काठमाडौं- संघीय संसद्का सांसदले अब नेपालको अद्यावधिक गरिएको नक्सासहितको प्रतीक (लोगो) पाउने भएका छन्।
संघीय संसद सचिवालयले आइतबार संघीय संसदका पदाधिकारीहरुलाई प्रतीक हस्तान्तरण गरेको हो।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संघीय संसदका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाललाई प्रतीक हस्तान्तरण गरे।
अब सांसदहरुलाई पनि उक्त प्रतीक उपलब्ध गराइँदैछ।
११ जेठमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।
आजबाट प्रयोगमा आएको संसदको नयाँ प्रतीक चिन्हका डिजाइनर ८७ वर्षीय टेकवीर मुखिया हुन्। उनले यस अघिको लोगोको पनि डिजाइन गरेका थिए। उक्त लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उधोग कार्यालय, ललितपुरले तयार गरेको हो। उक्त लोगो सो कार्यालयमा रहेका कलाकारहरुले करिब डेढ महिना लगाएर हातैले कुँदेर (मेसिनविनै) तयार पारेका हुन्।
सुनको जलपसहितको लोगो
संसद सचिवालयलका अनुसार नयाँ नक्सासहितको प्रतीकमा दुई लाल सुनको जलप र १ तोला चाँदी राखिएको छ। प्रति प्रतीकमा ५ हजार ५ सय २७ रुपैयाँ खर्च गरिएको छ। यसको निर्माण बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले गरेको हो।