सांसदले लगाउने चुच्चे नक्सासहितको प्रतीक विवादमा-Sutra News

सांसदले लगाउने चुच्चे नक्सासहितको प्रतीक विवादमा

आइतबार, ३२ साउन २०७७

आइतबार, ३२ साउन २०७७

काठमाडौं–संघीय संसद्का सांसदले अब नेपालको अद्यावधिक गरिएको नक्सासहितको प्रतीक (लोगो) पाउने भएका छन्।



संघीय संसद सचिवालयले आइतबार संघीय संसदका पदाधिकारीहरुलाई प्रतीक हस्तान्तरण गरेको हो।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संघीय संसदका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाललाई प्रतीक हस्तान्तरण गरे।

अब सांसदहरुलाई पनि उक्त प्रतीक उपलब्ध गराइँदैछ।

११ जेठमा बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।

तर, प्रतीक सार्वजनिक भएसँगै विवादमा तानिएको छ।

विरोध किन ?
नयाँ अद्यावधिक नक्सासहितको प्रतीकको डिजाइनमा गल्ती भएको भन्दै समाजिक संजालमा विभिन्न टिकाटिप्पणी भएको छ। प्रतीक बनाउँदा कसैले गम्भीर विषयमा लापरबाही गरेको समेत अरोप लगाएका छन् ।

पत्रकार प्रशान्त अर्याल ट्वीटरमा लेख्छन्– सांसदको लोगो पनि जग हँसाई मात्र हुने भो । राम…राम… हरि…हरि…।’

 

अर्का पत्रकार गजेन्द्र बुढाथोकीले ट्वीटरमा नक्सा अनुसारको प्रतीक नमिलको टिप्पणी गरेका छन् । ‘यो लोगोमा नेपालको नक्सा र नमिलेको चुच्चो देखेर ममात्र अन्यथा देख्ने हो किरु मेरो मात्र दिमाग खुराफाति भएको ?,’ उनले लेखेका छन्।

त्यस्तै चिकित्सक रामेशले प्रीतक डिजाइनरलाई पुरस्कार दिनुपर्ने भन्दै व्यंग्य गरेका छन्। ‘मेरी दिदीले उहिले दुई क्लासमा पढ्दा ठ्याक्कै यस्तै नक्सा नाङ्ग्लोमा बनाएर रामनाथ गुरुका हातबाट बाल कलाकारीताको सान्त्वना पुरस्कार पनि पाउनु भएको थियो,’ ट्वीटरमा उनले लेखेका छन्,‘ पछि नाङ्ग्लै हरायो र मात्र, नत्र प्रमाणै देखाइदिन्थेँ।’

पत्रकार अनिल गिरीले ट्वीटरमा यसलाई ‘राष्ट्रिय कुकृत्य’ भनेका छन्। ‘त्यती मेहनत गरेर नयाँ नक्सा जारी गरे, अहिले हेर यो राष्ट्रिय कन्तबिजोग,’ गिरीले लेखेका छन्, ‘यो कृत्य होईन, राष्ट्रिय कुकृत्य नै हो । सांसदहरूको नयाँ लोगो रे ।’

पूर्व अर्थसचिव शान्तराज सुवेदीले फेसवुकमा प्रतीक कुरुप र पत्याउन नसकिने भएको भन्दै त्यसलाई सच्याउन सङ्घीय संसद्का पदाधिकारीहरुको धयानाकर्षण गराएका छन् । ‘सामाजिक सञ्जालमा सङ्घीय संसद्को नयाँ लोगो भाइरल भएको छ,’ सुवेदीले लेखेका छन्, ‘हेर्दा कुरुप र पत्याउन नसकिने छ । यो प्रारम्भिक खाका (नमूना÷सामान्य रफ आकृति) होला भन्ने लागेको थियो होइन रहेछ । यस्तो अशुद्ध र भर्खर चित्र कोर्न सिक्दै गरेका साना नानीबाबु हरूले बनाएको जस्तो लोगो बनाएर सङ्घीय संसद् र मुलुक कै दुर्दशा नदेखाऔं । चुच्चे नक्सासहितको आकर्षक र कलात्मक लोगो बनाऔं । सङ्घीय संसद् र जिम्मेवार पदाधिकारीहरूको ध्यान जाओस।’

पत्रकार फणीन्द्र संगमले गम्भीर विषयमा पनि ‘मजाक र हेलचेक्र्याइँ’ गरेको भन्दै आलोचना गरेका छन्। ‘सांसदहरूका लागि चुच्चे नक्सा अंकित नयाँ लोगो तयार भएछ। तर, यस्तो गम्भीर विषयमा पनि कति मजाक, कति हेलचेक्र्याइँ, कति केटाकेटीपन ।
लोगो हेरेर तपाईंलाई के लाग्छ ?’

लेखक केदार शर्माले यस्तो लोगो पार र स्वीकार गर्नेहरुप्रति नै प्रश्न उठाएका छन्। ‘यो लोगो बनाउने, पास गर्ने र यसलाई स्वीकार गर्ने सबै यस्तैका लागि योग्य छन्,’ ट्वीटरमा शर्माले आक्रोस पोखेका छन्, ‘ यी महाहरिपहरूका लागि यसभन्दा बढी के भन्नु र ?’

 

कार्टुनिष्ट रवि मिश्रले सिर्जनशिलता र शिल्प दुवै सकिएको भन्दै आलोचना गरेका छन्।

 

को हुन् ‘डिजाइनर’ ?
आजबाट प्रयोगमा आएको संसदको नयाँ प्रतीक चिन्हका डिजाइनर ८७ वर्षीय टेकवीर मुखिया हुन्। उनले यस अघिको लोगोको पनि डिजाइन गरेका थिए। उक्त लोगो पाटन औद्योगिक क्षेत्रस्थित घरेलु तथा साना उधोग कार्यालय, ललितपुरले तयार गरेको हो। उक्त लोगो सो कार्यालयमा रहेका कलाकारहरुले करिब डेढ महिना लगाएर हातैले कुँदेर (मेसिनविनै) तयार पारेका हुन्।

संसद सचिवालयलका अनुसार नयाँ नक्सासहितको प्रतीकमा दुई लाल सुनको जलप र १ तोला चाँदी राखिएको छ। प्रति प्रतीक निर्माणमा ५ हजार ५ सय २७ रुपैयाँ खर्च गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट