ओली–प्रचण्डको प्रस्तावमा ईश्वर पोखरेलको किन आयो फरक मत ?-Sutra News

ओली–प्रचण्डको प्रस्तावमा ईश्वर पोखरेलको किन आयो फरक मत ?

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं–नेकपाभित्रको विवाद समाधानका लागि विहीबार (३० साउन) गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन आवस्यक रहे नरहेको विषयमा केन्द्रीय सचिवालयको बैठकमा नेताहरूबीच बहस भएको छ।



नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल (प्रचण्ड)ले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको कार्यदललाई बैठकबाट अनुमोदन गर्ने नगर्ने भन्ने विषयमा सोमबारको केन्द्रीय सचिवालय बैठकमा नेताहरूबीच बहस भएको हो।

महासचिव पौडेलको संयोजकत्वमा गठित कार्यदलमा प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल,स्थायी समिति सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल र जनार्दन शर्मा सदस्यको रूपमा रहेका छन्।

बैठकको सुरुवात गर्दै अध्यक्षद्वय ओली–प्रचण्डले महासचिव पौडेलको अध्यक्षतामा कार्यदल गठन भएको र त्यसै विषयमा छलफलका लागि बैठक बोलाइएको जानकारी गराएका थिए। साथै,उनीहरुले कार्यदल गठनको निर्णयलाई अनुमोदन गर्न आग्रह गरेका थिए।

तर,उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्षद्वयले विवाद समाधानका लागि सहयोगीका रुपमा कार्यदल गठन गरेकाले सचिवालय बैठकबाट अनुमोदन आवस्यक नरहेको बताए।

माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने पार्टीको विवाद समाधान उन्मुख भएकाले सचिवालय बैठक बसेर कार्यदल गठन गरिएको भए अझ राम्रो हुने बताउँदै अनुमोदन गरेर जाँदा उपयुक्त हुने धारणा राखेका थिए ।

विहीबार कार्यदल गठन भएको भोलिपल्ट शुक्रबार विहान तीनै नेता खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवास पुगेर विना बैठक कार्यदल गठनको निर्णय गरिएकोमा असन्तुष्टि जाहेर गरेका थिए। उनीहरूको असन्तुष्टिको सम्बोधन गर्न अध्यक्षद्वयले आजको बैठक आव्हान गरेका थिए।

बैठकमा बोल्ने सबै नेताहरुले विभाजन उन्मुख अवस्थाबाट पार्टी जोगिएको बताउँदै एकताको वातावरण बनाउँदै जानुपर्नेमा जोड दिएका थिए। बैठकले त्यसपछि कार्यदल गठन गर्ने निर्णयलाई अनुमोदन गरेका थियो।

‘बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए, ‘राष्ट्रका सामु देखा परेका चुनौतीलाई पुरा गर्न पार्टी र सरकार सक्षम हुने गरी गर्नुपर्ने कामहरूका बारेमा सुझाव दिन सफल हुनेछ भन्ने आशाका साथ कार्यदललाई बैठकले शुभकामना दिएको छ।’

प्रवक्ता श्रेष्ठका अनुसार, बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले गरेको पहललाई पनि सकरात्मक रूपमा लिँदै स्वागत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट