काठमाडौं-कोरोना भाइरसका कारण मुलुकको हरेक क्षेत्र नराम्रोसँग प्रभावित भएको छ। अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। प्रत्यक्षरुपमा प्रभाव पार्ने भनिएका विकास आयोजनाहरू पनि लकडाउनको समयमा ठप्प भए। उद्योग, कलकारखाना, व्यवसाय, होटल एवं प्रतिष्ठान पनि लामो समय बन्द भए।
सरकारले साउन ६ गतेबाट लकडाउन त खोल्यो तर कोरोना भाइरसको जोखिम भने झन्झन् बढिरहेको छ। अहिले पनि कोरोना संक्रमित र यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ।
यस्तो अवस्थामा कुनै पनि व्यापार–व्यवसाय राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन्। पसल खुलेपनि व्यापारमा ठूलो प्रभाव परेको एउटा क्षेत्रमध्ये निर्माण व्यवसाय पनि परेको छ। लकडाउन खुलेपनि ग्राहक नआउँदा पसलमा झिँगा धपाएर बस्नुपर्ने अवस्था रहेको बताउँछन्, निर्माण व्यवसायीहरु।
‘लकडाउन त खुल्यो तर कोरोनाका कारण ८० प्रतिशत व्यापार घटेको छ,’ निमार्ण व्यवसायी महासंघका अध्यक्ष रविकुमार सिंह बताउँछन्। त्यसो त वर्षाको समयमा पनि त्यसै पनि निर्माण कार्यहरु कम हुन्छन्। यो मौसमलाई निर्माण व्यवसायीहरु ‘अफ सिजन’ मान्छन्।
‘तैपनि अरु वर्षको यही समयको तुलनामा पनि यो वर्ष निमार्ण कार्य लगभग ८० प्रतिशतले घटेको छ,’ अध्यक्ष सिंहले भने, ‘चैत-वैशाखमा निमार्ण सामाग्री धेरै बिक्री हुने र निमार्णको काम पनि धेरै हुने समय हो। तर, लकडाउनका कारण त्यो समय पनि बजारमा सामानहरु जान सकेन। निमार्णको कार्यहरु पूरै ठप्प भए। यसले हामीलाई ठूलो नोक्सान पुर्याएको छ।’
खुद्रा तथा होलसेल पसलका व्यापारीहरुका अनुसार अहिले व्यवसाय ४० देखि ६० प्रतिशतसम्म घटेको छ। त्यस्तै लकडाउनको कारण मजदुरहरु उपत्यका छाडेर गाउँतिर गए, जसले गर्दा लकडाउन खुल्नेवित्तिकै काठमाडौं आउने बातावरण पनि कम बन्यो। त्यसपछि कामदार अभावको कारण पनि धेरैजसो निर्माणको काम सुरु हुन सकेको छैन। जसको प्रत्यक्ष असर निमार्ण व्यवसायमा परेको अध्यक्ष सिंह बताउँछन्।
ललितपुर, बालकुमारीस्थित सनसाइन टायल्स एण्ड मार्बल सप्लायर्सका सञ्चालक विमलकुमार गुप्ताले लकडाउन खुले पनि व्यापार व्यवसाय खासै नभएको बताए। ‘उद्योग खुलेर के गर्नु, गाह्रक आउँदैनन्, फाट्टफुट्ट व्यापारमै चित्त बुझाउनुपरेको छ,’ उनी दुःख पोख्दै भन्छन्, ‘कामचलाउ रुपमा कामहरु त भइरहेका छन्। तर, काठमाडौं उपत्यकाको मजदुरहरु गाउँ गएका कारण निमार्णका काम पनि सामान्य समयमा जस्तो हुन सकिरहेको छैन। त्यसकारण पनि बिक्रीमा कमि आएको छ।’
गुप्ताका अनुसार पहिले सामान्य अवस्थामा कामका लागि दिनको चार-पाँच वटा गाडीहरु बजारमा चलिरहेको हुन्थ्यो भने अहिले मुस्किलले एउटा चल्छ, त्यो पनि कहिलेकाहीँ।
यस्तै ललितपुर ग्वार्कोको नमस्ते अवाले सप्लायर्सका सञ्चालकले पनि कोरोनाको कारण व्यापार-व्यवसाय अघिल्लो वर्षजस्तो नरहेको बताए। सप्लायर्सका समानहरु पनि लकडाउनपछि धेरै घटेको उनको भनाइ छ। उनको सप्लायर्सबाट इटा, डन्डी, बालुवा, गिटी आदी सामाग्रीको बिक्री तथा वितरण हुने गर्छ।
उपत्यकाभित्र निमार्ण सामाग्रीको सबैभन्दा धेरै बिक्री–वितरण हुने ठाउँ रिङरोड क्षेत्र हो। बालाजु, चावहिल, कोटेश्वर र बालकुमारीलगायत क्षेत्रका पसलहरुमा पुग्दा यतिखेर सबै ठाउँको निमार्ण व्यवसाय घटेको पाइयो।
त्यसैगरी कोरोना प्रभावका कारण विद्युतीय निमार्ण सामग्रीको व्यापार पनि यतिखेर घटेको बताउँछन्, व्यापारीहरु। काटेश्वरका विद्युतीय पसलतिर पुग्दा अधिकांश व्यापारीले व्यापार घटेको बताए तर मिडियासँग नाम खुलाएर बोल्न रुचाएनन्।
त्यस्तै घर तथा भवनहरु निमार्णका लागि प्रयोग गरिने काठको व्यापार पनि यतिखेर ठप्प छ। काटेश्वर, भाटभटेनी नजिकै रहेको एक फर्निचर उद्योगका सञ्चालकले काठको व्यापारले ५० प्रतिशत घटेको बताए। व्यक्तिगत घरका लागि झ्याल ढोका बनाउन ग्राहकहरु आइरहेपनि ठूल्ठूला भवनहरु निर्माणको कामचाहिँ निकै कम भइरहेको उनीहरु बताउँछन्।
चावहिल, गोपीकृष्ण नजिकै रहेको राजेश हार्डवेयर सप्लायर्सको व्यापार पनि ८० प्रतिशतले घटेको त्यहाँका सञ्चालक रोशन शर्माले बताए। यस्तै स्मार्ट निमार्ण सामाग्री सप्लार्यसका सञ्चालक कृष्ण अवस्तीले पनि व्यापार पहिलेको तुलनामा १० प्रतिशतले कमि भएको बताए।
यता चावहिल चोकका श्री सिद्धि सप्लार्यसका सञ्चालकले पनि लकडाउन पछि खुलेको व्यापारले जसोतसो सर्टर भाडामात्रै तिर्न पुगिरहेको बताए।