यसरी निको पार्न सकिन्छ ‘चिन्ता रोग’-Sutra News

यसरी निको पार्न सकिन्छ ‘चिन्ता रोग’

बिहिबार, ४ भाद्र २०७७

बिहिबार, ४ भाद्र २०७७

चिन्ता धेरैलाई छ । प्रत्येक सय जना व्यक्तिमा दश जनालाई चिन्ताको समस्या हुन्छ । कहिलेकाहीँ चिन्ता लाग्ने र डर लाग्ने त जसलाई पनि हुन्छ । तर त्यस्तो चिन्ता सामान्य हो । यहाँ उल्लेख गर्न खोजिएको रोगकै रुपमा रहेको ‘चिन्ता’ को बारेमा हो ।



मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई रोग नभनेर ‘डिसअर्डर’ भन्ने गरिन्छ । विभिन्न स्वास्थ्य समस्याहरु रोग हुन् वा होइनन् भन्ने कुराको पहिचान तिनीहरुको लक्षणहरुको आधारमा गरिन्छ । रगतको जाँच, एक्स–रे, अल्ट्रासाउन्ड जस्ता परीक्षणहरु ‘मानिसमा शारीरिक रोगहरु पनि छन् कि ? तिनको कारणले मानसिक स्वास्थ्य समस्या भएको त होइन ?’ भनेर गर्ने हो ।

‘एन्जाइटी डिसअर्डर’ को कुरा गरौँ । मुख्यतः यी दुइ प्रकारका हुन्छन् । 

१) जनरलाइज्ड एन्जाइटी डिसअर्डर

‘जनरलाइजड एन्जाइटी डिसअर्डर’ को समस्या रहेका व्यक्तिहरु सानो–सानो कुरामा पनि बढी चिन्ता लिने, डराउने र आत्तिने खालका हुन्छन् । आफूलाई वा आफ्नो परिवारलाई केही नराम्रो हुन्छ कि भनेर उनीहरु चिन्तित हुन्छन् । ‘नराम्रो रोग लाग्छ कि ? दुर्घटना हुन्छ कि ?’ भनेर धेरै चिन्ता लिने र तनाव दिने पनि गर्छन् । चिन्ता र तनावले गर्दा टाउको दुख्ने, ढाड दुख्ने, कम्मर दुख्ने, खाना अपच हुने, पटक–पटक दिशा लाग्ने जस्ता लक्षणहरु देखिन्छन् ।

त्यस्तै मुटुको धड्कन बढेको अनुभव हुने, पसिना बढी आउने, छटपटी हुने, नर्भस हुने जस्ता लक्षणहरु पनि देखिन्छन् । यस्ता मानिसलाई घर–परिवारले ‘अनावश्यक रुपमा धेरै चिन्ता लिन्छ’ भन्ने गर्छन् ।

यस्तो लक्षण देखिने मानिसले अरुलाई खासै दुःख दिएका छैनन् भने सामान्य रुपमा लिन सकिन्छ । तर ऊ आफूलाई पनि अप्ठ्यारो भइराख्छ, आफ्नो परिवारजनलाई उपचार गर्न लैजानु पर्‍यो जस्तो लाग्छ र दैनिक जीवनमा केही न केही असजिलो पारिरहेको छ भने परीक्षण गराउनु पर्छ ।

यस्तो ‘एन्जाइटी’ का विभिन्न कारण हुन सक्छन् । वंशाणुगत कारण यसै मध्येको एउटा हो । घरमा बाबु-आमा वा कोही एकजनामा आत्तिने–डराउने लक्षण छ, छोराछोरी त्यही वातावरणमा हुर्कंदा पनि यो समस्या देखिन सक्छ । साथै, मस्तिष्कमा ‘सेरोटोनिन’ को लेभल वा काम गराईमा केही समस्या भयो भने पनि यो समस्या देखिन सक्छ । 

२) प्यानिक एन्जाइटी  

चक्कर लाग्ने, विनाकारण अचानक मुटुको धड्कन बढ्ने, शरीर झमझमाउने, सास फेर्न गाह्रो हुने, मन आत्तिने, अब तुरुन्तै केही पो भइहाल्छ कि ? दिमागले काम गर्दैन कि ? या मरिहाल्छु कि ? जस्तो डर लाग्छ । प्राय अस्पतालको ‘इमरजेन्सी’ मा यस्ता विरामीहरु आइपुग्छन् । परीक्षण गर्दा आत्तिएकोले उनीहरुको ‘ब्लड प्रेसर’ पनि केही बढी नै देखिन्छ । अरु परीक्षणहरु भने ‘नर्मल’ हुन्छन् ।

‘प्यानिक एन्जाइटी’ का लक्षणहरु १०–१५ मिनेटभित्रै बढ्न पुग्छन्  । अस्पताल पुगेपछि ‘अब उपचार पाउँछु’ भन्ने भरोशाले गर्दा होला, विरामीलाई सजिलो पनि महसुस हुन्छ ।

‘प्यानिक एन्जाइटी’ जतिबेला पनि र जहाँपनि हुन सक्ने भएकाले विरामीमा ‘फेरि, कहिले, कहाँ, कतिबेला के हुने हो’ भन्ने चिन्ता लागिरहन्छ । सबै परीक्षणहरु गरेर कुनै खरावी छैन भन्ने रिपोर्ट आएपनि ‘कुनै रोग सुरु भयो कि’ भन्ने चिन्ताले सताउँछ । 

‘प्यानिक एन्जाइटी’ वा ‘जनरलाइज्ड एन्जाइटी’ डिप्रेसनका विरामीमा पनि हुन सक्छ । मदिरा सेवन गर्ने वा लागुपदार्थ प्रयोग गर्नेलाई पनि हुन सक्छ । ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्ड’ र ‘थाइर्‍वायड’ ग्रन्थीको रोग ‘थाएरोटक्सी कोसिसमा’ पनि हुन्छ । चिकित्सकले परीक्षण गर्दा यी कारणहरुले पनि यस्तो भएको हो कि भनेर परीक्षण गर्ने गर्छन् ।

‘जनरलाइज्ड एन्जाइटी डिसअर्डर’ मा स–साना कुरामा चिन्ता लागे पनि ‘प्यानिक एट्याक’ हुँदा जस्तो डर लाग्दैन । केही विरामीमा दुबै सँगै पनि हुन सक्छन ।

यसको उपचार गर्ने तरिका निम्न बमोजिम छन् । 

१. साइकोथेरापी : यो विधिमा एन्जाइटीलाई चिन्ने र कन्ट्रोल गर्ने विभिन्न तरिका सिकाइन्छ । जस्तैः लामो स्वास लिने र छोड्ने तरिका, शरीरलाई रिल्याक्स गर्ने तरिकाहरु आदि ।  

२. कगनिटिभ विहेवियर थेरापी (सीबीटी) : विशेषज्ञ मनोविद वा मनोचिकित्सकबाट यो थेरापी सिक्नु पर्छ । ‘सीबीटी’ मा विरामीलाई उसको विचार, भावना, शरीरमा हुने विभिन्न ‘सेन्सेसन’ जस्तै : ‘प्यानिक एट्याक’ हुँदा धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, झम्झमाउने र विरामी आत्तिदा उसले देखाउने व्यवहारलाई चिन्ने र कन्ट्रोल गर्ने तरिका सिकाइन्छ ।

स्वस्थ जीवनशैली, शारीरिक व्यायाम, पोषणयुक्त खाना, शारीरिक तथा मानसिक स्वास्थका लागि लाभदायक छन् । यसमा ध्यान दिनुपर्छ ।

मदिरा सेवन र लागुपदार्थ सेवनले स्वास्थ्यलाई झन् बिगार्छन् मात्र, ‘चिन्तारोग’ लाई निको पार्न सक्दैनन् । त्यसैले, यिनको सेवन गर्नु हुँदैन । कसै–कसैलाई कफी र चियाले पनि चिन्ता बढाउँछ भने तिनको सेवन पनि छोड्नु पर्छ । 

३. औषधि उपचार : दुबै किसिमका ‘एन्जाइटी’ मा मस्तिष्कमा ‘सेरोटोनिन’ सन्तुलनमा ल्याउने औषधि प्रयोग गरिन्छ । औषधिको प्रयोग गर्न डराउनेहरुले माथिका दुई (नं १ र २) तरिकाहरु प्रयोग गर्न सक्छन् । औषधि सुरु गरेपछि छ महिनाभन्दा बढी समय लाग्छ र कसैलाई अझ लामो समय लाग्छ । ‘प्यानिक डिसअर्डर’ निको हुन समय लाग्छ र विरामीले यसलाई ‘कन्ट्रोल’ गर्न सक्ने क्षमता कति राख्न सक्छन्, निको हुने अवधि यसैमा भर पर्छ ।

४. माइन्डफुलनेस मेडिटेसन वा स्मृति ध्यान  

धेरै वर्ष पहिले तिब्बती बौद्धमार्गी गुरु श्री योङ्गे मिङगुर रिन्पोछेको यूट्यूवमा एउटा भिडियो हेर्न पुगेँ । नौ-दश वर्षको हुँदा उहाँलाई ‘प्यानिक एन्जाइटी’ सुरु भएछ । त्यसले उहाँलाई निकै अत्याउँदो रहेछ । जति ‘एन्जाइटी एट्याक’ नहोओस् भन्यो, झन् त्यति झन बढी भएर दुःख दिँदो रहेछ । उहाँको पिता प्रसिद्ध गुरु टुल्कु उर्गेन रिन्पोछेले मिङ्गुरलाई ‘प्यानिक एट्याकलाई ध्यानपूर्वक हेर्न र यो समस्या आफूमा छ’ भन्ने स्वीकार गर्न अह्राउनु भएछ ।

त्यसपछि योङगे मिङगुरले ‘प्यानिक’ लाई आफ्नो साथी बनाउनु भएछ । जब ‘प्यानिक’ आउँथ्यो, ‘ए, तिमी आयौ ? कति समय मसँग बस्न मन छ, बस’ भन्दै डराउन छोड्नु भएछ । यस्तो प्रयास गर्दै जाँदा, ‘प्यानिक’ का लक्षणहरु विस्तारै कम हुँदै गएछन् । र, पाँच वर्षपछि पुरै हराएछ ।

‘एन्जाइटी’ को लक्षणले विरामीलाई अत्याउने र डर उत्पन्न गराइदिने गर्छ । आत्तिन र डराउन छाड्नु भनेको रोग निको हुनु हो । ‘डराउँदिन भन्दा पनि किन डर लाग्छ त ?’ भन्ने प्रश्न गर्नुहोला । खासमा डर नकरात्मक भावना हो । जब डर आउँछ, मस्तिष्कमा रहेको ‘एमिगडेला’ भन्ने भाग सक्रिय हुन्छ । ‘एमिगडेला’ ले शरीरलाई लड्न वा ज्यान बचाएर भाग्न शरीरमा भएको ‘एडरेनल ग्लैन्ड’ लाई खबर पठाउँछ । ‘एडरेनलल ग्लैन्ड’ ले ‘एडरेनलिन’ बढी उत्पादन गर्छ र ‘एडरेनलिन’ ले मुटुको धडकन बढाउने, मुख सुकाउने र शरीरलाई लड्न वा भाग्न तयार पार्छ ।

‘लड्ने वा भाग्ने कुरा कहाँबाट आयो’ भन्नु होला । जंगलमा हिँडेको बेला अचानक बाघ देख्नु भयो वा नजिकै बाघ गर्जेको सुन्नु भयो भने ज्यान बचाउन मस्तिष्कको ‘एमिगडेला’ ले शरीरलाई तयार पार्छ । ‘प्यानिक एन्जाइटी’ मा मरिन्छ कि ? बेहोस भइन्छ कि ? वा मानसिक सन्तुलन बिग्रन्छ कि ? भनेर डराउँदा पनि ‘एमिगडेला’ सक्रिय हुन्छ र ‘एट्याक’ का लक्षणहरु देखिन्छन् ।

पश्चिमी मुलुकहरुमा एसेप्टेन्स एण्ड कमिटमेन्ट थेरापी (एसीटी) नामको थेरापी प्रचलनमा छ । यस अन्तर्गत आफूलाई ‘एन्जाइटी’ छ भन्ने स्वीकार गर्ने, यो समस्या आफूलाई मात्र होइन, जसलाई पनि हुन सक्छ भन्ने सोच्ने र ‘एन्जाइटी’ का लक्षणहरुलाई व्यवस्थापन गर्ने गरिन्छ । यो तरिका ‘बुद्धिष्ट  साइक्लोजी’ सँग मिल्दोजुल्दो छ ।

‘माइन्डफूलनेस मेडिटेसन’ गर्दा शरीरमा देखिएका ‘एन्जाइटी’ का लक्षणहरु जस्तैः मुटुको धड्कन बढेको, मुख सुकेको, शरीर झमझमाएको, डर लागेको, सास फेर्न अप्ठ्यारो भएको जस्ता आफूमा देखिएका समस्यालाई सचेत भएर अनुभव गर्ने हो । एकैचोटि यस्तो गर्न कठिन हुनसक्छ । त्यसैले, सुरुमा प्रत्येक दिन आधा घण्टाजति यो ‘मेडिटेसन’ प्राक्टिस गर्नुपर्छ । वानी परेपछि ‘एन्जाइटी’ का लक्षणहरु देखिएको बेलामा पनि ‘प्राक्टिस’ गर्न र ‘कन्ट्रोल’ गर्न सकिन्छ । सकिन्छ भने यस्तो ‘मेडिटेसन’ कुनै गुरुसँग सिक्न सकिन्छ । त्यसरी सिक्न नचाहनेले यूट्यूवको ‘गाइडेड माइन्डफूलनेस मेडिटेसन’ मार्फत् प्रयास गर्न सक्छन् ।

यो ‘मेडिटेसन’ गर्ने भनेको मनलाई विगत वा भविष्यको कुरा सोच्न नदिने हो, अहिले जे गरिराखेको छ, त्यसैमा पुरा ध्यान दिने हो । पहिलो चरणमा सास लिने–छोड्ने कुरामा पुरा ध्यान दिने हो । त्यसपछि मनमा आउने विचारहरुलाई पहिचान गर्ने र शरीरले अनुभव गरेका ‘सेन्सेसन’ को अनुभव गर्ने हो ।

विभिन्न अनुसन्धानहरुले प्रमाणित गरेका छन् कि ‘माइन्डफूल मेडिटेसन प्राक्टिस’ ले तनाव घटाउँछ, चिन्तारोग र डिप्रेसन निको पार्छ, रोगसँग लड्ने क्षमता बढाउँछ, शरीरको दुखाई कम गर्छ, स्मरणशक्ति बढाउँछ र भित्र दबिएका पीडाहरुलाई बाहिर ल्याउँछ ।

५) श्री श्री रविशंकरको ‘सुदर्शन क्रिया’ सिकेर नियमित गर्न सक्नु हुन्छ भने यसले पनि ‘एन्जाइटी’ लाई ‘कन्ट्रोल’ गर्छ ।

भारतको बैङ्गलोरमा गरिएको एक अध्ययन अनुसार सुदर्शन क्रियाले चिन्तारोग घटाउँछ । रोग लड्न सक्ने क्षमता बलियो पार्छ, मानसिक तनावलाई बहन गर्ने क्षमता बढ्छ र मन खुसी राख्न सयहोग गर्छ ।

हाम्रो मस्तिष्कबाट १२ वटा ‘क्रेनियल नर्भ’ हरु शरीरमा आउँछन् र विभिन्न काम गर्छन् । नम्बर–१० ‘क्रेनियल नर्भ’ लाई ‘भेगस नर्भ’ भनिन्छ, यसले धेरै महत्वपूर्ण काम गर्छ । यो ‘पारासेम्पाथेटिक नर्भ’ हो । यो नर्भ सक्रिय हुँदा प्रेम, करुणा सम्बन्धको विस्तार हुनुका साथै मानसिक र शारीरिक स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । सुदर्शन क्रिया नियमित गर्दा र ‘मेडिटेसन’ गर्दा यो नर्भ ‘एक्टिभ’ हुन्छ ।

स्मृति ध्यान वा ‘माइन्डफूल मेडिटेसन’ लाई बुझ्न गौतम बुद्धले आफ्ना शिष्यहरुलाई सुनाउनु भएको कथा यहाँ प्रस्तुत गरिएको छः

एउटा कछुवा खाने कुरा खोज्दै हिडिरहेको थियो । एउटा फ्याउरो अचानक कछुवाको अगाडि आइपुग्यो । फ्याउरो पनि खानेकुराको खोजीमा थियो । कछुवालाई डर लाग्यो । तर, उ भाग्न सक्दैनथ्यो, कछुवाले फ्याउरोसँग लड्न सक्ने कुरा पनि भएन । अब के गर्ने ? उसले तुरुन्तै बुद्धि पुर्‍यायो र आफ्नो सेल (खबडा) भित्र पसेर शान्तसँग बस्यो । फ्याउरोले निकैबेर त्यो सेलको वरिपरि घुमेर कछुवालाई खोज्यो । नभेटेपछि थाकेर आफ्नो बाटो लाग्यो ।

स्मृति ध्यान भनेको कछुवाले जसरी आफ्नो मनलाई शरीरभित्र राख्ने, मनलाई शरीर छोडेर भाग्न नदिने हो ।

मनलाई निरन्तर ‘बिजनेस’ चाहिन्छ, चुप लागेर बस्न सक्दैन । त्यसैले सास लिने र छोड्ने प्रक्रियामा मनलाई अड्याएर राख्ने हो । काम पाएपछि मन भाग्न पाउँदैन, भागिहाल्यो भने फेरि याद गरेर सास लिने–छोड्ने काममा लगाउने हो । मन भागेको छिटो थाहा पाउने र फेरि ध्यानमा लगाउने क्रमलाई निकै महत्वपूर्ण मानिन्छ । सुरु–सुरुमा मन धेरै भाग्छ, बानी परेपछि कम भाग्छ ।

‘स्मृति ध्यान’ लाई सचेत हुने वा ‘अहिलेको अवस्था’ पनि भन्ने गरिन्छ । हामीहरुले दाँत माज्दा, नुहाउँदा, कपडा फेर्दा, चिया पिउँदा, भान्छामा काम गर्दा, खानेकुरा खाँदा, हिँड्दा, बस्दा, उठ्दा इत्यादि जे गर्दा पनि प्राय होसपूर्वक गर्दैनौँ । हाम्रो मन भागिरहेको हुन्छ । हरेक काम होसपूर्वक गर्नु वा सचेत भएर गर्नु नै ध्यान हो ।

(उपाध्याय वरिष्ठ मनोचिकित्सक हुन्।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट