लिदीको पहिरो घटनामा सरकारले अक्षम्य गल्ती गरेको कांग्रेसको आरोप-Sutra News

लिदीको पहिरो घटनामा सरकारले अक्षम्य गल्ती गरेको कांग्रेसको आरोप

शनिबार, ३१ साउन २०७७

शनिबार, ३१ साउन २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको बताएको छ।



शुक्रबार बिहान सिन्धुपाल्चोकको लिदीमा पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सरकारको टिप्पणी गरेको हो।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै भने, ´कोरोनाको महामारीसँग जुध्न असफल भइरहेको सरकार सिन्धुपाल्चोकको घटनापश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको छ। कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोटप्रति गम्भीर तदारुकतासाथ कार्य गर्न नेपाली कांग्रेस पनि नेकपाको सरकारसँगै तीनै तहका सरकारहरुलाई अपिल गर्दछ।´

‘लिदीबासीले बस्ती स्थानान्तरका लागि लिखितरूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन’ भन्दै कांग्रेसले प्रश्न गरेको छ।

´लिदीबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो? जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको योभन्दा ठूलो उदाहरण अर्को के हुनसक्छ?´ विज्ञप्तिमा भनिएको छ, ´राज्यको ब्यस्तता कि राज्यको बेवास्ता? जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरोमात्रै दोषी कि सरकार जिम्मेवार?´

कांग्रेसले उक्त घटनासँग गाँसिएको गम्भीर प्रश्नबारे गम्भीर बहसको आवश्यकता सार्वजनिक रूपले औँल्याएको छ।

लिदीबासीले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार नपुग्नुका कारण पहिरोले ज्यान लिएको कांग्रेसको भनाइ छ।

सरकारले ज्यान जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याईमात्रै नभइ राज्यको अक्षम्य गल्ती भएको कांग्रेसले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट