तीजको कथालाई कति मान्ने, कति नमान्ने भन्ने कुरा आफ्नो ठाउँमा होला । तर, यसको सुरुवाती पृष्ठभूमिलाई हेर्ने हो भने आफ्नो अधिकार स्थापित गर्न र स्वरहरु बुलन्द पार्न यसको महत्व रहेको रुपमा लिनुपर्छ । मैले त्यसरी नै लिने गरेको छु ।
पार्वतीले ‘महादेव पति पाऊँ’ भनेर ब्रत बसेको भन्ने कथा बनाइएको छ । यदि यस्तो नै हो भने पनि आफूले रोजेको र आफ्नो मागको लागि समय सापेक्ष हिसाबबाट गरेको संघर्षको परिणाम हो, आजको दिन ।
हाम्रो सामाजिक संरचना पुरुष प्रधान छ । छोरीहरु बिहे गरेर पराइघर जानुपर्ने हुन्छ । अर्काको घरलाई आफ्नो आफ्नो घर ठानेर बस्नुपर्ने हुन्छ । र, आफू जन्मे–हुर्केको घरलाई बिर्सनुपर्ने स्थिति छ । अहिलेको जस्तो यतायात र सञ्चारको सहज उपलब्धता थिएन त्यतिबेला । त्यो बेला आफ्ना आफन्त र बालसखा भेट्न पनि सम्भव थिएन ।
त्यो अवस्थामा कम्तिमा वर्षको एक पटक तीजको अवसरमा माइत जान पाइएला भन्ने आशा राख्नुपर्ने अवस्था थियो । कमसेकम त्यो दिन मीठो खाना खान पाइन्छ र आफ्नो बालसखा भेट्न पाइन्छ, जन्म दिने बाबु–आमालाई भेट्न पाइन्छ र आफूले वर्षभरि खेपेको दुःख पोख्न पाइन्छ भन्ने रुपमा तीजलाई लिने गरिन्छ ।
देशमा राजनीतिक परिवर्तन भएको छ । तर, समाज विकृति र विसंगतिबाट मुक्त भएको छैन । राजनीतिक परिर्वतन भएर देश ‘संघीय लोकतान्त्रिक नेपाल’ मा रुपान्तरित भएको यो सन्दर्भमा महिलाका समस्या के छन् ? महिला मुक्तिका उपाय के छन् ? महिला मुक्तिका एजेन्डा के छन् ? अब हामी कसरी अगाडि जाने ? भन्ने सन्दर्भमा विमर्श हुनुपर्छ ।
तर अहिलेको समाजले तीजलाई विकृत रुपमा मनाउन थाल्यो । एउटै चाड महिना दिनसम्म मनाउने भनेको विकृति नै हो । साथीभाई घमघट हुने र दुःखसुख बाँड्ने भनेको एउटा कुरा हो । तर, यस्तो भेटघाटको अवसरमा पनि भड्किलोे किसिमले लत्ताकपडा र गहना प्रदर्शनको प्रदर्शन गर्ने अस्वस्थ परम्पराको सुरुवात भयो । यो गलत हो ।
सीमित रुपमा भए पनि पछिल्लो समय यो विकृतिलार्य निषेध गरिएको छ । यस्तो गर्न पाइँदैन भनेपछि केही रोकियो पनि । नत्र एकताका त पार्टी प्यालेस पुरा भरिभराउ पार्ने र महिनौं अगाडिदेखि तडक–भडक गर्ने अवस्था थियो ।
हामीले पञ्चायतकालमा चुनावलाई उपयोग गर्ने नीति लिएका थियौं । त्यो व्यवस्थाले जनअधिकार हनन र कुण्ठित गरेको थियो । महिलाको शोषणको केन्द्र भनेको सामन्तवादी राज्यसत्ता हो, जसको निर्णायक केन्द्रमा राजतन्त्र थियो ।
अरु बेला विरोध गर्न नपाइने भएकाले हामीहरु तीजको अवसर पारेर पञ्चायतको विरोध गथ्र्यौं । महिलामाथि हुने शोषणको चुरो के हो भन्ने उजागर गरिदिने काम तीजका कार्यक्रममार्फत् गथ्र्याैँ । एकताबद्ध भएर नलड्दासम्म आफ्नो हकअधिकार प्राप्त हुँदैन, यो वर्गीय मुक्तिसँग पनि जोडिएको छ । एकाङ्गी रुपमा हुन सक्दैन भनेर हामीले अभियानका रुपमा तीजलाई प्रयोग गथ्र्याैँ । त्यसरी तीज मनाउने क्रममा हामीलाई पटक पटक पक्राउपूर्जी पनि काटिन्थ्यो । पञ्चायतको त कुरै छोडौं, बहुदलकालमा पनि त्यसरी मनाउँदा पक्राउपूूर्जी काटेर भूमिगत हुनुु परेको छ ।
तीजको ऐतिहासिक पृष्ठभूमिलाई वैज्ञानिक किसिमबाट स्थापित गर्दै मौलिक किसिमले अगाडि लिएर जानुपर्ने हो । भेटघाट गर्ने अवसरका रुपमा यसलाई प्रयोग गर्ने, सामाजिक रुपान्तरणको अभियानमा रुपान्तरित गर्ने दिशातिर हाम्रो पहल हुुनुपर्छ । यसका लागि यसमा भएका विकृति–विसंगतिलाई अन्त्य गर्नुुपर्छ ।
देशमा राजनीतिक परिवर्तन भएको छ । तर, समाज विकृति र विसंगतिबाट मुक्त भएको छैन । राजनीतिक परिर्वतन भएर देश ‘संघीय लोकतान्त्रिक नेपाल’ मा रुपान्तरित भएको यो सन्दर्भमा महिलाका समस्या के छन् ? महिला मुक्तिका उपाय के छन् ? महिला मुक्तिका एजेन्डा के छन् ? अब हामी कसरी अगाडि जाने ? भन्ने सन्दर्भमा विमर्श हुनुपर्छ ।
संविधानले दिएका हकअधिकारलाई संस्थागत गर्दै, यसलाई अझ सम्बृृृद्ध बनाउन, समाजलाई अझ प्रगतिशील बनाउने दिशातिर अघि बढ्न छलफल र बहस हुनुपर्छ । तर, हाम्रो समाज त्यो खालको चेतनाले ओतप्रोत भएर अगाडि बढेको देखिएन । तीजलाई आधुनिक सन्दर्भमा ढाल्ने भन्दापनि परम्परागत रुपमै मनाउने काम भएको छ । पढेलेखेका मान्छे समेत निराहार ब्रत बस्न थालेका छन् । निराहार ब्रत बस्ने र पुजापाठ गर्नेतिर गएको देखिन्छ ।
निराहार ब्रत बस्ने काम गलत भयो, यसले समाजलाई झन् विकृतितर्फ धकेल्यो भनेर विरोधको अभियान सुरु गरेपछि केही वर्ष अगाडिदेखि यसमा थोरै परिवर्तन नआएको भने होइन । अभियानकै कारण पोखरामा त महिनौंदेखि पार्टी प्यालेस गएर दर खाने र कार्यक्रम गर्ने कुरामा प्रतिबन्ध लगाइएको थियो ।
कस्तो रङको कपडा लगाउने भन्ने आफ्नो छनोटको विषय हो । मलाई सेतो रङ मन पर्छ । कसैलाई रातो मन पर्ला र कसैलाई हरियो मन पर्ला । आफ्नो छनोट अनुसारको रङको कपडा जहिले लगाए पनि हुन्छ । तीजकै दिन रातो कपडा र छड्के तिलहरी लगाउनुपर्छ भन्ने छैन ।
तीजमा जसरी अस्वस्थ खालको प्रतिष्पर्धा भयो, त्यो गर्न आफ्नो कमाइले पुग्दैन । आफ्नो कमाइले नपुगेपछि अरुतिर आँखा लगाउनुपर्यो । अरुतिर आँखा लगाउनु भनेको भ्रष्टाचार अथवा अनियमितता गर्नु हो । मुलुकमा सुशासनको ठूलो दुस्मन भनेको अनियमितता र भ्रष्टाचार हो ।
आफ्नो हैसियत र कमाइ के छ, त्यो ख्याल गर्नु छैन, ‘फलानाले यति लगायो र मैले त्यो भन्दा बढी लगाउनुपर्छ’ भन्ने खालको अस्वस्थ प्रतिष्पर्धाले समाज र मुलुकलाई सुशासनतर्फ होइन, कुशासनतर्फ लान्छ । तीजमा गहना र कपडामा हुने प्रतिस्पर्धाले समाजलाई त्यतातिर लैजाँदैछ ।
ठीक छ, मिहेनत गर आफ्नो हैसियत बढाऊ । तर, ‘उसले घोडा चढ्यो, म धुरी चढ्छु’ भन्ने अस्वस्थ प्रतिष्पर्धा गरेर मुलुकलाई कुशासनतर्फ लैजाने भूमिका कसैले पनि खेल्नुहुन्न । जिम्मेवार नागरिकको त यस्तो कुरामा कुनै भूमिका देखिनु हुँदैन ।
(प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)