छैनन् नेकपा बैठकको एजेण्डा, महासचिव पौडेल भन्छन्–आजको बैठक नेताहरूबीच ‘वार्म अप’ का लागि-Sutra News

छैनन् नेकपा बैठकको एजेण्डा, महासचिव पौडेल भन्छन्–आजको बैठक नेताहरूबीच ‘वार्म अप’ का लागि

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–सत्तारुढ नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही समयपछि नै सुरु हुँदैछ। विभाजनको डिलमा पुगिसकेको नेकपाभित्रको विवाद समाधान उन्मुख देखिएपछि पार्टी केन्द्रीय सचिवालयको बैठक झण्डै एक महिनापछि सुरु हुन लागेको हो।



पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल (प्रचण्ड) ले विहीबार (३० साउन) मा महासचिव विष्णु पौडेलको संयोजकत्वमा प्रमुख नेताहहरू प्रतिनिधि रहेको ६ सदस्यी कार्यदल गठन गरेसँगै विवाद मत्थर हुन थालेको थियो।

यद्यपी,सचिवालयले गर्नुपर्ने कार्यदल गठनको निर्णय अध्यक्षद्वयले गरेको भन्दै वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन्। तर विभाजनबाट पार्टी जोगिएकाले उनीहरुले आफ्नो असन्तुष्टिलाई सार्वजनिक गरेका छैनन्। त्यसैले, आजको बैठकले महासचिव पौडेलको नेतृत्वमा गठन भएको कार्यदल गठनको निर्णयलाई औपचारिकता दिनेछ।

सो कार्यदललाई पार्टीभित्रको विवाद समाधानको मोडालिटी लगायत सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने लगायतको खाका कोर्ने जिम्मेवारी दिइएको छ। सम्भवतः आजको बैठकमा कार्यदलको शुक्रबार (३१ साउन) को अनौपचारिक बैठकले तयार पारेको सहमतिको खाका पनि पेश गर्ने सम्भावना रहेको बताइएको छ।

पार्टीभित्रको विवाद समाधानउन्मुख भएसँगै सरकारलाई प्रभावकारी बनाउनका लागि मन्त्री मण्डल पुनर्गठन गर्ने सम्बन्धमासमेत नेकपाको शीर्ष नेतृत्वमा छलफल हुँदै आएको छ।

त्यसैले आजको बैठकमा मन्त्री मण्डलमा पठाउने नामका सम्बन्धमासमेत छलफल हुने आँकलन कतिपयले गरेका छन्। तर,नेकपा महासचिव विष्णु पौडेल आजको बैठक ‘वाम अप’ बैठक मात्रै हुने बताउँछन्।‘बैठकका लागि खासै कुनै एजेण्डा तय गरिएका छैनन्’महासचिव पौडेलले भने,‘लामो समयपछि बैठक बस्न लागेकाले यसलाई हामीले ‘वार्म अप’ बैठक भनेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट