सन् २०१५ मा रिलिज भएको सिनेमा ‘वडा नम्बर ६’ले व्यवसायिकरुपमा राम्रै कमाई गरेको थियो । उज्जवल घिमिरेको निर्देशन तथा दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा बनेको यो चलचित्रमा जनयुद्धको विषयलाई केन्द्रमा राखिएको थियो ।
सिनेमाले सामाजिक कुरालाई प्रस्तुत गर्दा राजनीतिक परिवर्तनसँगै समाजमा पुरुष नै सर्वमान्य हुने धारणा बोकेको छ । समाजमा पुरुषको स्थान उच्च हुने र महिला केवल पुरुषलाई साथ दिन उपस्थित हुन्छन् भन्ने अवधारणामा यो सिनेमालाई प्रस्तुत गरिएको छ । सिनेमामा सामाजिकरुपमा रहेका विभिन्न समस्याहरुलाई समाधान गर्न त्यसमा फुट ल्याएर भिडन्त गर्न आवश्यक हुन्छ भन्ने दृष्टिकोणबाट कथालाई प्रस्तुत गरिएको छ ।
व्यवसायिकरुपमा सफल भएका यस्ता अन्य थुप्रै सिनेमा छन्, जसले सामाजिकरुपमा चलचित्रमा उठाएको विषयलाई अपव्याख्या गरेका देखिन्छन् । पछिल्लो समय लगातार बक्स अफिसमा हिट सिनेमा निर्माण गरिरहेको दीपक-दीपाको टिमले बनाएका सिनेमाहरु नै पनि यसका केही उदाहरण हुन् ।
कलाको सर्वोत्तम माध्यम मानिने सिनेमाले समाजको घट्नालाई प्रस्तुत गर्ने र समाजलाई केही दिने अपेक्षा गरिन्छ । ‘सिनेमा भनेको एउटा कला व्यवसाय हो,’ अभिनेता दयाहाङ राई भन्छन्, ‘सिनेमाले समाजसँग लेनदेन दुवै गर्छ । यसले समाजबाट कथा लिएर पनि आउँछ र समाजलाई केही सन्देश पनि दिन्छ ।’ अभिनेता राईले भनेजस्तै सिनेमाको आर्थिक पक्ष भए पनि सिनेमाले समाजलाई कुनै न कुनैरुपमा केही दिनुपर्ने हुन्छ ।
‘सिनेमा व्यवसायिक काममात्रै हुनु हुँदैन्। सिनेमाले समाजमा भएको विविधतालाई साथ लिएर हिँड्ने र कुनै किसिमको द्वन्द्व छ भने त्यसलाई कम गर्दै लैजानुपर्ने हो । तर, नेपाली सिनेमामा त्यो देखिँदैन ।’
व्यवसायिक पाटोलाई मात्रै महत्व दिइएका प्रायः नेपाली सिनेमाहरुमा सामाजिक पाटोलाई भने अवमूल्यन गरिएको देखिन्छ । बक्स अफिसमा हिट भएका सिनेमाहरुले नै चलचित्रमा उठाएको सामाजिक विषयलाई गलत दृष्टिकोणबाट प्रस्तुत गर्ने वा व्यवसायिकतालाई बढी महत्व दिएर विषयलाई नै अपव्याख्या गर्ने गरेको देखिन्छ । ‘सिनेमाले हाम्रो समाजको कुन समय बोलिरहेको छ भन्ने महत्वपूर्ण कुरा हो,’ दयाहाङ भन्छन्, ‘सिनेमामा समाजको कुन चरित्र देखिएको छ ख्याल गर्नुपर्छ । त्यसमाथि सिनेमामा उठाएको विषयलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ ।’
तर, नेपालमा पछिल्ला समयमा बनेका प्रायः सिनेमा र बक्स अफिसमा हिट भएका सिनेमाहरुले उठाएको विषयलाई भन्दा बढी व्यवसायिकतालाई महत्व दिएको दयाहाङ बताउँछन् । ‘सर्जकहरुले सिनेमाको व्यवसायिकतातिर मात्रै ध्यान दिनुभएको देखिन्छ,’ उनी भन्छन्, ‘सिनेमा सधैं मूलधारमा रहिरहेको हुन्छ । सिनेमा कलामार्फत् हुने व्यवसायाको माध्यम भए पनि यसले उठाउने मुद्दाहरु कसरी उठिरहेका छन् भन्नेबारे ख्याल राखिनुपर्छ । तर, पछिल्लो समय बक्स अफिस हिट भएका सिनेमाहरुमा त्यो देखिँदैन ।’
