काठमाडौं–बिहीबार दिउँसोको दुई बजे । काठमाडौंस्थित इन्द्रचोकमा अरु दिनको तुलनामा सर्वसाधारणको चहलपहल निकै कम थियो । नजिकै पार्टीपौवामा थिए, केही भरिया । हातमा नाम्लो लिएर बसिरहेका अनुहार देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो, उनीहरु भारी कुरिरहेका छन् ।तर, परपरसम्म कुनै भारी बोकाउन चाहने मानिस देखिरहेका थिएनन्, भेटिरहेका थिएनन् । नभेटिँदाको निराशा अनुहारमा प्रष्टै झल्किरहेको थियो । ग्राहक पखाईमा छटपटाइरहेका उनीहरु पौवामुनि पेटीमा कहिले दायाँ त कहिले बायाँ पल्टिरहेका देखिन्थे ।
करिब ४५ मिनेटदेखि दृश्य नियाँलिरहेका हामी त्यसपछि उनीहरुको छेउमा पुग्यौँ । हाम्रो हातमा क्यामेरा देख्नासाथ उनीहरु अत्तालिए । एकजना रिसले कड्किदै बोले, ‘यिनीहरुले हाम्रो कुरा सुन्छ, टिभीमा लगेर फाल्छ, हाम्रै आँसु बेचेर आफ्नो पेट भर्छ, यिनीहरुलाई आफ्नो दुःख सुनाएर काम छैन, साथी हो ।
उनी थिए, आफूलाई दोलखा घर बताउने रुपलाल उप्रेती ।
करिब १० मिनेट उनी यसरी नै कड्केर बोलिरहे । सरकारदेखि मिडियासम्म कसैलाई बाँकी राखेनन्, एकोहोरो गाली गरिरहे । लाग्थ्यो, उनको त्यो आक्रोश पछिल्लो समय सरकार र मिडियाप्रति आम नागरिकको असन्तुष्टि हो ।
त्यसैले हामी मौन थियौँ । केहीबेरको आक्रोशपछि हाम्रो मौनतासँग उनी संवाद गर्न तयार भए । सुरुमै सुनाए, ‘अघिल्लो साँझ नुन र च्युराको भरमा रात काटियो । आज कतैबाट काम होला र खाना खाउँला भन्ने सोचेको थिएँ । तर, अहिलेसम्म बोनी भएको छैन । गोजीमा सुक्खो पैसा छैन । अब के गर्ने, कहाँ जाने, कसरी खाने ?’
महामारीका बेला सरकारले उनी बस्ने क्षेत्रको एक स्कुलमा राहत बाढेको रहेछ । केही दिनको छाक टर्ने आशसहित उनी पनि राहत लिन गएका रहेछन् । राहत दिनेले नागरिकता खोजेछ । उनले देखाएछन् । तर, फर्कँदा उनले राहत हैन, निराश बनाउने जवाफमात्रै पाए, ‘भरियाले राहत पाउँदैनन् ।’
‘नागरिता त मसँग पनि छ, के भरियाले राहत लिन पाइँदैन भनेर कहीँ लेखेको छ र ? हामी मान्छे होइनौ र ?,’ राहत नपाउँदाको आक्रोश उनमा अझै मरेको थिएन । त्यसैले बसिरहेको ठाउँबाट जुरुक्क उठेर उनी कोटभित्रबाट च्यातिन लागेको नागरिकता देखाउँदै भनिरहेका थिए, ‘यसको त कामै रहेनछ ।’
नागरिकता पसिनाले पूरै भिजेको थियो । देख्दा लाग्थ्यो– भरियाको त शरीरमात्रै होइन, सबथोक भिज्ने नै रहेछ । सायद यतिखेर उनको दुःख पनि भिजेर गलिसकेको थियो ।
०४६ सालमा जब उनी पहिलोपल्ट काठमाडौंमा पाइला टेक्दै थिए, त्यतिबेला धेरैले उनलाई ठट्टा गर्दै भनेका थिए रे, ‘अब यहाँ आएर के गर्छौ, त्यही भारी त बोक्ने होला ?’
तर, सधैँ ठट्टा ठट्टामात्रै कहाँ हुन्छ र ? नियतिले त रुपलाललाई यही नै यथार्थ बनाइदियो । काठमाडौं आउनासाथ सुरुमा उनले ज्यामी काम गरे । तर, यसको कमाइले राम्रोसँग खान पनि पुगेन । साथीहरुले सल्लाह दिए, भारी बोक्दा राम्रै पैसा आउँछ ।
होला नि त भन्ने लाग्यो उनलाई । पैसा कमाउने आशैआशमा भारी बोक्न थालेको पनि ३० वर्ष पुगिसकेछ । तर भन्छन्, ‘गोजीमा सुक्खो छैन । घरबेटीको पैसा तिर्न नसकेर दुई दिनदेखि डेरा गएको छैन । कोठा जाऊँ घरबेटीले भाडा माग्छन् । भाडा तिर्नलाई पैसा चाहिन्छ । यो भरियालाई भारी दिने मान्छे नभएपछि कहाँबाट ल्याउने पैसा ?’
लकडाउनअघि दिनहुँ उनको कमाई ५–६ सय हुन्थ्यो । तर, अहिले ५० रुपैयाँ हुन पनि गाह्रो भइरहेको छ । कमाइ नहुँदा उनी कोठा पनि दिनहुँ जाँदैनन्, दिन बिराएर कहिलेकाँहीमात्रै जान थालेका छन् ।
‘अरुबेला पेटीमै सुतिदिन्छु,’ रसाइरहेका आँखासहित उनी भनिरहेका थिए, ‘घरबेटीले देख्यो कि पैसा मागिहाल्छ, मेरो घर तेरो धर्मशाला होइने भन्दै नानाथरी भन्छ, अचेल त मलाई घरबेटीको बोली पनि बन्दुकको गोली जस्तो लाग्छ । यो भन्दा दुख अरु के सुनाउ, सर ?’
नेपालमा लकडाउन भएपछि धेरै पैदल नै हिँडेर आ–आफ्नो गाउँ गए । रुपलाललाई पनि जाऊँ–जाऊँ नलागेको होइन । तर, ०५४/०५५ सालतिर तामाकोशी नदीमा आएको बाढीले उनको घरखेत नै बगाएको रहेछ । भन्दै थिए, ‘त्यसैले गाउँ जाने बाटो पनि भएन । श्रीमती र छोरासहित बस्दै आएका रुपबहादुरलाई घर चलाउने समस्या त छँदैछ, सँगसँगै प्रहरीले दिने दुःख पनि कम छैन । ‘भारी बोक्नको लागि बजार–बजार धाउँदा प्रहरीको खुब गाली सुन्नु पर्छ, एक दुईपल्ट त यतातिर भाटा पनि भेटिएको छ,’ हातले पाखुरातिर संकेत गर्दै उनी भन्दै थिए, ‘यो भरियालाई भारीले मात्रै थिचे त हुन्थ्यो नि, समस्याका पहाडले पनि थिच्छ र पो मन दुख्छ ।’
रुपबहादुर हरेक दिन काठमाडौं, इन्द्रचोक वरपर भारी कुरिरहेका हुन्छन् । ०६२ सालको जनआन्दोलन, ०७२ सालको भूकम्पताका पनि उनले यो हदको संकट सामना गर्नु परेको थिएन । ‘त्यतिबेला पनि हल्काफुल्का त काम त पाइन्थ्यो हौ, अहिले पो खडेरी लाग्यो,’ उनले पीडा पोखे ।
त्यसपछि रुपलालले हामीलाई इन्द्रचोकमा रहेको उनको डेरा देखाउन लगे । बाहिरबाट हेर्दा राम्रै देखिए पनि भित्र भूकम्पले चर्काएको प्रष्टै देखिन्थ्यो । कोठा अँध्यारो थियो । ‘हाम्रो कोठा त यस्तै छ है, हजुर,’ भित्र छिरेपछि उनी ग्यास चुल्हो देखाउँदै भन्दै थिए, ‘एउटा रित्तो छ, अर्को सक्किन लागेको छ । यो सक्किएपछि कोठामा चुल्हो कसरी बाल्ने, थाहा छैन ।’
कोठामा उनकी श्रीमती र छोरी दुवै थिएनन् । हामीले कता छिन् भनेर सोध्दा जवाफमा उनले भने, ‘बाटोतिर चुरोट बेच्दै हिँड्छिन् । सायद अहिले चुरोट किन्न गएकी होलिन् । उसको पनि व्यापार अहिले सुक्खा छ ।’
सारा देश कोरोनाले त्रस्त रहेका बेला रुपलाललाई पनि कोरोनाको डर नलाग्ने होइन । ‘तर, रोगभन्दा भोकबाट मर्ने अवस्था भएपछि कोरोनाको चिन्ता पनि नहुने रहेछ,’ उनी भन्दै थिए ।
यो तीन दशकमा रुपलालले काठमाडौंका धेरै परिवर्तन देखेका छन् । असन र इन्द्रचोकमा आएको बदलाव देखेका छन् । यो शहरमा भएका धेरै थुप्रै परिवर्तनको साक्षी छन्, उनी । तर, आजसम्म उनले आफ्नो लागि सरकारलाई देखेका छैनन् । नदेखिए पनि सरकारप्रति उनको झिनो आश मरेको छैन ।
‘महामारी नसकिँदासम्म सरकारले केही हेरिदियो भने पछि स्थिति शान्त भएपछि त हामी आफैं काम गरेर खाइहाल्थ्यौँ नि,’ सरकारले राहत देला कि भन्नेमा उनी अझै आशावादी सुनिए।