भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी-Sutra News

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी

शनिबार, ३१ साउन २०७७

शनिबार, ३१ साउन २०७७

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीनवटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन्। कोरोनाविरुद्धको खोप बनाएका वैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए।



देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन गर्दै उनले प्रयोगशाला र औषधि उत्पादन गर्ने क्षमता बृद्धि गर्न लागिएको जानकारी दिए। उनले प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक वृद्धि भइरहेको बताए। खोप उत्पादनका लागि वैज्ञानिकहरुले कडा मेहनत गरिएको उहाँको भनाइ छ।

‘अहिले भारतमा एउटा हैन, दुईटा हैन, तीन ओटा खोपको परीक्षणको चरण चलिरहेको छ, चाडै नै सकारात्मक नतिजा सार्वजनिक हुने वैज्ञानिकहरुले बताएका छन्, त्यो परीक्षण सफल भएपछि ठूलो मात्रामा औषधिको उत्पादन गर्ने तयारी पनि भइरहेको छ,’ उनले भने।

भारतमा कोरोनाको महामारी सुरु हुदाँ एउटामात्रै प्रयोगशाला रहेको स्मरण गर्दै प्रधानमन्त्री मोदीले अहिले त्यो संख्या बढेर १४ सयभन्दा बढी प्रयोगशाला बनिसकेको बताए। उनले कोरोनाविरुद्धको खोप तथा उपचारका लागि १०३ करोड भारतीय रुपैया कोषमा राखिएको बताए।

कोरोनाविरुद्धका खोप उत्पादन सम्बन्धी महत्वकांक्षी सपना चाडै नै व्यवहारमा देख्न सकिने पनि उनले विश्वास व्यक्त गरे। प्रधानमन्त्री मोदीले केही महिनामा ठूलो मात्रामा एन ९५ मास्क, पिपिई भेन्टिलेटरलगायतका सामग्रीहरु भारतले विश्व बजारमा निर्यात गर्ने दाबी गरे।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट