काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला स्थापना भएको नेपाल-भारत निरीक्षण संयन्त्रको बैठक काठमाडौंमा सकिएको छ।
जारी कोभिड–१९ संक्रमणको त्रासलाई मध्यनजर गर्दै ‘भिडियो कन्फ्रेन्सिङ’मार्फत् आयोजना गरिएको एक दिने बैठकलाई परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि भारतीय राजदूत बिनय मोहन क्वात्राले संयुक्तरुपमा अध्यक्षता गरे।
सन् २०१६ मा मोदी नेपाल भ्रमणमा आएका बेला स्थापना भएको संयन्त्रको यो आठौं बैठक हो। सीमा विवादका विषयलाई लिएर दुई देशबीच सम्बन्ध त्यति न्यानो नरहेका बेला बसेको संयन्त्रको बैठकले भारतको लगानीमा नेपालमा सञ्चालित विभिन्न आयोजनाको प्रगति र दुर्गतिबारे समीक्षा गरेको छ।
के भयो बैठकमा ?
बैठकका विषयमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्।
परराष्ट्र मन्त्रालयले बैठकका क्रममा नेपाल-भारत द्विपक्षीय सहकार्यअन्तर्गत सञ्चालित तराईका सडक, अन्तर देशीय रेल, अरुण तेस्रो, पेट्रोलियम पाइपलाइन, पञ्चेश्वर बहुउद्देशीय आयोजना, भूकम्पपछिको पुनर्निर्माण, सिंचाई, ऊर्जा त ट्रान्समिसन लाइन, नेपाल एकेडेमीको पुनर्निर्माण, संयुक्त जाँच केन्द्र, रामायण सर्किट, महाकाली नदी, कृर्षि र सांस्कृतिक सम्पदासँग सम्बन्धित आयोजनाको कार्यन्वयनको अवस्थाबारे छलफल भएको बताएको छ।
भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा पछिल्लो एक वर्षमा सम्पन्न भएका परियोजनाको प्रगतिबारे कुरा भएको उल्लेख छ। यो एक वर्षमा मोतीहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन, बिराटनगर संयुक्त जाँच चौकीको निर्माण सम्पन्न भएर उद्घाटन भएको छ।
त्यस्तै कोभिड–१९ संक्रमणबारे भारतले पुर्याएको सहयोगबारे नेपालले प्रशंसा गरेको दूतावासले उल्लेख गरेको छ। गोर्खा र नुवाकोटमा भूकम्पले क्षतिग्रस्त भएका ४६ हजार ३०१ घरको पुनर्निर्माण गरेको पनि दूतावासको भनाइ छ।