काठमाडौं- भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याविन कोठा) बनाएर चोरी पैठारी गर्ने ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ।
रजनिश कुमार गुप्ता र राजु थापा भन्ने राजेन्द्र थापासहित ६ जनाले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको अभियोगमा तीन करोड उन्नाइस लाख सतहत्तर हजार तीन सय बहत्तर रुपैयाँसहित आइतबार मुद्दा दायर गरिएको हो।
प्रतिवादीहरू वीरगञ्ज उप महानगरपालिका वडा नं. १० का रजनिश कुमार गुप्ता, खैरहनी न.पा. ३ चितवनका राजु थापा भन्ने राजेन्द्र थापा हुन्।
उनीहरूले भारतबाट कपडाहरू ल्याउँदा राजस्व चुहावट गरेकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेधित गरेको दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिम मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जानकारी दिएको छ।
विभागका अनुसार ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मालवस्तुको मूल्य त्रिपन्न लाख उनान्तीस हजार पाँच सय बैसठ्ठी विगो कायम गरिएको छ। अन्य प्रतिवादीहरूमा बारा घर भएका काठमाडौंमा कपडा पसल संचालन गर्ने रंजित कुमार गुप्ता, भारत घर भएका ललितपुरको धोवीघाटमा बस्ने सृजन शर्मा छन्।
उनीहरूले सामान व्यवस्थापन गर्न मुख्य भूमिका खेल्ने कार्य गरेकोले उनीहरूलाई तिन करोड उन्नाइस लाख सतहत्तर हजार तीन सय बहत्तर विगो कायम गरिएको छ।