२६ जेठ, २०७७।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसदिन पनि कोभिड–१९ सम्बन्धमा दैनिक ‘ब्रिफिङ’लाई जारी राख्यो । तर, अघिल्लो दिनसम्म ब्रिफिङमा देखिने प्रवक्ता डा. विकास देवकोटा त्यसदिनको ब्रिफिङमा थिएनन् । बरु ब्रिफिङमा मन्त्रालयको त्यसदिन नयाँ अनुहार देखिएका थिए । ती नयाँ अनुहार थिए–डा. जागेश्वर गौतम । जो स्वास्थ्य मन्त्रालयका नयाँ प्रवक्ताको जिम्मेवारीमा थिए ।
प्रवक्ताको हैसियतमा ७६ दिनसम्म प्रेस ब्रिफिङ ह्याण्डलिङ गरेका डा. देवकोटालाई स्वास्थ्य मन्त्रालयको गुणस्तर महाशाखामा महानिर्देशकमा सरुवा गरेर प्रवक्ताको जिम्मेवारी मन्त्रालयले डा. गौतमलाई सुम्पेको थियो । डा. देवकोटालाई सरुवा गरेर नयाँ अनुहारलाई प्रवक्ताको जिम्मेवारी दिँदा आलोचनात्मक टिका– टिप्पणी नभएको होइन । ‘कोरोना संक्रमण सम्बन्धी सूचना लुकाउन मन्त्रालयले डा. गौतमलाई अघि सार्यो’ भन्नेसम्मका निर्मम प्रतिकृया पनि सुनिए ।
डा. आफ्नै लागि पनि यो जिम्मेवारी अनौठो र आकस्मिक थियो । उनी नयाँ भूमिकामा थिए । भिडियो क्यामराअगाडि उभिएर कोभिड–१९ जस्तो संवेदनशील विषयबारे दैनिक रुपमा ब्रिफिङ गर्नुुपर्ने । ‘भाषण र अन्तर्वार्ताका बेला त निर्धक्कसँग आफ्ना कुरा राख्न सक्थेँ’ नयाँ भूमिका निर्वाह गर्दाको सुरुवाती अनुुभव उनले सुनाए, ‘तर प्रेस ब्रिफिङमा चाहिँ पहिले लेखेको कुरा लाइन/लाइन पढ्नुपर्ने रहेछ ।’
डा. गौतमलाई सुरुको दिन निकै अप्ठेरो ‘फिल’ भयो । लेखेको संरचना बोल्न सजिलो लागेन । हरेक शब्दमा ख्याल गर्नुपर्ने स्थिति थियो । ‘साँच्चिकै मैले दबाब महसुस गरेँ’ उनले सम्झे, ‘जे लेखेको छ, त्यही बोल्छु भनेर गएको थिएँ । तर, सोचेजस्तो भएन । केही शब्दमा ‘मिस्टेक’ भइहाल्यो । त्यसले गर्दा आलोचना पनि सुन्नुपर्यो ।’
०००
पर्वतको राम्जामा जन्मिए उनी । स्कुले शिक्षा गाउँकै स्कूूलबाट लिए । २०३६ मा प्रथम डिभिजनमा जिल्ला नै ‘टप’ गरेर एसएलसी उत्तीर्ण गरे । तर तत्काल पढ्ने माहोल बनेन । कारण उही, घरको आर्थिक अवस्था मजबुत थिएन । तत्कालका लागि मास्टरी पेसा रोजे । करिब तीन वर्ष उनले स्कुल पढाए । तीन वर्षपछि काठमाडौं आए । अनि महाराजगञ्ज क्याम्पसमा तीन वर्ष मेडिकल साइन्स विषय लिएर पढे ।
किशोरकालमा उनलाई ‘ठूलो नेता’ बन्ने रहर भित्रैदेखि पलाएको थियो । तर, एउटा घटनाले उनको जीवनको लक्ष्य नै बदलिदियो ।
आमा मुटुको बिरामी थिइन् । अस्पताल लैजाँदा जागेश्वरले एकदिन तीतो अनुभव भोगे । डाक्टरको बोली रुखो थियो । नर्सको व्यवहार पनि उस्तै । डाक्टर र नर्सको व्यवहार देखेर उनलाई औधी खल्लो लाग्यो । पुरानो र मैलो कपडा लगाउने गाउँका मानिसका लागि उनीहरुको अनुचित व्यवहार जागेश्वरलाई सह्य थिएन । ‘म पनि डाक्टर बन्नेछु, तर यसरी रुखो बोल्ने छैन,’ डाक्टर र नर्सको विभेदका कारण खिन्न बनेका जागेश्वरले संकल्प गरे, ‘बिरामी र विभेदमा परेका गरिवको सेवा गर्नेछु ।’
२०३९ सालमा उनी काठमाडौं आए । पर्वतको राम्जाबाट काठमाडौँ आउँदा उनको साथमा रहेको महत्वपूर्ण चिज भनेको डाक्टर बन्ने सपना थियो, गरिब र विभेदमा परेका जनताहरुको सेवा गर्ने अठोट थियो । जागेश्वर काठमाडौंमा बसेर पढिरहेका थिए । आमा गाउँमै थिइन् । पढाइ राम्रैसँग चलिरहेको थियो । एकदिन उनको जीवन ठूलो बज्रपात पर्यो । आमाको निधन भएको खबर सुने ।
राजनीतिमा भन्ने गरिन्छ नि– शोकलाई शक्तिमा बदल्ने । एसएलसी दिएपछि नेता बन्ने सपना देखेका, तर आमाको उपचारका लागि अस्पताल जाँदा डाक्टर–नर्सको रुखो व्यवहारपछि जीवनको आफ्नो ‘मोतो’ परिवर्तन गरेका जागेश्वरले पनि आमाको निधनले सिर्जना गरेको ‘शोकलाई शक्तिमा बदल्ने’ कोसिस गरे ।
‘अन्तिम बेला मैले आमाको सेवा गर्न पाइनँ । तर आमाकै लागि मैले डाक्टर बन्ने सपना पूरा गर्नैपर्छ भन्ने लाग्यो,’ डा. गौतम सम्झन्छन्, ‘मलाई आमाको निधनको शोकले कमजोर बनाएन, बरु आफ्नो लक्ष्य भेट्न झन् दृढ र आत्मविश्वासी बनायो ।’
डा गौतम प्राध्यापक पनि हुन्, चिकित्सा शास्त्रका । यस अवधिमा उनले सयौँ विद्यार्थीलाई चिकित्सा शास्त्र पढाएका छन् । यहाँसम्म आइपुुग्न दर्जनौँ गुरुबाट शिक्षा पनि प्राप्त गरेका छन् । तर पनि आफ्नो अहिलेसम्मको यात्राको सबैभन्दा ठूलो गुरु आफ्नी आमालाई मान्छन् ।
भन्छन्, ‘मेरी आमाको प्रेरणा हुन्न थियो भने म यहाँसम्म आइपुुग्न सक्ने थिइनँ ।’
०००
गाउँ र सहरको परिवेश अलग थियो । उनी थिए गाउँका । सहरका अधिकांश विद्यार्थी जुत्ता लगाउँथे, पाइन्ट लगाउँथे । तर जागेश्वरले गाउँको स्कुल पढ्दा न जुत्ता लगाएका थिए, न पाइन्ट । गाउँको परिवेशमा हुर्किएको युवकका लागि काठमाडौँको परिवेश सहज थिएन ।
यद्यपि, मनमा ‘जसरी पनि डाक्टर बन्छु’ भन्ने अठोट थियो । अठोट पूरा गर्न उनी निरन्तर साधनामा लागिरहे । सुरुमा समस्या भए पनि काठमाडौंको वातावरण विस्तारै सहज लाग्दै गयो । उनी प्रथम डिभिजनमा उत्तीर्ण भए । र, शिक्षण अस्पतालमा जागिर पनि पाए । उनी विद्यार्थी राजनीतिमा पनि उत्तिकै सक्रिय थिए । पञ्चायती काल थियो । राजनीतिक सक्रियताका कारण उनी पटक–पटक पुलिस थाना पनि परे । उनले सुुनाए, ‘पञ्चायती व्यवस्थाको विरोधी थिएँ । विभेद र अन्याय सक्दिनँ थिएँ ।’
उनीसँग राजनीतिमा सक्रिय साथीहरुमध्ये कोही नेता छन्, कोही मन्त्री । पर्यटन मन्त्री योगेश भट्टराई, नेकपा नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, युवराज कार्कीहरु राजनीति गर्दाका समलाकालीन हुन् । गणेश तिमल्सिनालाई त उनले ‘दाइ’ भनेर सम्बोधन गर्छन्, जो यतिबेला ‘राष्ट्रिय सभा’ का अध्यक्ष छन् ।
०००
शिक्षण अस्पतालमा कोही कर्मचारी स्थायी थिएनन् । उनी ट्रेड युनियनमा सक्रिय थिए । कर्मचारीलाई स्थायी गर्ने आन्दोलनको नेतृत्व उनैले लिएका थिए । २०४४ मा एकैपटक १ सय ५० जना मान्छेलाई स्थायी गर्न उनी नेतृत्वको आन्दोलन सफल भएको थियो । त्यसैताका उनले एमबिबिएसको तयारी गरे । र, राम्रैसँग उत्तीर्ण पनि भए ।
एमबिबिएस गरेपछि अमेरिका जाने योजनामा थिए उनी । अमेरिका उड्ने धेरै दिन बाँकी थिएनन् । अमेरिका जानुुअघि उनलाई रारा घुम्न जान मन लाग्यो । यो २०५१ तिरको कुरा हो ।
राराको सुन्दर दृष्य अवलोकन गरेर उनी काठमाडौँ फर्कँदै थिए । मुगुमा आइपुग्दा बाटोमा एउटा कारुणिक दृश्य देखे । सुत्केरी हुन नसकेर एउटी महिला छटपटाइरहेकी थिइन् । उनका आफन्तले ती महिलालाई अस्पताल लैजाँदै थिए । अस्पताल निकै टाढा थियो । दुर्भाग्यबस, बाटैमा ती महिलाको निधन भयो । आँखै अगाडि डा. गौतमले यस्तो दृष्य देख्नुपर्यो।
उनी भन्छन्, ‘त्यो देखेपछि मैले अमेरिका जाने योजना त्यागेँ । बरु नेपालमै ‘गाइनोकोलोजी’ पढेर गाउँमा सेवा गर्ने अठोट गरेँ ।’ अमेरिका जान मानिसहरु अहिले पनि मरिहत्ते गर्छन्, त्यो बेला पनि गर्थे । तर, त्यो घटनापछि डा.गौतमले अमेरिका जाने योजना त्यागे । उनी गर्भवती महिलाको उपचार सम्बन्धी विषय ‘गाइनाकोेलोजी’ पढ्ने निष्कर्षमा पुुगे । नेपालबाटै यसै विषयमा ‘एमडी’ को परीक्षा दिए । २०५४ सालमा उनले एमडी सके । आफ्नो विषयमा ‘टप’ गरेकै कारण गिरिजाप्रसाद कोइरालाबाट ‘मेडल’ पनि पाएको सम्झन्छन् उनी ।
२०५२ मा लोकसेवा परीक्षा उतीर्ण गरेर नेपाल सरकारको जागिरे समेत भइसकेका थिए । मेडिकल अफिसरको नियुक्ति थियो उनको । पहिलो पोष्टिङ मन्त्रालय स्वास्थ्य मन्त्रालयमा भएको थियो । तर, मन्त्रालयमा बस्ने उनको चाहना थिएन । उनी दुर्गमका गाउँहरु पुगेर विरामीहरुको सेवा गर्न चाहन्थे । उनले त्यसै अनुसारको पोष्टिङ मागे ।
२०५५ मा उनको सरुवा राजविराज भयो । राजविराजमा केही समय काम गरेपछि उनी भद्रपुर (झापा) सरुवा भए । भद्रपुुरमा एउटा यस्तो घटना भयो, जुन सम्झँदा अहिले पनि उनलाई नमीठो लागिरहन्छ । एकजना महिलालाई आफन्तले अस्पताल ल्याएका थिए । ती महिलालाई सुत्केरी व्यथा लागेको थियो । महिलाको शल्यक्रिया आवश्यक थियो । त्यसअघि बेहोस पार्ने डाक्टरले ‘एनेस्थेसिया’ दिएर बेहोस पार्नुपर्थ्यो ।
तर, एनेस्थेसिया दिने डाक्टर त्यस दिन अस्पतालमा रहेनछन्, विर्तामोड गएका रहेछन् । उनलाई ल्याउन डा. गौतमले गाडी खोज्न थाले । तर, गाडी हाकिमको श्रीमतीलाई लिएर सिलिगुढी (पश्चिम बंगाल, भारत) पुगेको रहेछ । बेहोस पार्ने डाक्टर समयमै बोलाउन सकेनन् । बिरामीको शल्यक्रिया गर्न नसकेपछि बिरामीलाई विराटनगर ‘रिफर’ गर्न बाध्य भए ।
तर, बाटैमा बिरामी महिलाको प्राण गयो । उनी साह्रै खिन्न भए । त्यहाँ काम गर्ने मन मर्यो । फर्केर काठमाडौं आए । यही पीडाका कारण सरकारी जागिर छाड्न पनि खोजे । तर केही साथी र सहकर्मीले नछोड्न सम्झाए । उनको सरुवा चितवन भयो । भरतपुरमा उनले १४ वर्ष बिताए । त्यहाँ रहँदा उनले हजारौँको शल्यक्रिया गरे । हालसम्म आफूले २९ हजार शल्यक्रिया गरेको उनको दाबी छ ।
०००
चितवन बस्दाका केही रोचक घटना छन् । त्यसमध्येको एउटा घटना अझै पनि उनको स्मरणमा छँदैछ । आफूलाई रक्तश्राव भएको भनेर एकजना महिला परीक्षणका लागि आइन् । उनले जे भनेकी थिइन्, त्यो समस्या उनमा थिएन । अर्को दिन उनी आफ्ना श्रीमानलाई लिएर आइपुगिन् ।
श्रीमान् सुनाए, ‘पहिला यिनी अर्कैकी श्रीमती थिइन् । तर, श्रीमानले् घरबाट निकालिदिए । त्यसपछि मैले उनलाई स्वीकार गरेँ । हामीबीच विहे भइसकेको छ । पहिलो श्रीमान्बाट दुई बच्चा जन्मेपछि यिनको परिवार नियोजन भइसकेको रहेछ । यिनी फेरि पनि बच्चा जन्माउन चाहन्छिन् । के गर्ने होला ?’
परिवार नियोजन गरिसकेको महिला, त्यसमाथि बच्चाको चाहना । उनी अप्ठेरोमा परे । महिलाहरु आफ्ना पतिदेवलाई यस्तो उपहार दिन चाहन्छन्, जो आफ्नै कोखमा फक्रेको होस् । पहिलो लोग्नेले छाडेपछि आफूलाई श्रीमतीको रुपमा स्वीकार गरेका दोस्रो पतिलाई त्यस्तै उपहार दिन चाहन्थिन् ती महिला । बुढेशकालको सहाराका लागि पनि बच्चा जन्माउने चाहना हुने भइहाल्यो ।
‘के गर्ने?’ जागेश्वरलाई समस्या पर्यो। त्यो दम्पतिको चाहनालाई उनले चुनौतिको रुपमा लिए । ती महिलाको परिवार नियोजन उल्ट्याउने निर्णय गरे ।
शल्यक्रिया उनी आफैंले गरे, जुन सफल पनि भयो । सन्तानसहित त्यो दम्पत्तिको सुखी जीवन देख्दा उनलाई निकै सन्तोष लाग्छ । अर्की एउटी महिला पनि अस्पताल आएकी थिइन् । उनको १६ पटक गर्भपतन भइसकेको रहेछ । अस्पताल आउँदा उनको अनुहारमा दिक्दारीको भाव प्रस्ट देखिन्थ्यो । १६ पटकसम्म बच्चा नरहेपछि मन बुझाउन कठिन थियो ।
सौभाग्य, १७ औं पटकको ‘डेलिभरि’ सफल भयो । शल्यक्रियामार्फत् महिलाले स्वस्थ बच्चालाई जन्म दिइन् । शल्यक्रिया गर्ने चिकित्सक उनै थिए, डा जागेश्वर । ‘पाठेघरको मुखमा टाँका लगाएर बच्चा निकालें’ जागेश्वर भन्छन्, ‘त्यो बच्चा अहिले २३ वर्षको भइसकेको छ ।’
चितवनमा कार्यरत रहँदा उनी निजी अस्पतालमा पनि बिरामी जाँच्थे । चितवनको प्राइभेट क्लिनिकमा बेहोस अवस्थामा रहेकी एक महिलालाई आफन्तले अस्पताल ल्याइपुर्याए । डा. गौतमले नाडी छामे । न नाडीमा कुनै चलमल थियो, न मुुटुमा धुकधुकी ।
ती महिलाको बिहे भएको तीन महिना भएको रहेछ । गर्भ बसेको रहेछ । १६ वर्षकी मात्र रहिछन् । डेढ महिनाअगाडि अन्तिम महिनावारी भएको रहेछ । डा. गौतमलाई थाहा भइहाल्यो, महिलाको नलीमा बच्चा बसेर, नली फुटेर पेटभित्र रगत बगेको हो । ती महिलालाई आफ्नै गाडीमा राखेर भरतपुर अस्पताल लिएर गए । सिधै ‘अपरेशन थिएटर’ मा पुगे । बेहोस पार्ने डाक्टरलाई समस्या बताए । ती डाक्टरले निराशजन्य भावमा भने, ‘यी महिला बाँच्दिनन् । म एनेस्थेसिया दिन्नँ ।’
महिलाका साथमा उनका भिनाजु पनि आएका थिए । गौतमले बिरामी महिलाका भिनाजुलाई भने, ‘बेहोस पार्ने डाक्टरले नानी बाँच्दिनन् भनेका छन् । एनेस्थिेसिया दिँदा बाँच्ने चान्स सयमा एक प्रतिसत मात्र होला । के गरौँ ?’ भिनाजुले भने, ‘हजारमा एकमात्र चान्स भए पनि गरौं ।’
उनले अपरेसन कोठामा लिएर गए । बेहोस पार्ने डाक्टरले बेहोस पारे । नली फुटेको रहेछ । त्यहाँबाट दुई लिटर पानी निस्कियो । अरु रगत दिए । अर्का डाक्टरले पनि ‘विरामी उठ्दैन’ भनेका थिए । तर, केही समयपछि बिरामी महिला जुरुक्कै उठिन् । आफूलाई जीवन दिएका डा. गौतमको गुन ती महिलाले बिर्सन सकेकी रहिनछन् । र त, एक पटक खोज्दै–खोज्दै जागेश्वरकहाँ पुगिछन् । त्यो क्षण सम्झँदा उनलाई गर्व लाग्छ ।
यस्ता दर्जनौँ घटना छन् उनीसँग, जुन अरुले आशा मारे पनि उनले सम्भव बनाएर देखाए । यसकारण उनी चितवनमा लोकप्रिय डाक्टरमा गनिन्थे । १४ वर्ष चितवनमा काम गरेपछि जागेश्वरको सरुवा सुर्खेतमा भयो । सुर्खेतमा उनले एक वर्ष सेवा गरे । सुर्खेतबाट उनको सरुवा भयो, गोरखा । जहाँ उनले ५ सय वटा शल्यक्रिया गरे ।
त्यसपछि उनको बढुवा भयो । बढुवासँगै ७ वर्षअघि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिए । एक वर्ष मन्त्रालयमा काम गरेपछि थापाथलीस्थित प्रसूति गृहको निर्देशक बने ।
जीवनका दुई दशक बाहिरी जिल्लामा बिताए जागेश्वरले । यस बीचमा मेचीदेखि महाकालीसम्मका पहाडी जिल्ला पुगेर महिलाहरुको आङ खस्ने समस्याको अपरेशन गर्थे । ‘विदा भयो भने अरुहरु घुम्न भनेर थाइल्याण्ड, गोआ (भारत) जान्थे’ उनी भन्छन्, ‘म जुम्लातिर जान्थें, त्यहाँ १ दिन बसेर अपरेशन गरेर फर्कन्थें ।’
०००
कोभिड–१९ को संक्रमणबारे सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयले दैनिक आयोजना गर्ने ‘प्रेस ब्रिफिङ’ मा अन्य पत्रकार सम्मेलनमा जस्तो पत्रकार उपस्थित हुँदैनन् । कोभिड–१९ को महामारीका कारण ‘फेसबुक लाइभ’ मार्फत् पत्रकारहरुको उपस्थिति विना नै ब्रिफिङ हुुने गरेको छ ।
भनिन्छ, गल्ती नै मानिसको सबैभन्दा ठूलो पाठशाला हो । पहिलो दिनको अनुुभव उनका लागि पनि त्यस्तै भयो । पहिलो दिनको गल्तीले नयाँ कुरा सिकायो उनलाई । उनले ब्रिफिङ कक्षको ‘सेटअप’ परिवर्तन गरे । आफ्नो प्रकृतिसँग मिल्दोजुल्दो बनाए ।
‘ब्रिफिङको क्रममा बोल्दा त्यति खुसी नदेखिएको’ भन्ने आलोचना पनि सुन्ने गरेका छन् डा. गौतमले ।
हुन पनि हो, प्रेस ब्रिफिङ ह्याण्डलिङ गर्ने मान्छेको मुहार हँसिलो हुनुपर्छ । अनि मात्र उसको कुराप्रति स्रोता वा दर्शकको ध्यानाकर्षण हुुनसक्छ । उनलाई पनि लाग्छ, अरु बेला उनी जति हँसिलो देखिन्छन्, ‘प्रेस ब्रिफिङ’का बेला अनुहार हँसिलो भइँदिदैन । हँसिलो हुने प्रयास त गर्छन् । तर पनि सक्दैनन् ।
मैले सोधेँ, ‘किन यस्तो ?’
‘आजकल दिनहुँजस्तो कोभिड–१९ संक्रमणका कारण नेपाली बा–आमा, दाजुुभाइ–दिदीबहिनीको निधन भएको खबर सुनाउनु परिरहेको छ,’ उनी विवशता सुुनाउँछन्, ‘प्रवक्ताको हैसियतमा यस्ता सूचना दिनु मेरो कर्तव्य हो । तर, मानिस मरिरहेको कुरा सुनाउँदा म कसरी खुसी हुन सक्छु ?’
एउटा चिकित्सकको धर्म नै मानिसको जीवन बचाउनु हो । तर, आजकल कोभिड–१९ संक्रमण बढ्दो छ । संक्रमण भएका विमारीहरुको दिनदिनै जस्तो निधन हुने गरेको छ । र, मान्छेको जीवन बचाउनुपर्ने पेशाका डा. गौतमले दिनदिनै कोभिड–१९ को संक्रमण भएका विरामीहरुको मृत्युको विवरण दिनु परिरहेको छ ।
‘आफ्नो पेशागत धर्म र दायित्वका कारण मान्छेको जीवन बचाउन कैयौं रात सुतेको छैन, सयौँ छाक खाना खाएको छैन’ उनी थप्छन्, ‘मान्छे बचाउने ‘प्रोफेसन’ मा हिँडेको । तर, ब्रिफिङमा जानुुअघि मेरो हातमा मृत्युभएका कोभिड–१९ का संक्रमितहरुको विवरण हुन्छ ।
यस्तो विवरण बोकेको मान्छे ब्रिफिङको बेला कसरी हाँस्न सक्छ र ?’