ओली-प्रचण्डलाई पहिलो झड्का : कार्यदल गठनप्रति तीन शीर्ष नेताको असहमति-Sutra News

ओली-प्रचण्डलाई पहिलो झड्का : कार्यदल गठनप्रति तीन शीर्ष नेताको असहमति

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं– नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल (प्रचण्ड) बीच पछिल्लो समय देखिएको ‘मिलन’ मा पहिलो झड्का लागेको छ । पार्टीभित्र देखिएको गतिरोध सुुल्झाउन दुुई अध्यक्षको सहमतिमा शुक्रबार गठन गरिएको कार्यदल गठनप्रति पार्टीका तीन बरिष्ठ नेताहरुले असहमति जनाएपछि दुई अध्यक्षबीचको मिलनमा झट्का लागेको हो ।



पार्टीभित्रको गतिरोध अन्त्यका लागि शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रदेश–५ का मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भूषाल र जनार्दन शर्मालाई सदस्य तोकिएको छ ।

यसमध्ये कार्यदल संयोजक पौडेल र मुख्यमत्री पोखरेल ओली निकट छन् भने भूूषाल र शर्मा प्रचण्ड निकट । रावल बरिष्ठ नेता नेपाल निकट मानिन्छन् भने पाण्डे खनाल निकट । प्रमुख चार नेताहरुको प्रतिनिधित्व रहेकाले यो कार्यदललाई सन्तुलित पनि मानिएको थियो ।

केमा असन्तुष्टि ?
तर, कार्यदल गठनको प्रक्रियाप्रति नेपाल, खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट देखिएका छन् । कार्यदल गठनको निर्णय विधिसम्मत रुपमा गर्नुपर्नेमा दुुई अध्यक्ष मिलेर गरेकाले उनीहरु असन्तुुष्ट बनेका हुन् । कार्यदलको गठन अध्यक्षद्वयको सहमतिमा होइन, सचिवालयको बैठकमार्फत् हुनुपर्ने उनीहरुको माग रहेको छ।

‘पार्टीभित्र पछिल्लो समय जुन खालको असहज स्थिति सिर्जना भयो, प्रधानमन्त्री ओलीले विधि र प्रक्रियालाई मिचेकाले हो’ असन्तुष्ट मध्येका एक नेताले सूत्रन्यूजसँग भने, ‘ओलीको कार्यशैलीसँग प्रचण्डपनि असहमत हुनुहुन्थ्यो । तर, उहाँले पनि ओलीकै शैली पछ्याउँदै औपचारिक बैठकविना कार्यदल गठन गर्ने निर्णयमा सहमति जनाएर गल्ती गर्नुभयो ।’

कार्यदल गठनजस्तो निर्णय औपचारिक बैठकमार्फत् गर्नुपर्नेमा अध्यक्षद्वयको निर्णयबाट गरिएको भन्दै असन्तुष्ट बनेका बरिष्ठ नेताद्वय खनाल–नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार विहान खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए ।

नेतात्रयले अध्यक्ष प्रचण्डसँग ‘सचिवालयको बैठक विना किन कार्यदल गठन गर्ने निर्णयमा पुग्नुभयो ?’ भन्ने प्रश्न गरेका थिए । आफूहरुले विधि र पद्दतिको कुरा उठाएको बताउँदै कार्यदल गठन गर्ने नै हो भने सचिवालय बैठक आयोजना गर्नुपर्ने माग गरेका थिए ।

स्रोतका अनुसार, सचिवालयको बैठक बसेर कार्यदल गठनको निर्णय गर्ने कुरामा प्रचण्डले पनि सहमति जनाएका छन् । ‘प्रक्रियागत गल्ती भएकै हो’ नेतात्रयलाई प्रचण्डले भनेका थिए, ‘सचिवालय बैठक बसेर निर्णयलाई औपचारिकता दिनुपर्छ भन्ने कुरामा मेरो पनि सहमति छ ।’

प्रधानमन्त्री ओलीका गतिविधि पार्टीका विधि र पद्दति विपरित रहेको कुरामा सहमत रहेका अध्यक्ष प्रचण्ड पछिल्लो समय ओलीसँग निकट भएको भन्दै नेपाल, खनाल, श्रेष्ठ असन्तुष्ट समेत छन् ।

नारायणकाजीको प्रष्टोक्ति
यद्यपी, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने एकता जोगिएको भन्दै कार्यदल गठनप्रति खुसी व्यक्त गरेका छन् । आइतवार दिउसो सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कार्यदल गठनबारे आफ्नो धारणा सार्वजनिक गरेका हुुन् ।

‘हाम्रो पार्टीका २ अध्यक्षहरुद्वारा पार्टी भित्रका समस्याहरुको समाधान र सँकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम शुरु गरिसकेको छ’ उनले लेखेका छन्, यसले यो सकारात्मक सन्देश दिसकेको छ कि हाम्रो पार्टी एकताको रक्षा सुनिश्चित भएको छ।‬’

आफूले यसअघि सार्बजनिक रुपमा पार्टी संंकटको निकासको सूत्रका रुपमा ‘पार्टी एकताको रक्षा,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनको तयारी’ सम्बन्धी प्रस्ताव राखेको बताउँदै ‘पार्टी एकताको रक्षा ले हामी सबैलाई खुसी बनाएको’ उल्लेख गरेका छन् ।

‪कार्यदलले तात्कालिन रुपमा कोभिड–१९ को नियन्त्रण,उपचार र अर्थतन्त्रको पुननिर्माण र अन्ततः राष्टृय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्ने उनले उल्लेख गरेका छन् ।

‘यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपुर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ’ उनले भनेका छन्, ‘यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो ।‬’

तर, पार्टीभित्र केही बिषयमा कुनै छलफल,बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भइहाल्नु उपयुक्त नहुने बताउँदै उनले पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ बैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनु पर्ने कुरामा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट