जति जिज्ञाशा बगिरहेका गंगा र यमुना हाम्रो अवचेतन मनमा जगाउँछन्, त्यत्ति नै यी दुई नदीका उद्गमस्थल गंग्रोत्री र यमनोत्री हिमनदीबारे पन छ। यी हिमनदी थिएनन् भने नदी पनि हुने थिएनन् भन्नु गलत हुँदैन। अर्थात् उद्गमस्थल छ भने नदीमा प्रवाह हुन्छ र प्रवाह छ भने नै जीवन हुन्छ। यो तथ्य गुरु र शिष्यमा पनि लागू हुन्छ त? रमाकान्त अचरेकर वा राजसिंह डुन्गरपुर नभएका भए सचिन तेन्दुलकर पनि हुँदैन थिए त? महमुद हुँदैन थिए त के अमिताभ बच्चन अहिलेको स्थानमा हुन्थे?
यसरी नै यदि ती व्यक्ति हुँदैन थिए भने अहिले हामीसामु महान किशोर कुमार र लता मंगेशकर हुन्थे होला?
सायद, नयाँ पुस्ताले उनलाई बिर्सिसकेका छन्। यहाँ कुरा भइरहेका व्यक्ति हुन राजस्थानको सजानगढस्थित कस्बे भन्ने ठाउँमा जन्मिएका संगीतकार खेमचन्द प्रकाश । खेमचन्द तिनै व्यक्ति हुन, जसले सन् १९४९ को चलचित्र ‘महल’को गीत ‘आएगा आने वाला’मा लता मंगेशकरलाई गाउन लगाएका थिए। किशोर कुमारलाई सन् १९४८ को चलचित्र ‘जिद्दी’को गीत ‘मरने कि दुआए क्यु’ गाउन लगाएका थिए। यी दुई गीतबाट खेमचन्दले भारतीयसँगै विश्व गीतसंगीत क्षेत्रलाई नै दुई तारा दिएका थिए, जसको चमक जुनकोभन्दा पनि धेरै थियो।
भन्नलाई त, प्रतिभा भएका मानिसलाई कुनै परिस्थिति वा व्यक्तिको साहारा चाहिँदैन भनिन्छ। तर, नुरजहाँ पाकिस्तान नभएकी भए र उनलाई भारतमै खेमचन्द प्रकाश, नौशाद वा मदन मोहनजस्ता संगीतकारको साथ हुन्थ्यो भने के उनले लता मंगेशकरलाई पछाडि पार्ने थिइनन्?
खेमचन्द्र प्रकाशले संगीत आफ्नो अघिल्लो पुस्ताले दिएको सम्पत्तिको रुपमा पाएका थिए। उनका बुबा पण्डित गोवर्धन प्रसाद जयपुरका महाराजा माधो सिंह (द्वितीय)का दरबारीया गायक थिए। खेमचन्द १९ वर्षको हुँदा नै उनको बुबाको ठाउँमा दरबारीया गायक र कथक नृत्यकार भएका थिए।
उनको भाग्यमा मुम्बई (बम्बई)आउन त लेखेको थियो। तर, त्योभन्दा अघि उनलाई भाग्यले कहाँ कहाँ लिएर गएन? २०औं शताब्दीमा भारतका राजामहाराजाको स्थिति निकै खराब थियो। जयपुरबाट बाहिर आएर खेमचन्द प्रकाश केही दिनका लागि राजा गंगा सिंहको निमन्त्रणामा बिकानेर गएका थिए। त्यहाँ मन नबसेपछि उनी केही समय नेपाल गए। नेपालमा गएर त्यहाँ पनि उनले राजदरबारिया गायककैरुपमा काम गरे। केही समयपछि उनी नेपालबाट भारत नै फर्किए।
भारत फर्किएपछि उनी कलकत्ता आएर रेडियोमा कलाकार बनेका थिए। त्यहाँ उनको भेट भएको थियो संगीतकार तिमिर बरनसँग। बरनले खेमचन्दलाई कलकत्ताको प्रसिद्ध ‘न्यु थिएटर्स’मा अनुबन्धित गराए। सन् १९३५ मा आएको ‘देवदास’ चलचित्रमा संगीत तिमिर बरनकै थियो। भनिन्छ, चलचित्रको दुई गीत ‘बालम आये बसो मेरे मन मे’ र ‘दुःख के दिन अब बीतत नाहीँ’लाई खेमचन्दले नै कम्पोज गरेका थिए। तर, यसका गीतकार केदार शर्मा भने संगीतको श्रेय महान कुन्दन लाल सहगललाई दिन्छन्।
सन् १९३८ मा ‘न्यु थिएटर्स’मा अर्को चलचित्र आएको थियो, ‘स्ट्रिट सिंगर’ । त्यहिँ सिनेमा जसमा केएल सहगलले ‘बाबुल मोरा नैहर छुटो ही जाए’ गाएका थिए। यो चलचित्रमा एउटा गीत थियो, ‘लो मैडम खा लो खाना’ जसमा खेमचन्दले संगीत गरेका थिए।
त्यतिबेला पृथ्वीराज कपुर आफ्नो थिएटर ‘पृथ्वी थिएटर्स’लाई सहर डुलाउँथे। उनले कलकत्तामा स्ट्रिट सिंगर चलचित्र हेर्न पाए। ‘पापाजी’ पृथ्वीराज कपुरले खेमचन्दको प्रतिभालाई पहिचान गरिहाले। लगत्तै उनलाई बम्बई आउन भने। सन् १९३९ मा खेमचन्द प्रकाश आफ्नो सर-सामन लिएर सपनाको नगरी बम्बईतर्फ हानिएका थिए।
सन् १९३९ बाट सन् १९४३ सम्म खेमचन्दले ‘गाजी सलाउद्दिन’, ‘परियाद’, ‘खिलौना’, ‘चिराग’लगायतका चलचित्रमा संगीत गरेका थिए। त्यत्तिकैमा ‘सुप्रिम पिक्चर्स’ र ‘रणजित मुविटोन’ एउटैमा गाभिएका थिए। त्यसपछि आएको चलचित्र ‘तानसेन’ सधैंका लागि सबै कुरा परिवर्तन गराइदिएको थियो।
सन् १९४३ मा आएको चलचित्रमा खेमचन्दले राग दीपकमा रहेको गीत ‘दिया जलाखो जगमग जगमग’ केएल सहगललाई गाउन लगाए। यो गीत रिलिज भएसँगै बलिउडको संगीत क्षेत्रमा खेमचन्द एकाएक चर्चित भए। भनिन्छ, यो गीतलाई लिएर खेमचन्दले महिनाभरि नै मिहेनत गरेका थिए। अनिमात्र गीत संगीतबद्ध भएको थियो।
गुलाम हैदरले जस्तै खेमचन्दले पनि लता मंगेशकरको प्रतिभाले धेरै पहिला नै चिनिसकेका थिए, जब उनी रण्जित मुविटोनका लागि संगीत बनाउँथे। खेमचन्दले लतलाई गीत गाउनका लागि अनुबन्धित गर्ने कुरा रण्जित मुविटोनका मालिक चन्दुलाल शाहलाई भनेका थिए। तर, शाहलाई लताको आवाज मन परेन। खेमचन्द र शाहबीच झगडा पनि भयो। उक्त झगडापछि खेमचन्दले लतालाई गीत गाउन लगाउने जिद्दीपनलाई छाडेनन्। बरु उनले रण्जित मूविटोन छाडिदिए र बम्बे टाकिजमा काम गर्न थाले।
बम्बे टाकिज त्यही स्टुडियो थियो जसको स्थापना देविका रानीका पनि हिमांशु रोयले गरेका थिए। उनको पार्टनरको रुपमा संगीतकार मदन मोहनका बुबा रायबहादुर चुन्निलाल रहेका थिए। यही स्टुडियोबाट अशोक कुमार उत्पादन भए र देवानन्दको पहिलो हिट सिनेमा जिद्दी पनि यहीँबाट निर्माण भयो। किशोर कुमारको पहिलो हिट गीत पनि यहीबाट आयो। फ्लिममा ड्युट ‘ये कौन आया करके सोलह सिंगार’ गाउनको लागि किशोर कुमार र लता एकसाथ आए।
खेमचन्दले अन्य थुप्रै सिनेमामा संगीत भरेका थिए। तर, महलमा भएको जस्तो संगीत अन्त कतै पनि भेटिँदैन। सादय, भाग्यकै खेल थियो महल चलचित्र रिलिज भएको केही महिनामै ४२ वर्षको उमेरमा खेमचन्दको निधन भयो।
यो सिनेमा बनिरहँदा एउटा किस्सा पनि छ। एक दिन बिहान लता मंगेशकर गीतको रेकडिङका लागि बम्बे टाकिजको स्टुडियो जाँदै थिइन्। लोकन ट्रेनबाट उनी स्टुडियो भएको ठाउँ गोरेगांव जाँदै थिइन्। उनकै साथमा ट्रेनबाट एकजना दुब्ले युवक पनि उत्रिएर उनको पछि-पछि आएको थियो। हतार-हतार स्टुडियो पुगेर बाटोमा भएको घट्नाको बारेमा उनले खेमचन्दलाई सुनाइन। त्यो घट्ना सुनाइसकेर पछाडि फर्किदा लताको अवस्था बेहोस हुन लागेको जस्तै भयो। उनको पछाडि अघि उनलाई पछ्याउने व्यक्ति उभिएको थियो। त्यसपछि भने चलचित्र निर्माण सबै सदस्यबीच लामो हाँसो छुट्यो। लताले पनि बुझिन्, उनको पछि आउने व्यक्ति अरु कोही नभएर चर्चित अभिनेता अशोक कुमारका कान्छा भाइ किशोर कुमार रहेछन्।
सन् १९४९ मा बम्बे टाकिजले आफ्नो सबैभन्दा शानदार सिनेमा ‘महल’ निर्माण गरिरहेको थियो। चलचित्रको संगीतको सबै जिम्मा खेमचन्द माथि थियो। लता त्यतिञ्जेलसम्म खेमचन्दले गर्ने संगीतमा भरिने आवाजको महत्वपूर्ण अंश भइसकेकी थिइन्। सिनेमाका निर्देशक कमाल अमरोहीले ‘आएका आनेवाला’ गीतको सुरुवातका दुई अन्तरा लेखेका थिए, जसलाई खेमचन्द भने राख्न चाहिरहेका थिएनन्। तर, अमरोहीको जिद्दीको अगाडि खेमचन्दको केही लागेन। पछि फ्लिम प्रदर्शनमा आएपछि भने अन्तराका तिनै दुई हरफका कारण गीतले निकै चर्चा पायो।
गीतको रेकडिङको क्रममा खेमचन्दले लतालाई गीत गाउँदै गर्दा माइकभन्दा केही टाढा गएर फेरि नजिक आउन भनेका थिए। धुनहरुको यात्राको आधारमा पंकज राग लेखिन्छ। यो गीत त्यही रागमा थियो। खेमचन्द यो गीतमा भएको मधुर लयलाई लिएर यति धेरै आशंकामा थिए कि उनले सिनेमाबाट गीतलाई नै हटाउनेसम्मको मन बनाएका थिए। तर, लताले भने जादु गरिन्। त्यो बेलाका समकालीन गायिकाहरुमध्ये लता केही फरक भएर देखिइन्। यही गीतका कारण उनी निकै चर्चासमेत बटुलिन्।
यो गीतको मुखडामा मात्र दुई शब्द छन्, ‘आएगा’ र ‘आनेवाला’ । सायद, हिन्दी गीतहरुमा यो नै सबैभन्दा छोटा मुखडा भएको गीत होला। यति हुँदा-हुँदै पनि यसमा खेमचन्दले निकै जायुमय संगीत गरेका छन्। यो गीत आएपछि यस्तै प्रयोग गर्ने प्रयास पनि भए। आनन्द बख्शी र एसडी बर्मैनले सन् १९७० मा आएको चलचित्र ‘इश्क पर जोर नही’को गीत ‘ये दिल दिवाना है’मा यो प्रयोग गर्ने प्रयास गरेका थिए। तर, प्रयास प्रयासमै सीमित रह्यो।
महलको त्यो गीत बिना लता अधुरीजस्तै हुन्छिन् र खेमचन्द पनि त्यो गीत नभएको भए अधुरै हुन्थे। ‘लता सुर गाथा’मा यतिन्द्र मिश्र लेख्छन्, ‘महल लता मंगेशकरको संघर्षका दिनहरुको चलचित्र थियो। यसमा गायकको रुपमा उनलाई कुनै श्रेय दिइएको थिएन। श्रेय त मधुवाला चलचित्रकी पात्र ‘कामिनी’लाई दिइएको थियो।’ उनले खेमचन्दको संगीत सुन्दा उनले गरेको अभ्यास नै कतियौंपटक थियो भनेर छुट्याउन नसकिने भएको लेखेका छन्। सायद, असंख्य अभ्यास भएकै कारण होला राजु भारतन लता मंगेशकरको जीवनी ‘अ बायोग्राफी’मा लेख्छन्, ‘रेकर्डिङ रुममा जानु अगाडि यो गीतको धुन लताको अन्तर्मनको हिस्सा भइसकेको थियो।’
खेमचन्दले अन्य थुप्रै सिनेमामा संगीत भरेका थिए। तर, महलमा भएको जस्तो संगीत अन्त कतै पनि भेटिँदैन। सादय, भाग्यकै खेल थियो महल चलचित्र रिलिज भएको केही महिनामै ४२ वर्षको उमेरमा खेमचन्दको निधन भयो। महलमा उनले गरेको संगीत अन्तिम संगीत थिएन। तर, स्तरको हिसाबले त्योभन्दा बेजोड संगीत अरु देखिएन। महलमा भएको संगीतको मिठास बलिउड र तला मंगेशकरकै जीवनमा पनि सर्वश्रेष्ठ गायक र रचना हो भन्दा फरक पर्दैन।
सत्याग्रह डट स्क्रोलडट इनमा छापिएको यो सामग्रीलाई युवराज भट्टराईले नेपालीमा भावानुवाद गरेका हुन्।