‘ब्रिफिङ’ : ‘कुलडाउन’ हुँदै नेकपा विवाद-Sutra News

‘ब्रिफिङ’ : ‘कुलडाउन’ हुँदै नेकपा विवाद

सोमबार, १ भाद्र २०७७

सोमबार, १ भाद्र २०७७

काठमाडौं– नेकपाभित्र केही महिनायता उत्कर्षमा पुुगेको विवाद साउन तेस्रो सातासम्म टुङ्गिने कुनै छाँटकाँट थिएन । बरु, विवाद र आपसी आरोप–प्रत्यारोप बढ्दै जाँदा धेरैलाई लागेको थियो, यो विवादको ‘दि इन्ड’ भनेको पार्टी विभाजन नै हो । तर, पछिल्ला पाँच दिनयताका घटनाक्रमले नेकपाभित्रको विवाद मत्थर हुने संकेत देखाइरहका छन् ।



२८ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा टेलिभिजन कार्यक्रममा दावी गरेका थिए कि, ‘पार्टी फुट्दैन, बरु त्यसको नयाँ सिनारियो ५ दिनभित्रै देख्नु हुनेछ ।’

ओलीले गर्ने दावी आजकल नेपालीहरुले हत्पति विश्वास गर्न छाडेका छन् । तर, उनले पार्टी एकताका सम्बन्धमा गरेको यो पछिल्लो दावी पत्याउने परिस्थिति बन्यो । उनले त्यस्तो दावी गरेको भोलिपल्ट विहानै एकताको संकेत देखिइहाल्यो ।

जस्तो: ९ दिन लामो संवादहीनता तोड्दै अर्का अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न बालुवाटार पुगे, २९ साउनमा । त्यहाँ दुई नेताबीच साढे तीन घण्टा सम्वाद भयो ।

ओलीसँगको संवाद लगत्तै प्रचण्ड बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठका साथ प्रदेश– ५ का आफू निकट केन्द्रीय सदस्यलाई विकसित परिस्थितिबारे ‘ब्रिफिङ’ का लागि थापागाउँको एउटा कलेजमा पुगे । त्यहाँ उनले सुनाए, ‘ओली पहिलो भन्दा गलेका छन् । एकताको संकेत देखिएको छ ।’

बदलिएको परिदृश्य
३० साउनमा अध्यक्षद्वय ओली–प्रचण्ड पार्टीभित्रको विवाद समाधानको सुझाव दिन महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाउन सहमत भए । ओली, प्रचण्ड र नेता नेपाल समूहबाट दुई–दुई नेता रहेको कार्यदलले एकताको खाका कोर्न थालिसकेको छ ।

सोमबार (१ भदौ) बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले सफलताको शुभकामनासहित कार्यदल बनाउने दुई नेताको निर्णयलाई अनुमोदन गरिसकेको छ । यसअघिका बैठकमा भने नेताहरुबीच तातोपीरो दृष्य देखिने गरेको थियो । एकले अर्कोलाई पार्टी फोड्न खोजेको आरोप लगाउने गरेका थिए ।

तर, सोमबार त्यस्तो भएन । अध्यक्षद्वयले पार्टी एकताका लागि प्रयास गरेको भन्दै सबैजसो नेताहरुले ओली र प्रचण्डको प्रसंशा गरे । पार्टीमा फेरि एकताको वातावरण बनेकोमा खुसी प्रकट गरे ।

यो कुरामा विवाद छैन कि, प्रधानमन्त्री ओली एकलकाँटे ढंगले चलिरहेका थिए । उनमा ‘राज्य नै म हुँ’ भन्ने अहं थियो । यस्तो अहं पलाएपनि न संसदमा उनी एक्लैको बहुुमत थियो, न त पार्टीमा नै । संसदमा नेकपाको झण्डै दुुई तिहाई बहुमत भएपनि पार्टी कमिटीहरुमा उनको बहुुमत एक तिहाई मात्र थियो, दुुई तिहाई बहुमतमा प्रचण्ड–नेपाल समूह थियो । प्रतिनिधि सभामा ओलीको शक्ति कति हो, परीक्षण हुन पाएको थिएन ।

ओली ‘पावर सेयरिङ’ का लागि सहमत भइसकेपछि नै हो, त्यसको मोडालिटी तय गर्न पौडेल नेतृत्वमा कार्यदल बनेको पनि । बाहिर जे भनिएपनि पौडेल कार्यदलले नेकपाभित्र शक्ति बाँडफाँटको ‘मोडालिटी’ तयार गर्नेछ ।

खासमा पार्टीभित्रको शक्ति सन्तुलनका आधारमा प्रचण्ड–माधव नेपालहरुले ‘पावर सेयरिङ’ खोजेका थिए, जसका लागि ओली लामो समय राजी भएनन् । तर, जब अघिल्लो हप्ता उनले ‘पावर सेयरिङ’ विना पदमा टिक्न गाह्रो हुन्छ भन्ने बुुझे, अनि बल्ल यसका लागि सहमत भए ।

ओली ‘पावर सेयरिङ’ का लागि सहमत भइसकेपछि नै हो, त्यसको मोडालिटी तय गर्न पौडेल नेतृत्वमा कार्यदल बनेको पनि । बाहिर जे भनिएपनि पौडेल कार्यदलले नेकपाभित्र शक्ति बाँडफाँटको ‘मोडालिटी’ तयार गर्नेछ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई गरेको ब्रिफिङबाट पनि यो कुराको अनुमान लगाउन सकिन्छ । जस्तो कि, उनले भनेका थिए, ‘कार्यदलले आज राष्ट्र सामु देखा परेका चुनौतिलाई पुरा गर्न पार्टी र सरकार सक्षम हुने गरी गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन सफल हुने छ भन्ने आशाकासाथ कार्यदलाई बैठकले शुभकामना दिएको छ ।’

