

काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ। उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो।
कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण गरिएको हो। सोक्रममा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको हो। कमिटीले आठ जनाको पिसिआर परीक्षण गरेको थियो। कोरोना देखिएपछि कमिटीको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको श्रेष्ठले जानकारी दिए।
कर्मचारीमा कोरोना देखिएपछि कमिटीका सबै पदाधिकारीको समेत कोरोना परीक्षण गर्न लागिएको बताइएको छ। परीक्षण गरिएका दुई जनाको रिपोर्ट आउन बाँकी छ।
यस्तै दुई कर्मचारीको पुनः परीक्षण गर्नुपर्ने देखिएको कमिटीले जनाएको छ। उनीहरु दुवै कमिटीको कार्यालयमा कार्यरत चौकीदार हुन्। सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकूद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि आफ्नो कार्यालय बन्द गरेको छ। एक फुटबल खेलाडीमा कोरोना पुष्टि भएपछि एन्फाले कार्यालय बन्द गरेको प्रवक्ता किरण राईले बताए।