काठमाडौं-‘एसइईमा पास हुनुभएछ,बधाई छ माननीय ज्यू,’ मंगलबार बिहानैदेखि सुदूरपश्चिम प्रदेशकी सांसद चुनकुमारी चौधरीको मोबाइलमा बधाईका सन्देश ओइरिरहे। एकातिर एसइई उत्तीर्ण,अर्कोतिर शुभचिन्तकहरूको प्रेमसहितको सन्देश। उनमा खुसीको सीमा थिएन।
उनको वर्षौंदेखिको एउटा सपना थियो–अध्ययन।
त्यो अध्ययनले सोमबार एउटा चरण पार गरेको थियो। सांसद चुनकुमारीले धेरैपछि हर्षोल्लासको श्वास फेरिन्। ‘त्यति खुसी त मलाई सांसद बन्दा पनि लागेको थिएन,जति खुसी एसइई पार गर्दा भएको थियो,’ हर्षभावमा उनी सुनाउँछिन्।
कोरोना महामारीका कारण चैत्र ६ गते हुने भनिएको एसइई स्थगित भयो। त्यसपछिको अन्योलले परीक्षाको पर्खाइमा रहेका झण्डै ५ लाख विद्यार्थीलाई गाँजिरह्यो। त्यही अन्योल महसुस गर्ने चुनकुमारीपनि पनि थिइन्।
‘आन्तरिक परीक्षा राम्रै गरेको थिएँ। एसइईको लागि पनि तयारी राम्रै थियो। तर,परीक्षा दिन पाइएन। कतै जाँदा पनि मनमा भने त्यही परीक्षाबारे सोचिरहन्थें’ सांसद चुनकुमारी सुनाउँछिन्,‘रिजल्ट आउनुअघि पनि त्यो छट्पटी कायम रहिरह्यो।’
उनले २ दशमलव २५ जिपिए प्राप्त गरिन्। आन्तरिक मूल्याङ्कनमार्फत् भए पनि आफ्नै मिहेनतले त्यति अंक ल्याउनेमा उनी निश्चित थिइन्। जब परीक्षाफल प्रकाशित भयो, कतिपय नेताहरूले आश्चर्य मान्दै उनलाई भने,‘माननीयज्यू, तपाईंले त डिग्री पढेको भन्नुहुन्थ्यो नि।’
उनले मुसुक्क हाँस्दै जवाफ दिइन्, ‘अनुभवमा डिग्री गरेको हुँ। पढाइमा अब गर्छु।’
औपचारिक शिक्षा नपाएको चुनकुमारीको जीवन राजनीति र समाजसेवामा समर्पित थियो। यिनै काममा पनि उनका सामु पढाइकै कारणले बाधा सिर्जना गर्थे। ‘कतिपय अवसरमा पढाइ नभएकै कारण अवसरमा वञ्चित बनाइएका क्षण पनि आए’ उनी सुनाउँछिन्,‘त्यसैले, कतिपयलाई पढाइ सोध्दा डिग्री पास गरेको भनिदिन्थें।’
०००
कैलाली गोदावरीको थारु परिवारमा २०३४ मा जन्मिइन् चुनकुमारी। परिवार गरिवीको दलदलमा थियो। कमाएर खान पुग्ने जग्गा–जमिन थिएन। १० जना सन्तानमध्ये उनी माहिली। आर्थिक संकटले सधैं अभाव निम्त्याउँथ्यो। चुनकुमारी स्कूल जाने उमेरमा कमलरी बन्न पुगिन् । विद्यालय देख्दा आफूपनि जान पाए हुन्थ्यो रहर लाग्थ्यो उनलाई। रहरका हुरीले विद्यालयसम्म हुत्याउन खोज्थे। तर परिस्थितिले पुर्याउनै नै सकेन विद्यालयसम्मको ढोका।
एकदिन ‘महिला विकास नामक’ संस्थामा प्रौढ शिक्षा लिइन्। त्यतिबेला अन्य साथीहरू भन्दा उनको नम्बर राम्रो आयो। जीवनमा पहिलो पटक ‘चक’ समाउँदाको अनुभूति उनी अहिले पनि सम्झिन्छिन्,‘त्यो ऊर्जा सानो थिएन। त्यही खुसीले मलाई पढ्न हौसला दियो।’
६ महिनासम्म पाएको प्रौढ शिक्षाले उनलाई अक्षर चिन्न सिकायो। यसैक्रममा चुनदेवीको विहे भयो। विवाह हुँदा उनी १५ वर्षकी थिइन्। विवाहपछि चुनदेवीको जीवनमा धेरै बद्लाव आयो।
गाउँमा कृषक समूहको मूल समिति थियो। समितिमा उनका श्रीमान् पनि थिए। उनलाई पनि समितिमा जोडिन मन लागेको थियो। चाहना त थियो, तर उनी थाहै नपाई समितिको अध्यक्ष बनिछिन्। ‘त्यहाँ पुरुषहरूले मात्र काम गर्न सकेनन् भनेर मलाई प्रवेश गराए। समूहमा थाहा नदिई अध्यक्ष बनाइदिएको रहेछ’ उनी हाँस्दै सुनाउँछिन्,‘अरूले ‘अध्यक्षज्यू नमस्कार’ भन्दा मलाई अनौठो लाग्थ्यो। किन अध्यक्ष बनेँ भनेर डर पनि लाग्थ्यो। तर विस्तारै नयाँ सिकाइसँगै अभ्यस्त हुन थालें।’
एकदिन जिल्ला कृषि कार्यालयले मौसमी खेतिको तालिम दियो। त्यो तालिममा सहभागी भइन् उनी। तालिम लिएपछि गाउँमा आफैं तालिम दिन सक्ने भइन्।
उसो त बाल्यकालदेखि नेतृत्व गर्नसक्ने स्वभाव थियो। उनलाई ‘गर्न सक्दिनँ’ भन्ने अनुभूति कहिल्यै पनि भएन। अध्यक्ष भएपछि गाउँभरिका दाजुभाई–दिदीबहिनीलाई तालिम आफै दिन्थिन्।
कृषिसँगै उनी सामुदायिक वनमा समेत सक्रिय भइन्। उपभोक्ता समूहको सचिव भइन्। त्यसबेला पनि उनले एउटा प्रौढ कक्षा लिइन्। उनी सामुदायिक वनमा सर्वसंवत अध्यक्ष चुनिइन्। ६ वर्षको कार्यकालमा उनले नेतृत्वका धेरै पाटाहरुको अनुभव गरिन्।
अब चुनकुमारी कानून विषय लिएर पढ्न चाहन्छिन्। उसो त,उनको रुचि पहिल्यैदेखि कानूनमै थियो। ‘१२ सम्म राजनीतिशास्त्र पढ्छु। त्यसपछि कानुन विषय लिन्छु,’ उनी भन्छिन्। चुनकुमारीलाई लाग्छ,कानुनले नै हो जनतालाई न्याय दिलाउने। अनि शासक र शोषकहरूलाई सजायँ दिलाउने।
०००
जीवनमा सफलताको सिँढी एकपछि अर्को गर्दै चढ्दै गइन् उनले। राजनीतिक रूपमा पनि सफलता र सक्रियता एकपछि अर्को गर्दै बढ्दै गयो। ०७० को चुनावमा उनले सभासद् उम्मेदवारको लागि नेकपा एमाले पार्टीबाट टिकट पाइन्। तर,अन्तिममा पाएको टिकट पनि त्याग्नुपर्ने अवस्था आयो। त्यो क्षणले नमीठो महसुस गरायो।
त्यही बेला धेरैले भनेछन्,‘नपढेको मान्छेलाई किन टिकट दिने?’ भनेर। यो कुराले उनलाई निकै अफ्ठेरो अनुभव भयो। सोचिन्,‘नपढ्नु मेरै कमजोरी हो। यदि पढेको भए यो समस्या आउन्न थियो।’
उनले पनि मन बुझाइन्। पछि २०७१ मा खानेपानी उपभोक्ता महासंघको चुनाव लडिन्। केन्द्रीय सदस्यमा निर्वाचित पनि भइन्।
०७१ मै उनले नयाँ कुरा सिकिन्–कम्प्युटर। कम्प्युटरको तीन महिनाको कोर्स गरेपछि राम्रो नेपाली टाइप गर्न सक्ने भइन्। तर अंग्रेजी शब्द गाह्रो भयो उनलाई। कतिपयले भने,‘यो उमेरमा तिमीले पढेर कम्प्युटर सिकेर के गर्छौ?’
उनको जवाफ हुन्थ्यो, ‘उमेरले पढाइलाई छेक्दैन। इच्छा र सपना हुनुपर्छ।’ कम्प्युटर जानेपछि लाग्यो, जीवनमा चाहेपछि जे सुकै गर्न सकिने रहेछ।
त्यसपछि उनी गाडी सिक्न ‘ड्राइभिङ सेन्टर’ मा गइन्। सुदूरपश्चिमका सहरमा महिलाले गाडी चलाएको उतिसाह्रो देखिन्थेन। उनले सोचिन्, ‘मैले मात्र सिकेर हुँदैन। म त नेता भएँ, पछाडि परेका धेरै महिलाले सिक्नुपर्छ।’ र,उनले १५ जना महिलासहित ड्राइभिङ सिकिन्। चलाउन सक्ने पनि भइन्। ड्राइभिङमा ‘पर्फेक्ट’ भएपछि चुनकुमारीलाई लाग्यो–अब मैले अरु कुरा पनि सिक्नुपर्छ।
मनको कुनामा लुकिरहेको रहर छामछुम गरिन्। र,आफैंसँग नयाँ प्रतिवद्धता जनाइन्,अब म पढाइ सुरु गर्छु। त्यो ०७४ को कुरा हो। वैशाखको टल्टलापुर घाममा उनी उत्साहका साथ एकदिन बागेश्वर आधारभूत विद्यालयमा पुगिन्। स्कुलका शिक्षकहरुलाई भेटिन्। नेता स्कुल आएको देख्दा प्रधानाध्यापकले स्वागत गर्दै भने, ‘नेताज्यू, बच्चाहरुको भर्ना गर्न स्कुल आउनु भयो कि।’
‘होइन, म आफैं कक्षा ८ मा भर्ना हुन आएकी,’ उनले निर्धक्कसाथ भनिन्। चुनकुमारीको कुरा सुनेर शिक्षकहरु अचम्मित भए। कतिले ठाने, ठट्टा गरेकी हुन्। तर यो ठट्टा थिएन। उनले शिक्षकहरूलाई ‘कन्भिन्स’ गरिन्, भर्ना गरेर मात्र घर फर्किइन्।
त्यसपछि उनी हरेक दिन साइकल चढेर स्कूलको कक्षामा विद्यार्थी बनेर पढ्न गइन्। पहिलो दिन शिक्षकले कक्षा ८ मा चुनकुमारीलाई बसाल्दै अरु विद्यार्थीहरूलाई भनेका थिए, ‘तपाईंहरूका लागि नयाँ साथी ल्याएँ । उहाँ हाम्रो नेता पनि हुनुहुन्छ । नयाँ साथीसँग मिलेर पढ्नु है।’
त्यसको केहीदिनपछि त चुनकुमारीलाई अनौठो गरी हेरिरहने विद्यार्थीहरूले ‘दोस्त’ भन्न थाले। उनी पनि ती विद्यार्थीहरूसँग रमाइन्। सुरुको केही हप्ता चुनकुमारीलाई स्कूल पढ्न निकै अप्ठेरो लाग्यो। बाहिर निस्कन पनि लाज लाग्थ्यो । तर, विस्तारै त्यो लाज उत्साहमा परिणत हुँदै गयो।
०७४ मै उनी प्रदेशसभा सदस्यको उम्मेदवार बनिन्। चुनावको क्रममा पनि पढ्न भने छाडिनन्। भरसक विषयहरु छुटाउँदिन थिइन् । कि त एक पिरियडमात्र भए पनि पढेर निस्कन्थिन्। उनी माननीय त भइन्। तर, विद्यार्थी हुन पनि छाडिनन्। उनले जिल्ला स्तरीय परीक्षा दिइन्। राम्रो अंकका साथ पास गरिन्। त्यसपछि कक्षा ९ र १० गोदावरीकै सिद्धबाबा माविमा पढिन्।
०००
अब चुनकुमारी कानून विषय लिएर पढ्न चाहन्छिन्। उसो त,उनको रुचि पहिल्यैदेखि कानूनमै थियो। ‘१२ सम्म राजनीतिशास्त्र पढ्छु। त्यसपछि कानुन विषय लिन्छु,’ उनी भन्छिन्। चुनकुमारीलाई लाग्छ,कानुनले नै हो जनतालाई न्याय दिलाउने। अनि शासक र शोषकहरूलाई सजायँ दिलाउने।
अहिले उनी विगतका दुःख सम्झन्छिन्। पढ्न नपाउँदा पाएको पीडा सम्झिन्छिन्। ‘पढाइ नहुँदा धेरैको विभेद पनि सहेकी छु। वचन पनि सहेकी छु,’ उनी आशावादी हुँदै भन्छिन्, ‘अब मैले त्यो वचन त सहनु पर्दैन नि।’