युरोप र अष्ट्रेलियामा कोभिड–१९ को दोस्रो लहर, सतर्क रहन एनआरएनएको आग्रह-Sutra News

युरोप र अष्ट्रेलियामा कोभिड–१९ को दोस्रो लहर, सतर्क रहन एनआरएनएको आग्रह

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं– विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या १ सय ९२ पुगेको छ । शनिबार साँझ लक्जेम्वर्गमा एक नेपालीको निधन भएसँगै मृत्यु हुने नेपालीको संख्या १ सय ९२ पुगेको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६ देशमा १ सय ९२ जना नेपालीहरूको निधन भएको हो ।



स्वास्थ्य समितिले यो साता अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको जनाउँदै विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ ।स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ । यो अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन स्वास्थ्य संयोजक डा.सापकोटाले आग्रह गरेका छन् ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरूको ज्यान गएको हो । नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जना गैरआवासीय नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघको कोभिड-१९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भएपनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष पन्तले सो आग्रह गरेका हुन् । सरकारले स्वदेश फिर्तीका लागि उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको पन्त बताउँछन् ।

नेपालमा आफन्तको काजकिरिया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीहरूलाई आवश्यक भिसा र अन्य सुविधा उपलव्ध गराई नियमित उडानमार्फत् नेपाल फर्किने वातावरण मिलाउन उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारिक र व्यवस्थित गर्न नेपाल सरकार समक्ष संघले आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट