थापागाउँमा प्रचण्डको ‘ब्रिफिङ’- ओली पहिलेभन्दा गलेका छन्-Sutra News

थापागाउँमा प्रचण्डको ‘ब्रिफिङ’- ओली पहिलेभन्दा गलेका छन्

बिहिबार, २९ साउन २०७७

बिहिबार, २९ साउन २०७७

काठमाडौं- बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग साढे तीन घण्टा छलफल गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सिधै थापागाउँ पुगे।



नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसहित प्रचण्ड प्रदेश नम्बर ५ का केन्द्रीय सदस्यहरुलाई ‘ब्रिफिङ’ गर्न थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा पुगेका थिए।

प्रचण्ड-नेपालले बुधबार गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरुलाई ‘ब्रिफिङ’ गरेका थिए। आजको ब्रिफिङमा प्रचण्ड-नेपाल समूहका २२ जना केन्द्रीय सदस्यको उपस्थिति थियो।

सुरुमा करिब ४५ मिनेट बोलेका प्रचण्डले ओलीसँग आज भएको बैठकबारे जानकारी दिएका थिए।

छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओली पहिलेभन्दा केही गलेको आफूलाई लागेको जानकारी प्रचण्डले गराएका थिए।

‘सकरात्मक कुराचाहिँ अहिले उनीहरु अलि गलेको अवस्थामा छन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने ।

सबाल जवाफका क्रममा दुवै नेताले पार्टी विभाजन नहुने तर विधिका लागि लडेकाले त्यसलाई स्थापित नगरी नछाड्ने कुरा राखेका थिए। जवाफमा प्रचण्डले भने- ‘हामीहरुले तपाईँहरुको मनोविज्ञान बुझ्यौं, अब त्यही अनुसारको कदम चाल्छौं।’

ओलीको तर्फबाट आजको बैठकमा महासचिव विष्णु पौडेले आफूसमक्ष तीन प्रस्ताव राखेको जानकारी प्रचण्डले गराएका थिए।

‘विष्णु पौडेलले आफ्नो कम्प्युटरमा तीन बुँदे प्रस्ताव टाइप गरेका रहेछन्,’ ती केन्द्रीय सदस्यले भने। पौडेलले राखेको पहिलो प्रस्ताव थियो- अहिलेसम्म जे भयो त्यो कमिकमजोरी थियो। त्यसको आत्मआलोचना गर्ने।

दोस्रो प्रस्ताव पार्टी एकतालाई सुदृढ बनाउनेबारे थियो। तेस्रो प्रस्तावचाहिँ बाँकी समय केपी ओली नै पूरै समय प्रधानमन्त्री हुने र कार्यकारी अध्यक्ष प्रचण्ड हुने थियो।

ओलीका तर्फबाटल विष्णु पौडेलले राखेको प्रस्तावमा प्रचण्डले धेरै प्रतिक्रिया भने जनाएनन्। प्रचण्डले ‘छलफल गरेर जवाफ दिन्छु’मात्रै भनेका थिए।

मिडियामा आएजस्तो सहमति नजिक पुग्नेगरी भने कुनै सहमति नभएको प्रचण्डले केन्द्रीय सदस्यहरुलाई बताएका थिए।

ब्रिफिङका क्रममा प्रचण्ड र नेता नेपालले ओलीले अहिलेसम्म छक्काउँदै, भ्रममा पार्दै यहाँसम्म आएको र अझै पनि त्यही गर्न खोजेको जानकारी गराएका थिए। नेता नेपाल भने करिब २० मिनेटमात्रै बोलेका थिए।

‘ओली प्रवृत्तिकै विषयमा कुरा भयो,’ छलफलमा सहभागी अर्का एक केन्द्रीय सदस्यले सूत्रन्युजसँग भने, ‘छक्काउँदै, भ्रममा पार्दै यहाँसम्म आइपुगेको, अहिले त्यही गर्न खोजेको र पार्टीको विधि केही पनि नमानेको कुरा राख्नुभयो। अब हामी कुनै पनि हालतमा उहाँ (ओली)लाई एउटा विधि, संस्कारभित्र ल्याउँछौं भनेर नेता कमरेडले बताउनुभयो।’

केन्द्रीय सदस्यहरुले पनि प्रचण्ड र नेता नेपालसँग प्रश्न गरेका थिए। केन्द्रीय सदस्यहरुको जोड ओलीलाई ‘एक स्टेप डाउन’ नगरिकन मिल्नु नमिल्नुको कुनै अर्थ नरहेको भन्नेमा थियो।

सबाल जवाफका क्रममा दुवै नेताले पार्टी विभाजन नहुने तर विधिका लागि लडेकाले त्यसलाई स्थापित नगरी नछाड्ने कुरा राखेका थिए।

केन्द्रीय सदस्यहरुको कुरा सुनेपछि अन्त्यमा प्रचण्डले भनेका थिए- ‘हामीहरुले तपाईँहरुको मनोविज्ञान बुझ्यौं, अब त्यही अनुसारको कदम चाल्छौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट