गौरा र तीज समूहमा मनाउन रोक, नियम उल्लघंन गरे कडा कारवाही-Sutra News

गौरा र तीज समूहमा मनाउन रोक, नियम उल्लघंन गरे कडा कारवाही

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

डडेल्धुरा–सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा तथा हिन्दू महिलाको महान् पर्व हरितालिका सार्वजनिक रूपमा मनाउन रोक लगाइएको छ। कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भीडभाड नहुने गरी चाडपर्व मनाउन जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेको हो।



नित्य र घरायसी पूजाबाहेक सामूहिक रूपमा गौरा र तीज जस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व मनाउन रोक लगाइएको हो।

तीज यही भदौ ५ गौरा भदौ १० गते परेका छन्। प्रशासनले सवारी पास वितरण यसअघि नै बन्द गरिसकेको छ। प्रशासनले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास साउन २९ देखि बन्द गरेको थियो। निर्णयको उल्लङ्घन हुने क्रियाकलाप कसैबाट भए गरेमा सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३०६ पुगेको छ। तीमध्ये ३०२ सङ्क्रमित डिस्चार्ज भएका छन्। जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार छ। जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा दुई र नवदुर्गा गाउँपालिकामा दुई सक्रिय संक्रमित छन् । उनीहरुको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट