काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा बादलबीच सिन्धुपाल्चोकका पहिरो पीडितहरुलाई राहत र पुनःस्थापनाका विषयमा छलफल भएको छ।
आइतबार सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको र एक सयभन्दा बढी घरपरिवार विस्थापित भएकाले उनीहरुलाई पुनःस्थापित गर्ने विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराए।
त्यस अवसरमा उनले ०७१ साउन १७ गते गएको जुरे पहिरोका पीडितका लागि सर्वसाधारणबाट उठेको सहयोग रकम वितरणको लागि निर्णय गर्न भइरहेको ढिलाइबारे चासो राखे।
गृहमन्त्री थापाले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई आर्थिक राहत प्रदान गरिने र विस्थापितको पुनःस्थापनाका लागि छिटोभन्दा छिटो काम थालिने जानकारी दिए। गृहमन्त्री थापाले जुरे पहिरो पीडितका लागि सर्वसाधारणबाट उठेको रकम वितरणसम्बन्धी निर्णयका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
शुक्रबार सिन्धुपाल्चोकको जुुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परेका ३९ जनामध्ये आइतबार साँझसम्म १९ जनाको शव फेला परेको छ।
त्यसअघि गत असार २४ गते राति गएको पहिरोमा परी बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको बुल्कुटे, असार ३१ गते बिहान खसेको पहिरोले भोटेकोशी गाउँपालिकाको फुल्पिङमा ठूलो मानवीय र भौतिक क्षति भएको छ।
आजै सभामुख सापकोटाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग जोखिममा रहेका सिन्धुपाल्चोकका लिदी, नाम्फालगायतका बस्ती स्थानान्तरणको काम थाल्नेबारे छलफल गरेका छन्।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थलगत अध्ययनका लागि भूगर्भविद्सहितको टोली पठाइ विस्थापितको पुनःस्थापना एवं बस्ती स्थानान्तरण सम्बन्धमा प्रतिवेदन तयार गर्ने योजना बनाइसकिएको र छिट्टै प्रभावित क्षेत्रमा पठाइने जानकारी गराएका थिए।