इतिहास रच्ने अवसरबाट यसरी चुक्यो पिएसजी-Sutra News

इतिहास रच्ने अवसरबाट यसरी चुक्यो पिएसजी

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

काठमाडौं– ६५औँ युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनल वार्यन म्युनिखले जितेको छ। नेपाली समय अनुसार सोमबार बिहान १२ः४५ बजे पोर्चुगलको लिस्बोन सहरस्थित स्टुडियो डा.लुज रंगाशालामा भएको फाइनल खेलमा फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन ‘पिएसजी’लाई  १–० गोल अन्तरले हराँउदै जर्मन बुन्डेसलिगा च्याम्पियन वार्यन म्युनिखले उपाधि जितेको हो।



वार्यनलाई उपाधि दिलाउन पर्याप्त एक मात्रै गोल दोस्रो हाफको ५९ औँ मिनेटमा किङ्गलेस कोमनले गरेका थिए। जोसेफ किमिखले डिबक्स बाहिरबाट गरेको क्रस बललाई कोमनले उत्कृष्ट हेडिङ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। कोमनले गरेको उक्त गोलको मद्धतमा बार्यनले छैटौँ उपाधिका साथै च्याम्पियन्स लिगमा ऐतिहासिक ५०० औँ गोलको कोसेढुङ्गा पनि पार गरेको छ। यस अघि च्याम्पियन्स लिगमा स्पेनिस महारथि रियल मड्रीड र बार्सिलोनाले मात्रै ५०० गोलको आँकडा पूरा गरेका थिए।

च्याम्पियन्स लिगमा १२ औँ पटक फाइनल खेलिरहेको वार्यन र इतिहासमा पहिलो पटक फाइनल खेलिरहेको पिएसजीबीचको पहिलो हाफको खेल युद्धस्तरकै गतिमा प्रतिस्पर्धा भएको थियो। पहिलो हाफमा दुबै टिमबाट उत्कृष्ट प्रहार र उत्कृष्ट बचाउहरू भएका थिए। वार्यनको रक्षापंक्ती तोड्दै नेयमारले सुरुवातमै गरेको प्रहार र उनकै रिबाउन्स प्रहारलाई बार्यनका गोलरक्षक म्यानुयल नोयरले उत्कृष्ट बचाउ गरेका थिए। किलियन एम्बाप्पे र एङ्गल डिमारियाले पनि पाएका सुनौला अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पिएसजी ऐतिहासिक पहिलो च्याम्पियन्स लिगको उपाधि उचाल्नबाट वञ्चित हुनपर्यो।

पहिलो हाफका सम्पूर्ण प्रयासहरू पिएसजीका गोल रक्षक किर्लियो नाभासले विफल बनाए पछि दोस्रो हाफको सुरुवातदेखि नै वार्यनले बल नियन्त्रणमा आफ्नो पूर्ण पकड राख्न सफल रह्यो। र, फलस्वरुप ५९ औँ मिनेटमा गोल गर्न सफल भयो। उक्त गोलपछि वार्यनले बल नियन्त्रणमा झनै मजबुती कायम गर्न थाल्यो भने पिएसजीले ६५ औँ मिनेटसम्म आइपुग्दा आफ्नो अपरिपक्व खेलको छनक देखाउन थालिसकेको थियो।

पिएसजीको अपरिपक्वतापन मैदानमा यसरी झल्किन थाल्यो कि फ्रन्ट लाइनका जिम्मेवारी सम्हालिरहेका नेयमारले आएर मैदानको मध्य भागमा बल दौडाइरहेका लेवान्डोस्कीलाई फाउल गर्दै पहेंलो कार्ड खानसम्म भ्याएका थिए। पाँच पटक च्याम्पियन्स लिग जितेको अनुभव बोकेको वार्यनले छैटौं उपाधिका लागि त्यही अनुसारको प्रदर्शनलाई जारी राखेको थियो।

दोस्रो हाफको अन्त्यतिर नेयमारको एक उत्कृष्ट प्रहार बाहेक अरु प्रायः प्रहारहरूमा पिएसजी खेलाडीहरू अफसाइड पोजिसन मात्रै बसेका थिए जस्ले गर्दा आक्रमण बुन्नलाइ गरेका प्रयासहरू बेकामका भएका थिए। खेल अवधिभर करिब ६२ प्रतिशत बल नियन्त्रण गरेको वार्यनले आफ्नो अनुभविपनालाई स्फुर्त रूपमा प्रदर्शन गर्दै टिमको सात वर्षे लामो च्याम्पियन्स लिग उपाधिको खडेरी माथि पूर्णविराम लगाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट