तिमी जान्छु नै भन्यौ
तिमीलाई रोक्न कुनै बहाना बाँकी रहेनन् मसँग ।
अब तिमीबिना
रित्तो हुनेछ प्रेमले भरिएको एउटा हृदय
एक्लो एक्लो हुने छ समय ।
उदासी बोकेर आँखाहरु
हेरिबस्ने छन् – तिमी गएको बाटो…
तिमीले प्रेमिल स्पर्श गरेका
यी औंला पनि एक्लो हुनेछन् ।
सधैं पर्खिबस्ने यो अंगालो पनि एक्लो हुनेछ –
चिस्सो छ कुनै मुर्दाजस्तो…
तिमी जान्छु नै भन्यौ
तिमीलाई रोक्न कुनै बहाना बाँकी रहेनन् मसँग ।
आखिर जानु नै त छ तिमीलाई ।
तिमीपछि – तिमीबिना
जितेर आफ्नै जीवनको यो अस्वभाविक मरुभूमि
एक्लो कुनै क्याक्टस् बाँचुला
र यतैकतै ‘नहारे’जसरी दैनिकी गुजारुँला ।
उभिऊँला कुनै एक्लो रूख
कुनै एक्लो चौतारो
या कुनै एक्लो किनार ।
यो समय
थरथर थरथराइरहेछ ओंठ
टिल्पिलटिल्पिल टिल्पिलाइरहेछन् आँखाहरु ।
गह्रौंगह्रौंजस्तो आभास भइरहेछ ।
भासिएजस्तो धर्ती, खसेजस्तो आकाश–
उकुुसमुकुस
केही न केही त भइरहेछ मभित्र ।
र पनि बुझेको छु –
जानेहरुलाई मुस्कान दिएर बिदा गर्नुपर्छ मैले
थाहा छ–
आँसुले रोक्न नसकेको बाटो
मुस्कानले रोक्छ कहिलेकाहीं !
सायद –
तिमी पनि जान्दछौ यो कुरा ।
प्रिया ! तर जानु भन्दाअघि
सुन न यो आँसुको डरलाग्दो दन्त्यकथा ।
कि तिमी जान्छु मात्र भन्दा पनि
किन यसरी भत्किरहेछु म ?
किन यसरी खसिरहेछ पहिरो मभित्र ?