

काठमाडौं- सोमबार नेप्से सूचक २१.२६ अंकले बढेर १४३१.६० बिन्दुमा गएर रोकिएको छ।
१८२ कम्पनीको २ अर्ब १३ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ४९ लाख २४ हजार २८९ कित्ता सेयर खरिदबिक्री भएका छन्। होटेलबाहेक कारोबार भएका सबै समूहका सूचक बढेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६२.८७ अंकले माथि लागेको छ। वाणिज्य बैंक समूहमा पनि १५.८२ अंकले तेजी आएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी ६.९० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ता छन्। यसको भाउ २.२५ प्रतिशतले घटेको छ।
खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ। यसको १९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसैगरी, दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेको इन्सुरेन्स परेको छ।