

काठमाडौं–अब वाणिज्य बैंकका प्रत्येक शाखाले विदेशी मुद्रा खरीद गर्नुपर्ने भएको छ। राष्ट्रबैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत् यस्तो व्यवस्था गरेको हो।
केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली ल्याएको छ। यही नयाँ विनियमावलीमा यस्तो व्यवस्था गरिएको हो। बैंकहरुले विदेशी मुद्रा कारोबार गर्न शाखा अनुसार लाइसेन्स लिने व्यवस्था समेत खारेज गरी एउटै अनुमतिपत्रले नै काम गर्ने व्यवस्था गरेको छ।
विनियमावली अनुसार बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा प्राप्त गरेको इजाजतपत्रको आधारमा आफ्ना शाखाहरूबाट विदेशी विनिमय कारोबार गर्न सक्नेछन्। विनियमावलीमा भनिएको छ, ‘शाखा अनुसार इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाले विनियमावली लागु भएको २ महिनाभित्र विदेशी विनिमय कारोबार गर्ने शाखाहरूको नाम, ठेगाना सहित नवीकरणका लागि निवेदन दिएमा सम्पूर्ण स्थानको लागि एउटै इजाजतपत्र दिइनेछ।’
विदेशी विनिमय कारोबारका लागि इजाजतपत्र प्राप्त गर्न सम्बद्ध बैंकले एकमुष्ट रुपैयाँ ५ लाख रुपैयाँ बुझाउनुपर्छ। यसैगरी, राष्ट्रिय स्तरका विकास बैंकले १ लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले २० हजार रुपैयाँ केन्द्रीय बैंकलाई बुझाउनु पर्नेछ। राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूलाई विदेशी विनिमय खरीद–बिक्री तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी पाँच वर्षका लागि अनुमतिपत्र दिनेछ।
विदेशी विनिमय कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले पनि कारोबार गर्न चाहे इजाजतपत्र लिन निवेदन दिन सक्नेछन्। यसरी निवेदन दिंदा कारोबार गर्ने स्थान वा क्षेत्र किटान गरी केन्द्रीय बैंकमा निवेदन दिनुपर्नेछ।
क्यासिनो सञ्चालकले विदेशी मुद्रा कारोबार गर्न लाइसेन्स लिनुपर्ने
यस्तै राष्ट्रबैंकले नेपाल भित्र क्यासिनो सञ्चालन गर्नेहरूले विदेशी मुद्रा कारोबार गर्नका लागि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स लिनुपर्ने भएको छ। केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत् यस्तो व्यवस्था गरेको हो। राष्ट्रबैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली ल्याएको हो।
विनियमावली अनुसार विदेशी मुद्रा कारोबार गर्न चाहने क्यासिनोले प्रतिकारोबार स्थानका लागि २५ लाख रुपैयाँ बराबरको जमानत ‘धरौटी’ राख्नुपर्नेछ । धरौटी अवधि २ वर्षको हुनेछ । त्यस्तै, इजाजतपत्र शुल्क बापत १ लाख रुपैयाँ केन्द्रीय बैंकलाई तिर्नुपर्नेछ।
उपकरणका माध्यमबाट मात्र खेलाइने खेलको हकमा भने प्रतिकारोबार स्थानका लागि १० लाख रुपैयाँ बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्नेछ। यसरी लिइएको इजाजत २ वर्ष नपुग्दै शुल्क बुझाएर नवीरकरण गरिसक्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ।