परराष्ट्र विज्ञ भन्छन्–प्रधानमन्त्रीको टेलिफोनले सीमा वार्ताका लागि ढोका खोल्यो-Sutra News

परराष्ट्र विज्ञ भन्छन्–प्रधानमन्त्रीको टेलिफोनले सीमा वार्ताका लागि ढोका खोल्यो

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं–दुई देशका कार्यकारी प्रमुखबीच भएको संवादले सीमा सम्बन्धी विवादमा वार्ताको ढोका खोलेको परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन् ।



सीमा विवादका विषयले नेपाल–भारत समबन्ध चिसिएका बेला शनिबार (३१ साउन) नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको थियो ।

भारतले गत २६ बैशाखमा नेपाली भूमि कलापानी क्षेत्र (लिम्पिायाधुरा र लिपुलेकसमेत) मा सडक उद्घाटन गरेपछि दुई देशबीचको सम्बन्धमा निकै चिसोपना आएको छ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेका थिए । ओलीको यसअघिको यस्तै टेलिफोन भने मोदीले टारिदिएका थिए।

Modi-Oli Talk press release.jpgपरराष्ट्र मन्त्रालयका अनुसार टेलिफोन संवादका क्रममा ओलीले मोदीलाई स्वतन्त्रता दिवसका लागि बधाई दिएका थिए। करिब ११ मिनेट भएको कुराकानीका क्रममा कोभिड–१९ नियन्त्रण गर्न चालिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नुका साथै महाव्याधि नियन्त्रणका लागि सहकार्य गर्न दुबै प्रधानमन्त्री सहमत भएका थिए ।

सीमा विवादका विषयमा ठ्याक्कै कुराकानी नभए पनि उनीहरुबीच भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिने सहमति भने भएको परराष्ट्र मन्त्रालयको भनाइ छ।

‘आइसब्रेक’
लामो समयदेखि दुई देशका प्रधानमन्त्रीबीच संवादहिनता रहेका बेला शनिबार भएको कुराकानीलाई परराष्ट्र मामिलाका विज्ञहरुले ‘आइसब्रेक’ भएको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख डा. खड्ग केसी ‘आइसब्रेक’ को पहल प्रधानमन्त्री ओलीले गरेको बताउँछन् ।

‘प्रधानमन्त्री ओलीले आज आइसब्रेक गर्नुभयो,’ डा. केसीको भनाइ छ, ‘यस्तो ‘डेडलक’ को बेलामा प्रधानमन्त्री ओली आफैले भारतको स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय समकक्षीलाई टेलिफोन गरी शुभकामना दिने कुराको पहल गर्नु आफैमा ‘आइसब्रेक’ हो ।’

डा. केसी हिजोको टेलिफोन संवादले दुई उच्च कार्यकारीबीच सदभावको वातावरण विकास भएको र वार्ताका लागि वातावरण बनाउन भूमिका खेल्ने बताउँछन् । ‘दुई उच्च कार्यकारी बीचमा सदभावको वातावरण बिकास भयो,’ उनको भनाइ छ, ‘यद्यपी यो फोन वार्ताकै कारण दुवै मुलुुलक विवाद समाधानको विषयमा प्रवेश गरिहाल्छन् र समाधान भइहाल्छ भनेर उद्धेलित भइहाल्ने विषय होइन ।’

कूटनीतिज्ञ डा दिनेश भट्टराई वार्ताको ढोका खोल्नका लागि टेलिफोन संवादले इँट्टा थप्ने काम गरेको बताउँछन् । ‘प्रधानमन्त्रीले वार्ताको ढोका खोल्न इट्टा हाल्नुभयो भन्दा फरक पर्दैन’ भट्टराई भन्छन्, ‘यसबाट सीमा समस्याका बारेमा भारत वार्ता गर्न तयार छ भन्ने अर्थ पनि लाग्दैन, वार्ताको ढोका खोल्न पनि सकरात्मक वातावरण चाहिन्छ, त्यस्तो वातावरण बनाउने काम अब यहीँबाट सुरु भइदिए राम्रो हुन्थ्यो।’

भारतका लागि पूर्व नेपाली राजदूत डा. लोकराज बराल कुराकानी नै नभइरहेको अवस्थामा दुई देशका प्रधानमन्त्रीबीचमा भएको टेलिफोन संवादलाई सकरात्मक रुपमा लिनुपर्ने बताउँछन् ।

‘नक्साको कुरा आएयता समस्या समाधानका लागि ‘ब्रेकथ्रु’ भएको थिएन’ डा. बराल भन्छन्,’ चैतयता पहिलोपल्ट यसपटक कुराकानी भएको हुनाले यसबाट पक्कै पनि अलिकति वातावरण बनाउँछ ।’

बराल यही संवादकै कारण भूमि फिर्ता हुने अवस्था नआएपनि भविष्यमा हुने कुराकानीका लागि अलिकति सहज भएको बताउँछन् । भन्छन्, ‘भोलि जमिन फिर्ता आउँछ कि आउँदैन भन्ने अर्को कुरा हो । तर, कुराकानी नै नभएको अवस्थामा यसरी टेलिफोन भएको कुरालाई सकरात्मक रुपमा लिनुपर्छ । यसले पछिको लागि कुराकानी गरौं भन्नलाई अलिकति सजिलो भयो ।’

‘प्रोएक्टिभ’ ओली
कोरोना महामारीलाई लिएर ओली र मोदीबीच पछिल्लो पटक २८ चैत (०७६) मा टेलिफोन संवाद भएको थियो । त्यसको करिब एक महिनापछि भारतले नेपाली भूमिमा सडक मार्गको उद्घाटन गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो । यही बीच नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेर संसदबाट समेत अनुमोदन गरायो ।

यसबाट चिढिएको भारतले प्रधानमन्त्री ओलीले संवादका लागि गरेका हरेक प्रयत्नलाई नकार्दै आएको थियो । स्वतन्त्रता दिवसको अवसर पारेर ओलीले गरेको टेलिफोन संवादलाई भने यसपटक भारतले नकार्ने अवस्था रहेन । डा. केसी यसलाई ओलीको ‘प्रोएक्टिभनेस’ मान्छन् । ‘यो वास्तवमै ‘प्रोएक्टिभ’ कूटनीति हो,’ उनी भन्छन्, ‘अरुले बधाई दिए कि दिएनन्, हामी झुक्यौं कि भनेर पनि अरु कसैले भन्लान् । तर, कूटनीतिमा यो ‘प्रोएक्टिभनेस’ हो । उहाँले राम्रो गनुभयो । यसमा प्रधानमन्त्रीलाई हामीले प्रशंसा गर्नुपर्छ ।’

टेलिफोन गरेरै भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिनेमा दक्षिण एसियाली क्षेत्रबाट ओली मात्रै एक नेता हुन् । कूटनीतिज्ञ भट्टराई यसलाई प्रधानमन्त्रीले राम्रो कूटनीतिक द्वार उपयोग गरेको रुपमा लिन्छन् ।

‘यसलाई प्रधानमन्त्रीले उपलब्ध कूटनीतिक द्वार प्रयोग गरेको मान्नुपर्छ,’ उनको भनाइ छ, ‘यो ‘अकेजन’ चाहिँ राम्रै छान्नु भएको हो । वार्ताको ढोका खोल्नका लागि प्रधानमन्त्रीले पहल गर्नुभएको देखिन्छ ।’

दुई देशबीचको सीमा समस्या समाधान गर्न नेपालले परराष्ट्र सचिव स्तरीय संयन्त्रको बैठक बस्नुपर्ने कुरा पटक–पटक उठाएको छ । तर, भारतले कोरोना महामारीको कारण देखाउँदै त्यो बैठक महामाारी सकिएपछि मात्रै गर्न सकिने जवाफ दिने गरेको छ ।

यस्तोमा ओलीले टेलिफोन गरेरै बधाई दिनुलाई सीमा वार्ताका लागि गरिएको कोशिसका रुपमा बुझ्न सकिने बराल बताउँछन् । ‘सामान्यतया १५ अगष्टको उपलक्ष्यमा तपाईंलाई बधाई छ भनेर यहाँबाट सन्देश पठाउने गरिएको हुन्थ्यो,’ उनी भन्छन्, ‘तर, अहिले टेलिफोन नै गरेर कोभिड–१९ लगायत धेरै विषयमा कुराकानी भएको हुनाले अलिकति हाम्रोतर्फबाट वातावरण बनाउने कोसिस गरेको हो ।’

सम्बन्ध थप नबिगार्ने चाहाना
आफूले राखेका सुझावलाई नेपालको संविधानमा राख्न अस्वीकार गरेको झोकमा नेपालमाथि नाकाबन्दी लगाएपछि भारतीय प्रधामन्त्री मोदीमाथि छिमेकीसँग सम्बन्ध बिर्गान खोजेको आरोप लाग्दै आएको छ ।

मोदीको व्यवहारकै कारण नेपालमा भारतीय हस्तक्षेपविरुद्ध सशक्त माहोल बनेको थियो । यसैबीचमा भारतमाथिको बढ्दो निर्भरता कटौती गर्ने उपाय स्वरुप नेपालले चीनसँग पारवहन सन्धि गर्यो । भारतीय नाकाबन्दीको प्रतिरोध गर्न नेतृत्व गरेका ओली नेतृत्वको तत्कालिन वाम गठबन्धनलाई ०७४ को निर्वाचनमा भारी जनमत प्राप्त भयो ।

डा. केसी यी सबै देखेको भारतले नेपालमाथि नाकाबन्दी लगाउनु गल्ती भएको ‘महसुस’ गरेको र यसपटकको नक्सा प्रकरणमा धेरै प्रतिवाद गर्ने शैलीबाट प्रस्तुत नभएको बताउँछन् । सीमा विवादलाई थाती राखेर भए पनि अरु सम्बन्ध सामान्य रुपमा चलाउन भारतले चाहेको यसबाट बुझिने उनको भनाइ छ ।

‘यसपटक भारत औपचारिक रुपमा धेरै प्रतिवाद गर्ने शैलीबाट सुरुदेखि नै प्रस्तुत भएको थिएन,’ केसी भन्छन्, ‘सीमा सम्बन्धी नेपालसँग वार्ताको कुरालाई लिएर विपरित तर्क भारतको संस्थापन पक्षबाट पहिले पनि आएको थिएन ।’

डा. केसी थप्छन्, ‘पहिले केही विवाद हुँदा नाकाबन्दी गर्ने, ‘सप्लाई चेन’ हरुमा अबरोध खडा गर्ने खालको भारतको शैली थियो । सीमा विवाद अरु सबैभन्दा महत्वपूर्ण मुद्दा हो । त्यसलाई थाती राखेर बाँकी सम्बन्ध चाहिँ यथावत रहिरहोस् भन्ने खालको भारतीय छनक हामीले पायौं।’

बराल पनि सीमा सम्बन्धी बिषयमा आफ्नो ‘पोजिसन’ कायम राख्दै अन्य सम्बन्धलाई सामान्यकरण गर्दै लैजाने ‘मुड’मा भारत रहेको बताउँछन् । ‘द्धिपक्षीय सम्बन्धका अरु पक्षहरुलाई बेवास्ता गर्न र नजरअन्दाज गर्न पनि भएन,’ उनको भनाइ छ, ‘सम्बन्धलाई विस्तारै समान्यीकरण गर्दै अगाडि बढाउँदै गर्नुपर्यो, काम हुँदै जानुपर्यो । यही मुद्दाले गर्दा सबै कुरालाई बन्धक राख्न त भएन भन्ने उनीहरुको ‘मुड’ देखिन्छ।’

भट्टराई ढिलो–चाँडो वार्तामा बस्नै पर्ने र त्यसअघि नेपालले पर्याप्त तयारी गर्नुपर्ने बताउँछन् । ‘वार्तामा त ढिलो चाँडो बस्नै पर्छ,’ उनी भन्छन्, ‘तर, वार्तामा बस्नुअघि हामीले आफ्नो काम गर्नुपर्यो नि । वार्तामा गएपछि हाम्रै पोजिसन, हाम्रै अडानमात्रै हुन्छ भन्ने कुरा हुँदैन । आफ्नो अडान, प्राथमिकता र स्पष्टता चाहिँ हामीले प्रष्ट पारेर जानुपर्छ ।’

कूटनीतिक मामिला विश्लेषक टीका ढकाल टेलिफोन वार्तापछि उच्च राजनीतिक तहमा नै संवादहीनता तोडिएको बताउँछन् । उनी अब समस्या सुल्झिने चरण सुरु हुने अपेक्षा गर्न सकिने बताउँछन् । ‘तत्काल सबै अप्ठ्यारा विषय सुल्झिन सक्दैनन्,’ ढकालले फेसवुकमा लेखेका छन्, ‘७० वर्षदेखि गाँजिएका समस्या रातारात सुल्झिन गाह्रो छ, तर संवाद र कूटनीति नै समाधानको बाटो हो। हिजोसम्म समस्या बल्झिने चरण थियो, अब सुल्झिने चरण सुरु हुने अपेक्षा गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट