काको प्रत्यक्ष निगरानीमा आफ्नै निवासमा आइसोलेशनमा बसेका थिए। उनी हालः कोरोनामुक्त भइसकेका छन्।
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेः संघीय संसद सचिवालयका सहसचिव एवं संघीय संसद सचिवालयका डा. रोजनाथ पाण्डेलाई साउन २२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए। ज्वरो आउने, टाउको दुख्ने र पखाला लाग्ने भएर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी हालः कोरोनामुक्त भइसकेका छन्।
विरगञ्जका मेयर विजय सरावगीः विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि जुलाई ३० मा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। पछिल्लो समय विरगञ्जमा समुदायस्तरमै कोरोना फैलिसकेकाले आफूले पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको मेयर स्वंयले बताएका थिए। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै मेयर सरावगीले आफू नागरिकको उद्धार र व्यवस्थापनमा लाग्दै गर्दा कोरोनाबाट संक्रमित भएको बताएका थिए।
‘तपाईँहरुको सेवामा अनवरतरुपमा लाग्दा–लाग्दै म स्वंय कोरोना संक्रमणको चपेटामा परेको छु,’ उनले संक्रमण पुष्टि भएपछि लेखेका थिए। हालः उनी होम आइसोलेसनमा आराम गरेर बसिरहेका छन्।