सिनेमा विश्लेषक अनुभव अजित पछिल्लो समयमा बनिरहेका नेपाली सिनेमाहरुले समाजप्रति गर्नुपर्ने जिम्मेवारी पूरा नगरेको बताउँछन् । नेपाली सिनेमाहरुले समाजप्रति कुनैरुपमा सम्बोधन हुनुपर्छ भन्ने कुरालाई नै बेवास्ता गरेको देखिने उनी बताउँछन् । ‘सिनेमा व्यवसायिक काममात्रै हुनु हुँदैन्,’ उनी भन्छन्, ‘तर, नेपाली सिनेमा त्यस्तो छैन। सिनेमाले समाजमा भएको विविधतालाई साथ लिएर हिँड्ने र कुनै किसिमको द्वन्द्व छ भने त्यसलाई कम गर्दै लैजानुपर्ने हो । तर, नेपाली सिनेमामा त्यो देखिँदैन ।’
‘नेपालमा समाजको मुद्दा उठाएर त्यसलाई न्यायपूर्ण ढंगबाट प्रस्तुत गरिएका सिनेमा निकै कम छन् । नेपालमा सिनेमा बनाउनेहरुले सामाजिक कुरा उठाए पनि त्यसलाई कसरी पैसा कमाउने र लगानी उठाउने बनाउँन सकिन्छ भन्ने कुरालाई महत्व दिएको देखिन्छ ।’
नेपाली सिनेमाले समाजमा स्थापित भएर रहेका ‘स्टेरियोटाइप्ड’ कुराहरुलाई नै बढी महत्व दिएको अजितको बुझाइ छ । ‘नेपाली सिनेमाले विभेदलाई केही प्रोत्साहन गरेको देखिन्छ,’ उनी भन्छन्, ‘केही सिनेमालाई छाड्ने हो भने नेपालमा बन्ने सबै जसो सिनेमामा पुरातन र पहिलाकै सोचलाई लिएर हिँडेको देखिन्छ ।’ केही सिनेमाकर्मीहरुले फरक देखाउन वा फरक सिनेमा बनाउन खोजेपछि सामाजिकरुपमा जुन चेतना जगाउनेगरी सिनेमा बनाउनुपर्थ्यो त्यो नभएको उनी बताउँछन् ।
अर्का, चलचित्रकर्मी विपिन कार्की पनि नेपालमा बनेका पछिल्ला सिनेमाहरु बढी व्यवसायिक भएको बताउँछन् । ‘नेपालमा समाजको मुद्दा उठाएर त्यसलाई न्यायपूर्ण ढंगबाट प्रस्तुत गरिएका सिनेमा निकै कम छन्,’ उनी भन्छन्, ‘नेपालमा सिनेमा बनाउनेहरुले सामाजिक कुरा उठाए पनि त्यसलाई कसरी पैसा कमाउने र लगानी उठाउने बनाउँन सकिन्छ भन्ने कुरालाई महत्व दिएको देखिन्छ ।’
विश्वभर सिनेमा तत्काल बजारमुखी र दीर्घकालीन हुने गरेको पाइन्छ । सिनेमामार्फत् तत्काल पाइने परिणाम व्यवसायिकता भए पनि दीर्घकालमा सिनेमाले समाजलाई असर गरिरहेको हुन्छ । ‘नेपालमा केही सिनेमा बनेका छन् जसले दीर्घकालसम्म दर्शकलाई सम्बोधन गर्छन,’ दयाहाङ भन्छन्, ‘अहिलेका लागिमात्रै सोचेर सिनेमा बनाइँदा व्यवसायिकमात्रै भएको देखिन्छ । एउटा फर्मुला वा ‘स्टेरियोटाइप्ड थट’मा आधारित भएर व्यापारलाई प्राथमिकता दिँदा सिनेमा योरुपमा विकास भइरहेको देखिन्छ ।’
विश्व सिनेमामा हेर्ने हो भने सिनेमाले थुप्रै सामाजिक परिवर्तनमा भूमिका खलेका देखिन्छन् । अमेरिकी निर्देशक फ्रान्सिस फर्ड कपोल्ला निर्देशित चलचित्र ‘एपोक्यालिप्सी नाउ (१९७९)’ जति बेला भियतनाम युद्ध चलिरहेको थियो, त्यही समयमा निर्माण भयो । चलचित्र प्रदर्शनमा उत्रिएसँगै ‘युद्ध ठीक हो कि होइन्’ भन्ने बहसको सुरुवात भएको थियो । त्यतिबेला चलेको ‘ब्रिङ बोइज ब्याक होम’जस्ता अभियानमा चलचित्रले पनि प्रभाव पारेको थियो । चलचित्रको प्रदर्शनसँगै ‘युद्ध ठीक होइन्’ भन्ने चेतनाको सुरुवात भएको थियो ।
‘अहिले सिनेमा बनाइरहेका चलचित्रकर्मीहरुले स्थापित कुरालाई नै झन् बलियो बनाइरहेका छ्न । सिनेमामा त समाजमा स्थापित रहेको गलत कुरालाई हटाउन प्रयत्न गरिनुपर्ने हो । तर, त्यो नेपाली सिनेमामा देखिँदैन ।’
त्यस्तै, अर्का अमेरिकी निर्देशक डेनिस होप्परद्वारा निर्देशित चलचित्र इजी राइडर (१९६९)ले त्यतिबेला विश्वभर अमेरिका नै शक्तीशाली हो र अमेरिका नै अन्तिम सत्य हो भन्ने कुरालाईभन्दा फरक भाष्य सिर्जना गरेको थियो । चलचित्रले ‘हिप्पी मुभमेन्ट’को पक्षबाट विश्वप्यापी समानताको भाष्य सिर्जना गर्नमा भूमिका खेलेको थियो ।
नेपालकै छिमेकी देश भारतीय चलचित्रहरुकै कुरा गर्ने हो भने पनि एस शंकरद्वारा निर्देशित चलचित्र ‘नायक (२००१)’ले आम मानिसमा राजनीतिक सोचको चेतना जगाउन निकै भूमिका खेलेको देखिन्छ । मेहवुव खानद्वारा निर्देशित अर्को भारतीय चलचित्र ‘मदर इन्डिया (१९५७)’ले पनि सामाजिकरुपमा महिला सशक्तीकरणको पक्षमा निकै प्रभाव पारेको थियो ।
नेपालको पक्षमा हेर्ने हो भने केही सिनेमालाई मात्रै यो श्रेणीमा राख्न सकिन्छ, जसले कुनै न कुनैरुपमा समाजमा स्थापित रहेको नकरात्मक पक्षमाथि प्रश्न गरेको छ । दीपक रौनियार निर्देशिक ‘सेतो सूर्य’ले केही मात्रामा जनयुद्धका कारण एउटा आम मानिसको जीवनसँगै समग्र गाउँमा परेको प्रभावलाई प्रस्तुत गरेको छ ।
तर, पछिल्लो समयमा जति पनि नेपाली सिनेमा बनिरहेका छन्, जति पनि सिनेमा बनिरहेका छन्, तिनीहरुले सामाजिक चेतनालाई जगाउनेभन्दा पनि थप स्थापित गर्ने किसिमको प्रस्तुती दिइरहेको विश्लेषक अजित बताउँछन् । ‘हाम्रो समाजमा पहिलाबाटै महिलालाई तल र पुरुषलाई माथि राखिएको छ,’ उनी भन्छन्, ‘प्रायः सिनेमाहरुले पनि यस्तै प्रस्तुती दिन्छन् । सिनेमाकर्मीहरु यस्तो विषयमा सचेत नहुँदा यसले समाजमा यस्ता मुद्दालाई थप स्थापित बनाइरहेको छ ।’
प्रस्तुतीकरणले सिनेमामा महत्व राख्ने हुँदा त्यसमा पनि चलचित्रकर्मीले जिम्मेवार हुनुपर्ने हुन्छ । सिनेमामा कथालाई गरिएको प्रस्तुतीकरणले समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुरालाई पनि नेपाली चलचित्रकर्मीहरुले ध्यान नपुर्याएको लाग्छ अजितलाई । ‘नेपाली सिनेमामा कथालाई प्रस्तुतीकरण गर्ने कुरामा चलचित्रकर्मीहरु त्यति जिम्मेवार देखिँदैनन्,’ उनी भन्छन्, ‘अहिले सिनेमा बनाइरहेका चलचित्रकर्मीहरुले स्थापित कुरालाई नै झन् बलियो बनाइरहेका छ्न । सिनेमामा त समाजमा स्थापित रहेको गलत कुरालाई हटाउन प्रयत्न गरिनुपर्ने हो । तर, त्यो नेपाली सिनेमामा देखिँदैन ।’
‘संसारभरिका सिनेमा हेर्न सकिने, बहस गरिने, कमिकमजोरीलाई स्वीकार्ने किसिमको परिपाटी नेपालमा कम छ । यसले पनि नेपालमा समाजमुखी सिनेमाको निर्माणमा असर गरिरहेको छ ।’
अभिनेता विपीन कार्की नेपाली सिनेमाले व्यावसायिकतालाई ध्यानमा राख्दा समाजप्रति हुनुपर्ने जिम्मेवारी र जवाफदेहिता हुनुपर्ने बताउँछन् । ‘हाम्रो सिनेमाकर्मीहरुले आफ्नो सिनेमा गाउँगाउँमा बुढादेखि बच्चासम्मले हेरुन भन्ने चाहन्छन्,’ उनी भन्छन्, ‘आफ्नो सोच वा आफ्ना कुरालाई चलचत्रिमा देखाउँदा त्यो जिम्मेवारी नभएको देखिन्छ । यी कुरामा चलचित्रकर्मी जिम्मेवारी नहुने हो भने को जिम्मेवार हुन्छ?’
यी कुराहरुमा चलचत्रि क्षेत्र कसरी अगाडि बढिरहेको छ भन्ने कुराले पनि राख्छ । नेपालको सन्दर्भमा हेर्दा केही फिल्म स्कुलहरु मात्रै सञ्चालनमा छन् भने अर्कातिर चलचित्रलाई अगाडि लिएर जान पर्याप्त मात्रामा काम भइरहेको देखिँदैन । नेपाली सिनेमामा बल्ल काम सुरुवात हुँदै गरेको अभिनेता कार्की बताउँछन् ।
‘नेपालमा चलचित्रको निर्माणदेखि चलचित्रलाई बुझाउने कुरामा काम भएको छैन्,’ उनी भन्छन्, ‘यो क्षेत्रलाई अगाडि बढाउन यसको व्यापकता हुनुपर्छ । रुचि राख्नेको लागि पर्याप्त ठाउँ चाहिन्छ । तर, नेपालमा ती कामहरु भएका छैनन् ।’ अब आउने पुस्ताहरुले चलचित्रको निर्माण गर्दा व्यवसायिकतालाई मात्रै प्राथमिकता नदिएर सामाजिक प्रभाव र चेतनालाई पन ध्यानमा राख्ने कुरामा आफू आशावादी रहेको बताउँछन् कार्की ।
अभिनेता दयाहाङ राई पनि नेपाली सिनेमाको बजार व्यवस्थापनमा ध्यान दिन नसक्नु र बक्स अफिसलाई मात्रै ध्यान दिदाँ समाजमुखी सिनेमा विकास नभएको बताउँछन् । ‘हामीले ठूलो सोच बनाएर सिनेमा बनाउन सकिरहेका छैनौं,’ उनी भन्छन्, ‘यसमा कसैलाई आरोप लगाउन आवश्यक छैन । जति हुनुपर्ने भइरहेको छैन । व्यापारमुखी सिनेमा निर्माण भइरहँदा हामीले समाजमुखी सिनेमाबारे बहस पनि गरेका छैनौं ।’
त्यसो त दयाहाङ आशावादी छन्, विस्तारै व्यापरमुखीभन्दा माथि उठेर नेपाली सिनेमा बन्ने कुरामा । ‘फिल्म कल्चर बन्नको लागि देशमा थुप्रै सिनेमा बन्न आवश्यक छन्,’ उनी भन्छन्, ‘संसारभरिका सिनेमा हेर्न सकिने, बहस गरिने, कमिकमजोरीलाई स्वीकार्ने किसिमको परिपाटी नेपालमा कम छ । यसले पनि नेपालमा समाजमुखी सिनेमाको निर्माणमा असर गरिरहेको छ ।’ केही मात्रामा नेपाली चलचित्र क्षेत्रमा समाजमुखी सिनेमा बनिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘नेपालमा विस्तारै भइरहेको छ । हुँदै पनि जान्छ भन्ने लाग्छ ।’
नेपाली सिनेमा प्रभावित रहेको बलिउडमा अहिलेको नयाँ पुस्ताले वेवसिरिज, फिचर फ्लिम लगायतमार्फत् व्यापारमुखी मात्रै नभएर समाजमुखी काम गरिरहेको विश्लेषक अजित बताउँछन् । नेपालमा पनि नयाँ पुस्ताले सिनेमा निर्माणमा सक्रियरुपमा नआउँदासम्म स्थापित रहेको चलचित्रको फर्मेट, निर्माण र सन्देशमा फरकपन नआउने उनी बताउँछन् ।
‘केही फरक भएर सामाजिकरुपमा सचेत भएर काम गर्ने मान्छेले जबसम्म नेपाली सिनेमामा सक्रिय भएर प्रवेश गर्दैन्, तबसम्म नेपाली सिनेमाको कन्टेन्ट, निर्माण र सन्देशमा फरकपन आउँछ भन्नेमा मलाई विश्वास छैन्,’ उनी भन्छन्, ‘नेपाली सिनेमामा पनि फरकफरक आधारबाट आउने र समाजप्रति सचेत हुने नयाँ पुस्ताले चलचित्र निर्माणमा प्रवेश नगर्दासम्म नेपाली सिनेमा व्यापारमुखी नै मात्र रहन्छ ।’