काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने एक से एक दावेदारहरु देखिएका बेला महिला नेतृहरू पनि नेतृत्वका लागि आकांक्षी देखिएका छन्। तर उनीहरुले सार्वजनिकरूपमै उम्मेदवारी घोषणा गरेर प्रचार–प्रसार भने गरेका छैनन्।
महिला नेतृहरुले पार्टी सभापतिका लागि नभई पदाधिकारीमा आकांक्षा देखाएका हुन्। कांग्रेसमा सक्रिय राजनीति गरेपनि पार्टी नेतृत्वमा पुगेका महिलाहरू कमैमात्र छन्। अहिले कांग्रेसमा पदाधिकारीको रुपमा सीतादेवी यादव कोषाध्यक्ष छिन्।
२०१५ को आम निर्वाचनमा दुई तिहाई बहुमत ल्याएको नेपाली कांग्रेसले द्वारिकादेवी ठकुरानीलाई सहायकमन्त्री बनाएको थियो। बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि वरिष्ठ नेत्री शैलजा आचार्य पार्टीको उपसभापति भइन्। उनी उपप्रधानमन्त्रीसमेत भइन्।
०४६ को राजनीतिक परिवर्तनपछि शैलजा आचार्यका अलावा सुजाता कोइराला पनि उपप्रधानमन्त्री भइन्। लीला कोइराला, मीना पाण्डेलगायतका नेतृहरुले पनि मन्त्री मण्डलमा स्थान पाए। तर आचार्य र यादवबाहेकले पदाधिकारीमा स्थान पाउन सकेनन्।
तर पछिल्लो समय पार्टीले महिला सहभागितालाई खुम्च्याएको गुनासो महिला नेतृहरुको छ। त्यसैले, उनीहरु पार्टीको निर्णायक तहमा महिलाहरुको सम्मानजनक प्रतिनिधित्व हुनुपर्ने भन्दै पदाधिकारीमा आकांक्षी देखिएका छन्।
कांग्रेसमा पदाधिकारी भन्नाले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षलाई बुझिन्छ। दुईपटक केन्द्रीय सदस्यमा निर्वाचित पुष्पा भुषाललाई यसपटक केन्द्रीय सदस्यमा नै सीमित हुने इच्छा छैन। ‘दुईपटक केन्द्रीय सदस्यमा निर्वाचित भइसकेकी व्यक्ति हुँ,’ भुषाल भन्छिन्, ‘अब मेरो दाबी भनेको पदाधिकारीका लागि हो।’ पदाधिकारीमध्ये कुन पदमा प्रतिस्पर्धा गर्ने हो, भने उनले खुलाएकी छैनन्।
कांग्रेस नेतृ डा. डिला संग्रौला पनि १४औँ महाधिवेशनमा आफूले सहमहामन्त्रीको आकांक्षा राखेको बताउँछिन्। ‘यस पटक म केन्द्रीय सदस्यमा सीमित हुन्न, पदाधिकारीमा नै बन्ने हो,’ उनले भनिन्, ‘पार्टी सहमहामन्त्री बन्ने आकांक्षा छ।’
नेपाली कांग्रेसको विधानअनुसार पदाधिकारीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्छ। तर, कोषाध्यक्षमा मात्र महिलाको उपस्थिति छ। त्यसैले, विधानअनुसार पनि आफूहरु पदाधिकारीमा प्रतिस्पर्धा गर्ने योजना बनाएको उनीहरु बताउँछन्।
डा. संग्रौलाको भनाईमा, गुटको आडमा राजनीति गरिरहे महिलाहरु आरक्षण कोटामा मात्रै महिला नेतृहरू सीमित हुने स्थिति छ। संग्रौला भन्छिन्, ‘महिला नेतृबीच एकता नहुने हो भने पार्टीले आरक्षण कोटामै सीमित राख्छ। एकता गर्यौं भने पदाधिकारीको पनि जिम्मेवारी पाउन सकिन्छ।’
१३औँ महाधिवेशनमा कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादवले यसपटक कुनै पदमा आकांक्षा राखेकी छैनन्। कुनै पनि पदका लागि उम्मेदवारी दिने योजना नरहेको बताउँदै यादवले आफ्नो चाहना पार्टी राम्रो होस् भन्नेमात्रै रहेको उल्लेख गरिन्।
कोरोना भाइरसका कारण कांग्रेसको महाधिवेशन (७-१० फागुन २०७७) तोकिएकै समयमा होला भन्ने ढुक्क छैनन् केन्द्रीय सदस्य चित्रलेखा यादव। तर भइहाले महामन्त्री हुने उनको आकांक्षा छ। ‘महामन्त्रीभन्दा माथि पनि पद छन्। त्यता पनि जान सकिन्छ,’ उनले भनिन्, ‘महिला सभापति हुनुहुँदैन भन्ने पनि छैन।’
केन्द्रीय सदस्य पार्वती डिसी चौधरी पनि अवसर पाए नेतृत्व लिन तयार भएको बताउँछिन्। तर त्यसको निर्भर भने आफू निकट गुटको नेतृत्वमा भर पर्ने उनको भनाइ छ। ‘मुख्य गरी टिम (गुट) भित्रबाट को उठ्दैछ, त्यसमा भर पर्छ,’ उनले भनिन्, ‘टिमले भनेपछि लड्ने नि, किन नलड्ने?’
विधानले टोल समितिदेखि केन्द्रीय समितिसम्म ३३ प्रतिशत महिला सहभागिता हुनैपर्ने व्यवस्था गरेपनि विधान कार्यान्वन हुन नसक्दा महिलाको उपस्थिति कमजोर भएको केन्द्रीय सदस्य कमला पन्त बताउँछिन्। पार्टी उपसभापति महिला हुनैपर्ने वैधानिक व्यवस्था हुनुपर्ने पन्तको भनाइ छ। उनले भनिन्, ‘कम्तिमा पार्टी उपसभापति महिला हुनैपर्ने वैधानिक व्यवस्था हुनुपर्छ।’
दुईपटक केन्द्रीय सदस्यमा निर्वाचिन पन्त पनि १४औँ महाधिवेशनमा पदाधिकारीको आकांक्षा देखाएकी छन्। उनी भन्छिन्, ‘केन्द्रीय सदस्य दुईपटक जितिसकेँ। अब पनि केन्द्रीय सदस्य नै लड्नुको के अर्थ होला र? पदाधिकारीका लागि प्रयास गर्छु।’