नेकपा स्रोतहरुको दावी के छ भने, पौडेल कार्यदलले सचिवालयमा रहेका नेताहरुको जिम्मेवारीलाई प्रष्ट पार्ने काम त गर्नेछ नै, त्यसबाहेक मन्त्रिपरिषद हेरफेरका विषयमा पनि गृहकार्य गर्नेछ । त्यसो हुँदा थपिने मन्त्रीहरु प्रचण्ड र नेपाल खेमाबाट धेरै हुनसक्छन् । त्यसैगरी रिक्त १० संवैधानिक आयोग र १२ देशमा राजदूत नियुक्ति गरिँदा पनि पार्टीभित्रको शक्ति सन्तुुलनका आधारमा हुनेछ ।

नेकपा सचिवालय बैठक लगत्तै ओलीले संवैधानिक अंगमा नियुक्तिका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् । यसले थप के पनि देखाउँछ भने, ओली पार्टीभित्र मात्र होइन, प्रमुख प्रतिपक्षसँग पनि सहमति र ‘पावर सेयरिङ’ का आधारमा अघि बढ्न तयार देखिएका छन् ।

बदलावको कारण
एक अर्काप्रति निकै तिक्तता पोखिरहेका ओली–प्रचण्ड कसरी मिल्ने विन्दुमा आइपुगे होलान् ? नाम उल्लेख गर्न नचाहने नेकपाका एक नेता भन्छन्, ‘ओलीले प्रचण्डसँग र प्रचण्डहरुले ओलीसँग नमिली अगाडि बढ्न सकिदैन भन्ने ‘रिलाइज’ गर्नु नै अहिले देखिएको एकताको मुख्य कारण हो । अर्थात् एकता उनीहरुको बाध्यता हो ।

नेकपाभित्रको शक्ति संघर्ष द्विपक्षीय मात्रै भइदिएको भए एकले अर्काेलाई सिध्याउने स्थितिमा पुुग्थे होलान् । तर, यो संघर्षमा मूूलतः तीन पक्ष थिए, ओलीले नेतृत्व गरेको समूह, प्रचण्डले नेतृत्व गरेको समूूह । र, माधव नेपालले नेतृत्व गरेको समूह ।

तीन पक्षमध्ये एक पक्ष जतातिर ढल्किन्छ, त्यसैको पल्ला भारी हुन्छ । तीन पक्षमध्ये अपेक्षाकृत कमजोर मानिने माधव नेपाल पक्ष प्रचण्ड पक्षसँग निकट हुन पुुग्यो, यसले गर्दा पनि ओली गल्न बाध्य भए ।

अहिले प्रचण्डलाई साथ दिइरहेका नेपालले भोलि ओलीलाई साथ दिँदैनन् भन्ने कुनै ग्यारेन्टी थिएन । ‘जबजको रक्षाका लागि पूर्व एमालेहरु एकजुट हुुनुपर्छ’ भन्ने अभियान ओली पक्षले चलाएकै थियो । त्यसैले, नेपाललाई ओलीको क्याम्पमा जान नदिन प्रचण्डका लागि पनि सहमतिमा पुुग्नै पर्ने बाध्यता थियो ।

यसबीचमा ओलीले बीचमा सरकार र पार्टी सञ्चालनमा प्रचण्ड, नेपाल, खनाल लगायतका नेतालाई बेवास्ता गरेर अगाडि बढ्ने प्रयत्न धेरै पटक गरे । तर, उनलाई कतै पनि सहज भएन । माथि भनिएझैँ नेकपाभित्रको शक्ति सन्तुलनले ओलीले चाहे जसरी एकलौटी रुपमा अगाडि बढ्ने अनुमति दिदैनथ्यो ।

ओलीप्रतिको असन्तुष्टिका कारण एकै ठाउँमा आइपुगेका भएपनि प्रचण्ड, नेपाल र खनालहरुसँग पार्टीभित्र अंकगणितीय बहुमत त थियो । तर, गत निर्वाचनमा जनतालाई दिएको स्थिरताको बचन र शक्तिको निर्णायक ठाउँमा भएका कारण ओलीलाई अपदस्त गर्न कठिन थियो । ओलीलाई हटाउँदा पार्टी विभाजन हुने जोखिम थियो ।

त्यसमाथि उपाध्यक्ष वामदेव गौतमले अन्तिममा समयमा पार्टीलाई फुटबाट जोगाउने भन्दै ‘युर्टन’ लिइदिए, जसले गर्दा प्रचण्ड–नेपाल समूह मध्यमार्गी बाटो रोज्न बाध्य भयो । कडा शैलीमा ओलीको राजीनामा माग गरिरहेका गौतमले आफू गुुट निरपेक्ष रहने र पार्टी विभाजन हुन नदिन ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने अडान लिएपछि प्रचण्ड–नेपालपनि ओलीका बारेमा अन्यथा निर्णय गर्नबाट पछि हटे । र, अहिलेको परिस्थिति बन्यो ।

जे होस्, तत्कालका लागि भए पनि नेकपाको विवाद मत्थर भएको छ । नेताहरु समाधान निकाल्ने प्रयासमा जुटिसकेका छन् । पछिल्लो माहोल हेर्दा लाग्छ, अब नेकपाभित्रको समस्याले ढिलो–चाँडो निकास पाउनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट