काठमाडौं- दुई वर्षअघि साउन १९ गते कञ्चनपुरमा बलात्कारपछि मृत भेटिएकी निर्मला पन्तको विषयमा थुप्रै आन्दोलन भए। जुलुस निस्किए। तर, घटना घटेको दुई वर्ष भइसक्दा पनि अहिलेसम्म उक्त घटनाको अनुसन्धान निष्कर्षमा पुगेको छैन। न निर्मलाको परिवारलाई न्याय नै मिलेको छ। संलग्न को थियो भन्नेबारे कुनै पनि खुलासा भएको छैन।
घटनापछि लामो समयसम्म सरकारसमक्ष आवाज उठेको थियो- निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्यो। तर, अहिलेसम्म घटनामा संलग्न अपराधी पक्राउ पर्न सकेका छैनन्।
अहिले फेरि निर्मला पन्तको विषय चर्चामा आएको छ। अहिले भने समाजिक सञजालमार्फत् यो मुद्दा चर्चामा आएको हो। सामाजिक सञ्जालमा नेपाल सरकारको सत्ता पक्षकै नेताहरुसहित विभिन्न सरकारी संस्थाहरुको सामाजिक सञ्जालमा रहेको फेसबुक पेजमा निर्मला पन्तको लागि न्याय भन्ने आवाज उठिररहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा निर्मलाका लागि न्याय माग गर्दै प्रयोगकर्ताहरुले कमेन्ट गरिरहेका छन्। निर्मलाको लागि न्याय लेखिएको पोष्टरसहित प्रयोगकर्ताहरुले #JusticeforNirmala लेख्दै कमेन्ट गरिरहेका छन्। प्रधानमन्त्रीको चार वर्षअघिको तस्बिरमा निर्मलाको लागि न्याय भन्दै लगातार कमेन्ट आइरहेका छन्।
नेपाली हिपहपका गायक बालेनले निर्मलाका लागि न्याय लेखिएको तस्बिरसहित उक्त ह्यासट्याग राख्दै लेखेका छन्, ‘मेरो प्रयास प्रायः सधैं त्यही हुन्छ, न्याय मागेर होइन्, जन्मजात सबैले पाउनुपर्छ। गीतमा बोल्न डराएको छैन, कहिल्यै पनि डराइँदैन। सधैं समाजकै ऐना हुनेछ हाम्रो गीत संगीत।’
अर्का फेसबुक प्रयोगकर्ता नेत्र चिरौथे रानाले पनि उक्त तस्बिर र ह्यासट्याग राख्दै प्रधानमन्त्रीको तस्बिरमा कमेन्ट गरेका छन्, ‘एउटा कुरुप सोच भएको तुरुप साथमा भयो भने जिन्दगी, जीवन र समयले कति दुःख पाउँछन् भन्ने एउटा गतिलो उदाहरण हो।’
गृह मन्त्री रामबहादुर थापा ‘बादल’को फेसबुक पेजमा पनि यस्तै कमेन्ट लगातार भइरहेको छ। दुई वर्षअघिको बादलको तस्बिरमा अहिले फेसबुकका प्रयोगकर्ताहरुले लगातार कमेन्ट गरिरहेका छन्।
त्यस्तै, नेपाल प्रहरीको फेसबुक पेजमा पनि यस्तै कमेन्ट गरिएको छ। उक्त पेजमा रहेको नेपाल प्रहरीको प्रोफाइल तस्बिरमा लगातार निर्मलाका लागि न्याय भन्दै कमेन्ट आइरहेका छन्।
फेसबुक प्रयोगकर्ता रुम्बा निशाले गंगबु बसपार्कमा केही दिनअघि घटेको घटनासँग निर्मला हत्या काण्डलाई तुलना गर्दै कमेन्ट लेखेकी छन्। उनी लेख्छिन्, ‘२४ घण्टाभित्र कृष्ण बोहोराको हत्यारा पत्ता लगाउने प्रहरीले वर्षौं बित्दा पनि निर्मलाको बलात्कारी किन पत्ता लगाएन?’
अर्का फेसबुक प्रयोगकर्ता अञ्जय सोयाले नेपाल प्रहरीको पेजमा कमेन्ट गर्दै लेखेका छन्, ‘सायद तपाईँहरुलाई माथिको आदेश होला, दबाब होला । तर, आफ्नो कर्तव्यबाट नहटनुहोस्। क्रिपया जनताले देखाएको विश्वासलाई कायम राख्नुस्। निर्मलाको ‘केस’लाई फेरि निष्पक्ष तरिकाले सुचारु गरेर न्याय दिनुहोला।’
केही घण्टाअघि फेसबुकको प्रोफाइल तस्बिर परिवर्तन गरेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालको तस्बिरमा पनि निर्मलाको लागि न्याय भन्दै कमेन्ट गरिएको छ। कांग्रेसका नेता गगन थापा, शेरबहादुर देउवा, नेकपाका अध्यक्ष प्रचण्ड, शिक्षा मन्त्री गिरिराज मणि पोखरेललगायत नेपालका शीर्ष नेताहरुको सामाजिक सञ्जालमा यस्तै कमेन्ट आइरहेका छन्।
अन्तर्राष्ट्रिय संस्था संयुक्त राज्य (युएन)अन्तर्गतको एक संस्था युएन वुमनको फेसबुक पेजमा पनि निर्मलाका लागि न्याय भन्दै कमेन्ट भइरहेको छ।
त्यस्तै, नेपालका ठूला सञ्चार माध्यमहरुको फेसबुक पेजमा पनि निर्मलाका लागि न्याय भन्दै कमेन्टहरु भइरहेका छन्। कान्तिपुर प्रकाशनको पत्रिका कान्तिपुर, नयाँ पत्रिका, बिबिसि नेपाली लगायतका फेसबुक पेजमा निर्मलाका लागि न्याय भन्दै ह्यासट्याग र तस्बिर प्रयोग गरेर कमेन्ट गरिएको छ।
कमेन्ट गर्ने प्रयोगकर्ताहरुले दुई वर्ष बितिसक्दा पनि यो विषयमा सरकारले कुनै खुलासा नगरेको र उपयुक्त अनुसन्धान नभएको बताएका छन्। उनीहरुले निपक्ष छानबिन गरेर दोषीलाई सार्वजनिक गरिनुपर्ने माग राखेका छन्।
अर्कातिर, नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको फेसबुकमा पनि निजगढ विमानस्थललाई लिएर कमेन्ट गरिएका छन् निजगढ विमानस्थलको निर्माण रोक्नुपर्ने भन्दै फेसबुक प्रयोगकर्ताहरुले उनको पेजमा लगातार कमेन्ट गरिरहेका छन्।
फेसबुक प्रयोगकर्ता चक्र रावलले भट्टराईको तस्बिरमा कमेन्ट गर्दै लेखेका छन्, ‘सायद, बेलैमा एयरपोर्टमा सावधानी अपनाएको भए नेपालमा कोरोना भित्रिने नै थिएन होला मन्त्रीज्यु।’ त्यस्तै, अर्की प्रयोगकर्ता तनुजा पाण्डेले पनि भट्टराईले लेखेकी छन्, ‘विपत्ति आउँदैछ भन्ने कुरा थाहा पाएर पनि स्थानीयहरुको उद्धार नगर्नु एउटा नियतबस हत्या हो।’