काठमाडौं–देशका विभिन्न ठाउँमा गएको पहिरोबाट भएको जन र धनको क्षतिप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।
‘अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२,लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको छ,’ शुक्रबार प्रचण्डको निजी सचिवालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उक्त पहिरोमा परी सात जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ।’
उक्त घटनामा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई प्रचण्डले आव्हान गरेका छन्। त्यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा बिहीबार राती आएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने मकवानपुरमा पनि एक जनाको मृत्यु भएको छ।
‘सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनुभएकाहरूमा पार्टीको तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ विज्ञप्तिमा भनिएको छ। बर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन उनले अपिल गरेका छन्।