‘दुःख पर्दा आफन्त चिनिन्छ भन्थे, हो रहेछ’ (भिडियो कथा)-Sutra News

‘दुःख पर्दा आफन्त चिनिन्छ भन्थे, हो रहेछ’ (भिडियो कथा)

मंगलबार, २ भाद्र २०७७

मंगलबार, २ भाद्र २०७७

काठमाडौं- कोराना महामारीका कारण फिल्म क्षेत्रका सम्पूर्ण काम ठप्प भएपछि चार महिनायता कला निर्देशक दिनेश लामा ‘गैँडा’को आम्दानीको बाटो पनि ठप्प भएको छ।



काठमाडौं, मुलपानीमा श्रीमती र छोरीसँगै बस्दै आएका उनलाई यतिबेला घर चलाउने चिन्ताले सताएको छ। लकडाउन भएको पहिलो महिना त उनले जसोतसो घर चलाए। तर, त्यसपछि गाह्रो भइरहेको छ।

‘अलिकति भएको रकम पनि खानामै सकियो,’ उनी पीडा पोख्छन्, ‘घरझगडा त्यतिबेला हुँदोरहेछ जब गोजीमा सुको हुँदैन। छोरीले दिनकै आइसक्रिमको लागि १० रुपैयाँ माग्दा पनि झर्को लाग्ने रहेछ। श्रीमती यत्तिकै ठुस्किने रहिछिन्, यो सबै कोरोना भाइरसले गर्दा भयो।’

३० वर्षदेखि लगातार नेपाली फिल्म क्षेत्रमा सक्रिय उनले यो संकटका बीचमा आर्थिक सहयोगका लागि धेरैलाई सम्झिए, धेरैलाई गुहारे। तर, कसैले साथ दिएनन्। ‘एक जनाले सहयोग गर्छु भन्यो, आज दुई महिना भयो फोन पनि उठाउँदैन। दुःख पर्दा आफन्त चिनिन्छ भन्थे हो रहेछ,’ लकडाउनमा उनको यस्तै तीतो अनुभव छ।

लकडाउन खुकुलो भएपछि राहतको आशासहित उनी चलचित्र बिकास बोर्डसम्म पुगेछन्। बोर्ड अध्यक्ष दयाराम दाहालसँग समस्या राखेछन्, ‘लकडाउनमा काम पनि छैन, हल पनि चलेको छैन, अब मैले जानेको भनेको यही क्षेत्रको काम हो। बुढेसकाल पनि लाग्यो। अरु काम पनि आउदैन, के अब मरुँ?’

उनको कुरा सुनेपछि दयाराम दाहालले उनलाई भनेछन्, ‘यो गैँडा पहिले भृकुटीमन्डपमा जे काम गर्थ्यो, त्यही ठीक थियो। बेकारमा फिल्म लाइनमा आएर..।’

नेपाली फिल्मका फाइड डिरेक्टर (द्वन्द्व निर्देशक)समेत रहेका लामालाई लागेको थियो, यति दुःख सुनाइसकेपछि बोर्ड अध्यक्षले राहत देलान्। तर, उल्टै जवाफ त ‘यो क्षेत्रमा आएर गल्ती गरिस्’ आशयको पो आयो।

आफू सानो छँदा लामाले बुबाआमा दुवै गुमाए। सानैदेखि उनमा फिल्म क्षेत्रमा काम गर्ने इच्छा थियो। त्यही इच्छाले डोर्‍याएर उनलाई बम्बई पुर्‍यायो। घरबाट भागेर बम्बई गएका उनले त्यहाँ एकजना निर्मातालाई भेटे। निर्मातासँग काम माग्दा उनलाई दुई महिना कुर्न भने।

तर, दुई महिनासम्म कुर्ने उनको अवस्था थिएन। त्यसपछि नेपाल फर्केर भृकुटीमण्डपमा साउण्डसिष्टम अपरेटरको काम गरे। अपरेटर गर्दागर्दै फिल्मकर्मीसँग संगत बढ्यो। त्यसपछि द्वन्द्व निर्देशकका रुपमा उनले आफ्नो फिल्म यात्रा सुरु गरे।

उनले महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, अभिनेता राजेश हमाल, निखिल उप्रेती, सुनिल थापालगायत थुप्रै कलाकारसँग काम गरेका छन् । ‘‘कर्मयोद्धा’ फिल्ममा राजेश हमालले सुनिल थापाको टाउको छिनाउने सिन छ नि, त्यो टाउको मैले डिजाइन गरेको हो,’ उनी सुनाउँछन् । 

‘स्वर्गीय गुरुबा गोपाल भुटानी पनि सुरुमा द्वन्द्व निर्देशक हुनुहुन्थ्यो, पछि कला निर्देशक हुनुभयो। म अहिले उहाँकै बाटोमा हिडिरहेको छु,’ उनले सुनाए। ‘बलिदान’, ‘सुखदुख’ , ‘आफ्नो मान्छे’, ‘हामी तीन भाइ’, ‘कर्मयुद्ध’ आदि हिट फिल्ममा काम गरेका उनले ती फिल्मबाट अवार्डसम्म जितेका छन्। पछिल्लो पटक उनले कला निर्देशकको रुपमा काम गरेको फिल्म ‘म यस्तो गीत गाउँछु-२’ को रिलिज महामारीका कारण स्थगित भएको छ।

उनको विस्तृत कथा जान्न, हेर्नुस् सूत्रन्यूजले उनको घरमै पुगेर तयार गरेको भिडियो स्टोरी: 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट