यस्तै भो चेली, यसपालिको तीज-Sutra News

यस्तै भो चेली, यसपालिको तीज

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

कोरोनाको कहरले अहिले हामी सबै प्रताडित छौं । स्कूले स–साना नानीहरु कक्षा कोठामा रमाउन र चउरमा खेल्न नपाइ घरमा छट्पटिएका छन् । रोजिरोटी गरी विहान–वेलुकी छाक टार्नेहरुको जीवन झनै कष्टकर बनेको छ । उद्योगव्यवसाय, कलकारखाना, पर्यटन सबै क्षेत्र नराम्ररी थला परेका छन् ।



जहाँसुकै यस्तै छ अवस्था । सारा संसार अहिले कोरोना महामारीसँग जुधिरहेको छ । तर यसको अन्त्य कहिले र कसरी हुने हो, त्यो दृष्य आउन बाँकी नै छ । विज्ञहरुले भन्ने गरेको त्यस पछिको ‘न्यू–नर्मल’ को परिदृश्य त हामीले कल्पना पनि गरेका छैनौं ।

अहिले हाम्रो सम्पूर्ण ध्यान वर्तमानमा नै केन्द्रित छ । किनकि हामीले बाँच्ने त वर्तमानमा नै हो । हामीले बाँचेको वर्तमान जतिसुकै कठिन र पीडादायक भए पनि त्यसलाई हामीले झेल्नै पर्छ । वर्तमानको यात्रा जतिसुकै कष्टकर भए पनि त्यसलाई हामीले तय गर्नैपर्छ । वर्तमानले नै हो भविष्यको गोरेटो बनाउने । त्यसैले हामी हिड्ने बाटो उवडखावड भनेर भन्न पाउँदैनौं । बाटो गल्ड्याङ्गगुल्डुङ्ग छ भनेर तर्कन पनि पाउँदैनौं । त्यति मात्र होइन, हामीले अहिले भोगिरहेको स्थिति र हाम्रो खुम्चिएको दैनिकीबाट पनि हामीले पाठ सिक्नुपर्ने हुन्छ ।

दैनिकीकै कुरा गर्ने हो भने हाम्रो दैनिकी कतिसम्म खुम्चिएको छ भने विगत पाँच महिनादेखि हामी घरभित्रै नजरबन्द हुन विवश छौं । त्यसले हामीलाई शारीरिक रुपमा कुँजो त बनाएको छ नै, मानसिक रुपमा पनि शिथिल पारेको छ । घरको चौघेरामा दिन काट्नु पर्दा कतिपयलाई शारीरिक तथा मानसिक समस्या समेत हुने गरेको छ ।

तर, समस्या छ भन्दैमा भाग्न पनि त भएन, हातखुट्टा छाडिहाल्नु पनि भएन । हातखुट्टालाई सक्रिय र गतिशील राख्न म जस्तै अरु कतिपयले कहीँ नपाए आफ्नै घरको छत भनेपनि नापिरहेका छन् । धेरै त सामाजिक सञ्जालमा व्यस्त छन् । कतिपयले लेखपढमा समय बिताइरहेका छन् । हामीले परिवारका सदस्यसँग सँगै बसेर दुःख सुखका कुरा गरिबसेका छौं । परिवारको महत्व वास्तविक रुपमा वल्ल बुझ्न थालेका छौं । म यसलाई लकडाउनको सकारात्मक पक्षको रुपमा लिन्छु ।

गृहिणीहरु पनि यतिखेर आफूलाई व्यस्त र सृजनशील राख्ने उपायको खोजीमा छन् । करेसावारीमा होस् वा कौसीखेतीमा वा घर अगाडिको सानो बगैंचामा किन नहोस्, हिजोआज अधिकांंश गृहिणी प्रकृतिसँग खेलिरहेका भेटिन्छन् । उनै गृहिणीको परिश्रमले मेरो सानो करेसावारीमा यो वर्ष के मात्र फलेन ? सिमीदेखि कुरिलो, भिण्डीदेखि खुर्सानी, मकैदेखि घिरौँलासम्म । हिजोआज घिरौँलाका कलिला मुन्टाहरु बरण्डाको रेलिङ्गमा बाँधेको डोरीमा सुरेली खेलिरहेका छन् । म तिनै कलिला मुन्टाहरु हेरेर घण्टौं रमाउन सक्छु । ती मुन्टाहरुको आकाश छुने रहर देख्दा म छक्क पर्छु । छिटो–छिटो हलक्क बढिरहेका ती कलिला मुन्टाहरुमा म जीवन–दर्शन पनि पाउँछु । बढ्न पाउनु त उसको नैसर्गिक अधिकार हो, अनि अकाश छुने उसको सपना हो । टाकुरामा पुग्ने रहर हामी सबैमा हुन्छ । त्यही रहर साँचेर हामी सबै बाँचिरहेका हुन्छौं नि त ?

समय काट्न सजिलो उपाय लेखपढ पनि हो । अहिलेको बेला यस्तै कुरा पढ्नु पर्छ भन्ने पनि छैन । अगाडि जे फेला पर्छ, त्यो पढेर मन शान्त गर्ने हो । मेरो आफ्नै कुरा गर्ने हो भने खास त्यस्तो रुची खास केही छैन । जे फेला पार्यो, त्यो पढ्छु । मन लागेको किताब फेला परे सबै पाना छिचोल्छु । नभए दुई–चार पाना हेरेर भए पनि चित्त बुझाउँछु ।

लकडाउनको बेला आफ्नै हेडसर चिजकुमार श्रेष्ठको ‘घुमिफिरी बन्दीपुर’ दाहोर्‍याएर पढेँ । खगेन्द्र संग्रौलाबाट अनुवादित डा सन्दुक रुइतको जीवन गाथा पनि मन लाएर पढिसिध्याएँ । त्यति मात्र हैन, रामलाल जोशीको ‘ऐना’ कथा संग्रह र अमर न्यौपानेको ‘गुलावी उमेर’ उपन्यास पनि छिचोल्न भ्याएँ ।

लकडाउनको वेला डा युवल नोहा हरारीको बहुचर्चित पुस्तक ‘मानवजातिको इतिहास (होमी सेफिएन्स), मानवजातिको भोलिको इतिहास (होमिडिएस) र ‘एक्काइसौँ शताब्दीका लागि एक्काइस वटा पाठ’ पनि अड्की–अडकी छिचोलेँ । मानवजातिको इतिहास र सभ्यतालाई विज्ञान र प्रविधिको अन्धाधुन्ध प्रयोगबाट सिर्जित चुनौति के हो, त्यो उनको सिद्धहस्त लेखनीले उजागर गरेको छ । तर मानव जातिको भविष्यको मार्ग यस्तै हुन्छ भन्ने ठोकुवा उनले पनि गर्न सकेका छैनन् । भविष्य त कसले पो देखेको छ र रु कसले पो जानेको छ र रु विगत र वर्तमानको आधारमा भविष्यको रुपरेखासम्म प्रक्षेपण गर्ने न हो ।

त्यसैले, भविष्यलाई भोलिकै गर्भमा थाती राखेर मलाई वर्तमानमा नै रमाउन मन लाग्छ । लकडाउनको बेला घरको छतमा सामान्य हिड्डुल, थोरै लेखपढ, अनि सामाजिक सञ्जालमा साथीभाइसँग यसो भेटघाट, छेडखानी, हँसिमजाक हिजोआज मेरो दैनिकी जस्तै बनेको छ । घरको छतमा सुस्तसुस्त हिँड्दा कानमा ‘हेडफोन’ लगाएर संगीतको धुनमा हराउनु वा कोठामा एक्लै छँदा ‘ब्लुटुथ’ जोडेर सानो ‘स्पीकर’ मा आफूलाई मन पर्ने गीत–संगीत सुन्दै आफैंमा रमाउनु त मेरो आदत नै बनेको छ । त्यसरी गीत–संगीतमा डुब्दै गर्दा आफूलाई पुनर्ताजगी भएको महसुस हुन्छ । शायद त्यसैले होला, ‘म्यूजिक थेरापी’ लोकप्रिय भएको ।

मलाई यस्तै गीत–संगीत चाहिन्छ भन्ने छैन । पूर्वीय–पाश्चात्य, पप, रक, जाज, लोकसंगीत जेपनि कर्णप्रिय लाग्छन् । खाली कुन बेला कुन सुन्ने भन्ने मात्रै हो । त्यस्तैमा केही महिनाअघि एक रात ‘ निरुद्देश्य’ टेलिभिजनमा म्यूजिक च्यानल सुरु गर्दै थिएँ, एकाएक पूर्वीय संगीतको कर्णप्रिय धुनले मेरो ध्यान आकृष्ट गर्‍यो । टेलिभिजनको पर्दामा यसो आँखा घुमाएको, भारतका प्रसिद्ध संगीतकार ए आर रहमानको ‘हार्मोनी विथ एआर रहमान’ नामक सुमधुर अर्केष्ट्रा प्रतिध्वनित भइरहेको थियो ।

ए‍‍‍‍‌ आर रहमान बेजोडका कलाकार हुन् । ‘ओस्कार’, ‘पद्मश्री’ जस्ता पुरस्कार र विभूषणले सुसज्जित भइकन पनि उनमा अहम्भावना लेसमात्र पनि देखिएन । उनको संगीत निर्देशनमा सिर्जित हार्मोनी अर्केष्ट्रा वास्तवमा हार्मोनीको सुन्दर रचना थियो । त्यसमा मणिपुरकी महिला गायिकाले स्वर दिएकी थिइन् । सिक्किमका लेप्चाले बाँसुरीमा सुरिलो धुन निकालेका थिए भने दक्षिण भारतका वादकहरुले ढोलकमा विशिष्ट धुन पस्किरहेका थिए । त्यसैगरी भर्खरका कलिला केटाकेटीहरुले भायोलिनमा मधुर संगीतको आवाजले सम्मोहित गरिरहेका थिए भने उनीहरुकै उमेर समूहका केटाकेटीहरुले साम”हिक स्वरमा अर्केष्ट्रा गुञ्जायमान गरिरहेका थिए । रहमान स्वयं भने कहिले पियानोमा झुमिरहेका थिए त कहिले किबोर्डमा औला घुमाइरहेका थिए । अनि, हातको हाउभाउले सम्पूर्ण अर्केष्ट्रालाई मन्त्रमुग्ध पारिरहेका थिए ।

उनको प्रस्तुति वास्तवमा हार्मोनीको एक अनुपम नमूना थियो । ‘हामीले बाँच्ने संसार पनि त्यस्तै हार्दिकताले भरिएको हुँदो हो त कस्तो हुन्थ्यो होला ?’ उनको अर्केष्ट्रामा डुब्दै जाँदा म यस्तै भावनामा समाहित हुँदै गएँ । संगीतको जादु वा मोहनी भनेको सायद यसैलाई भन्दा हुन् ।

त्यसो त, गीत–संगीतप्रतिको मोहनी बालापनदेखिकै हो । गाइने दाईले आँगनको डिलमा बसेर गाउने विरह भाकाको गीत होस् वा गाउँका ठिटाठिटीले दाउरा–घाँस, मेलापात गर्दा गाउने गीत किन नहोउन्, त्यसको मधुर झङ्कार हृदयको अन्तरकुनामा बास गरिरहेकै छ । त्यस्तै विभिन्न चाडवाडमा गाइने र नाचिने– घाटु, सोरठी, बालन, भजन, चुड्का दोहोरी र तीजको बरिलै भाकाको गीत र नृत्यले पनि मेरो बालहृदयलाई झङ्कृत बनाउँथे । अलि ठूलो भएपछि त हामी रातिराति चुड्का नाच हेर्न पनि जान्थ्यौँ । अहिले सम्झी ल्याउँदा लाग्छ, कति रमाइलो थियो हाम्रो बालापन ।

हाइस्कूलमा पढदा रेडियो युगमा प्रवेश गरेपछि रेडियो नेपालमा घन्कने गीत सुन्ने लत बस्यो । नारायण गोपाल, प्रेमध्वज प्रधान, बच्चु कैलाश, कुमार बस्नेत, तारादेवी, अरुणा लामाका गीत सुनेर हुर्किएको पुस्ताको मलाई अहिलेका नवोदित कलाकारका गीत र स्वर पनि उत्तिकै मीठा लाग्छन् । पछिल्लो समय केही राम्रा म्युजिक भिडियो बनेका छन्, जसलाई सुन्दै र हेर्दै गर्दा समय गएको पत्तै हुँदैन । त्यसमाथि कानमा ‘हेडफोन’ लगाएर संगीतको मधुर धुनसँगै हिँड्दाको झन् अर्कै मजा । हिजोआज त्यसरी हिँड्ने त मेरो वानी नै बसिसकेको छ ।

‘बालखैमा दिल बस्यो’ बोलको गीतमा कर्णाली प्रदेशको स्कूले केटाकेटीको जीवन्त प्रस्तुति छ । त्यो गीत सुन्दै गर्दा र त्यसको ‘भिज्युअल’ हेर्दै गर्दा मलाई पनि त्यही निश्चल र अबोध बालापनतिर फर्कन मन लाग्छ । तर, समयले हामीले भनेको के टेर्थ्यो र ? हामीले चाहे पनि त्यो बालापन फर्केर आउँदैन । समयले नेटो काटेपछि काट्यो, कट्यो ।

जसरी हाम्रो बालापनलाई त्यस बालगीतले सजीव ढंगबाट मुखरित गरेको छ, त्यसैगरी हाम्रो किशोर वयलाई टिप्ने गरी लोक गायिका विष्णु माझीको सुरिलो स्वरको ‘हिजो रोदीमा के भयो के के, आज हेर्नै लाज सोल्टिनीको मुख’ भन्ने लोकभाकाले धेरै युवा मनलाई कुतकुती लगाउँदो हो । म आफै गण्डकी प्रदेशको मस्र्याङ्दी फाँटमा खाइखेली हुर्केको भएकाले रोदी घर, अनि रोदी गीत त्यसै रमाइलो लाग्ने नै भयो । रोदीमा अरु के के नै हुन्थ्यो र रु निष्कपट हाँसखेल, ठट्टा रमाइलो, अति सङ्लो मायाँ पिरती साँटासाँट हुने त हो नि ।

मायाँ पिरतीकै सेरोफेरोमा बुनिएका सुनिल गिरीको ‘मायाँ रोगै पिरती’ र नवोदित गायिका एलिना चौहानको ‘बरिलै’, अनि ‘मायाँ मारेर’ शीर्षकको म्युजिक भिडियो पनि लकडाउनको बेला धेरै पटक हेरेको छु, सुनेको छु । अलि सिरियस, हृदयको अन्तरकुना खोतल्ने र मनमा धेरै पछिसम्म झङ्कार ल्याइरहने गीत चाहिँ पछिल्लो पटक मैले सुनेको ‘पिपल छेउमा बरु म्युजिक भिडियो हो । त्यो म्युजिक भिडियो गीत–संगीत, स्वर र अभिनय सबै दृष्टिकोणबाट उत्कृष्ठ लाग्यो । त्यो गीत दोहोर्याई तेहर्‍याइ सुनिरहन्छु, त्यसमा आफ्नै कथाव्यथा लुकेजस्तो लाग्छ ।

अहिले नेपाली गीत–संगीतको फाँटमा केही असाध्यै राम्रा, मार्मिक र सन्देशमूलक छोटा म्युजिक फिल्म पनि आएका छन् । म त भन्छु, हिजोआज लकडाउनको समयमा फेसबुक, टिकटकमा समय बर्बाद पार्नुको साटो सपरिवार बसेर यस्ता म्युजिक भिडियो र म्युजिक फिल्म हेर्नु कता हो कता, राम्रो हुन्छ ।

त्यसरी मैले दोहोर्‍याइ–तेहर्‍याइ हेरेको जीवन्त अभिनय र सुमधुर गीत–संगीतले भरिपूर्ण म्युजिकल फिल्म ‘तीनपाते’ हो । त्यसमा हाम्रो निश्चल बालापनको सजिव चित्रण छ । जीवनको संघर्षको कथा छ । अनि, चोखो मायाँ पिरतीको उभार छ । फिल्मको अन्त्यमा प्रस्तुत ‘रात पछि हुन्छ उजेली’ भन्ने सकरात्मक सन्देश त हामी सबैले मनन गर्नैपर्छ ।

त्यस्तै, चोखो मायाँ पिरतीको कथामा बुनिएको ‘रुमालै चिनो’ नामक म्युजिकल फिल्मले पनि त्यही उमेर समूहका धेरैलाई कुतकुती लगाउँदो हो । मलाई भने त्यो म्युजिक फिल्मको पात्रको जीवन्त अभिनयले धेरै नै तान्यो । ‘साँचो मायाँ पिरती भनेको त्यस्तो पो हुँदो रहेछ’ भन्ने मनमा गहिरो छाप छाड्न सफल छ, त्यो म्युजिक भिडियो ।

मनमा गहिरो छापमात्र हैन, हेदाहेर्दै आँखामा आगोको झिल्का बाल्ने म्युजिकल फिल्म ‘बदला बरिलै’ भर्खरै सार्वजनिक भएको छ । अभिनेत्री केकी अधिकारीको जीवन्त अभिनय र म्युजिक भिडियोको मार्मिक शब्द–संगीतले दर्शक–स्रोताको भित्री मन हल्लाउँछ । त्यो म्युजिक भिडियो हेर्दैगर्दा मैले मनमा कल्पना पनि गरेँ, तेह्र वर्षकी कलिली बालिका निर्मला पन्तको बलात्कारपछि जघन्य हत्या गर्ने अपराधीहरुले त्यसैगरी महाकाली नदीको उर्लदो भेलमा हेलिएको समाचार सुन्न पाए उनको मृतआत्मालाई बदला मिल्थ्यो होला ।

‘बरिलै’ भन्ने बित्तिकै तीजको प्रसङ्ग आइहाल्छ । अहिलेको बिषम परिस्थितिको कारण हाम्रा छोरीचेली माइत जानसक्ने अवस्था छैन । तीजको दरमा रमाउने र तीजको गीतमा छमछमी नाच्ने अवस्थापनि छैन । जति नाच्ने हो, जति रमाउने हो, टेलिभिजनको पर्दामा आएका तीजको नयाँ भाका समाएर रमाउने हो, गाउने हो ।

विषम परिस्थितिमा पनि हाम्रा कलाकारहरु थाकेका छैनन् । बरु अहिले बाध्यता र विवशताका बीच पनि नयाँ भाका पस्किरहेका छन् । लकडाउनका कारण यस वर्ष तीजको म्युजिक भिडियोमा अलिक फरक प्रस्तुति देख्न पाइन्छ । यस्तैमा, प्रीति आले र उनको ब्याण्डको ‘ लरिलै बरिलै’ बोलको लोक पप भाकाको तीजको गीत धेरै श्रोताले मन पराएका छन् । ‘फरिया भिज्यो मेरो दर्के पानीले’ बाट सुरु भई ‘कोरोनाले राखे अर्को तीजमा आउँछु’ भनी अन्त्य भएको त्यो ‘फ्युजन म्यूजिक’ मा सिर्जनात्मक प्रस्तुति त छँदैछ, जीवनप्रतिको सकरात्मक धारणा र भविष्यप्रतिको आशावादिता पनि त्यसमा त्यत्तिकै प्रबल रुपमा प्रस्फुटित भएको छ ।

अहिलेको असामान्य परिस्थितिमा हामीलाई चाहिएको मूलमन्त्र पनि त्यही नै त हो । छोरीचेलीले माइत जान पाइनँ भनेर चित्त नदुखाउनु, दर खान पाइनँ भनेर मन सानो नगर्नू, छमछमी नाच्न पाइनँ भनेर ननिको पनि नमान्नू, घरकै दालभातलाई दर सम्झी खानू, अनि घरकै आँगन, खेतका गह्रा, वारीको पाटा, जता भएपनि एक्लैदुक्लै जति हुन्छ, तीजको गीत गाउन र नाच्न नछाड्नू ।

यो सालको तीज यस्तै भयो । अर्को सालपनि तीज अवस्यै आउँछ बरिलै ।

(परराष्ट्र सेवामा लामो समय बिताएका श्रेष्ठ बंगलादेशका लागि पूर्व नेपाली राजदूत हुन्)

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट