सीमावर्ती सहर वीरगञ्ज कोभिड-१९ संक्रमणको ‘हटस्पट’ त बन्यो नै, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी स्वयं संक्रमित भए। २८ दिन लामो आइसोलेसनपछि उनी आइतबार ‘७ भदौ’मा संक्रमणमुक्त भएका छन्।
मेयरको हैसियतमा एकातिर उनले कोभिड-१९ संक्रमणको केन्द्र बनेको वीरगञ्जलाई नेतृत्व दिनु थियो भने अर्कोतिर आफ्नो र परिवारको स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने थियो। किनभने, उनका परिवारका सबै सदस्यमा कोभिड-१९ को संक्रमण देखिएको थियो।
आइसोलेसनमा रहँदा कोभिड-१९ को ‘हटस्पट’ बनेको वीरगञ्ज महानगरमा उनले गरेका प्रयासहरु कस्ता रहे? संक्रमणबाट मुक्त भइसकेपछि संक्रमणको महामारीबाट पार पाउन उनको योजना के छ ? यिनै विषयमा सूत्रन्युजका लागि समर्पण श्रीले मेयर सरावगीसँग कुराकानी गरेका छन्।
प्रस्तुत छ, मेयर सरावगीसँगको कुराकानीः
ढिलै सही, २८ दिनपछि कोरोनामुक्त हुनुभएको छ। यो बीचका अनुभव कस्ता रहे, सुनाइदिनुस् न।
काठमाडौं पुगेपछि मलाई पनि संक्रमण भएको जानकारी भयो। काठमाडौं जाँदा संक्रमित छु भन्ने सोचेर गएको थिइनँ। नगर विकास काषको बैठकमा सहभागी थिएँ। बैठकमा सहभागी हुँदाहुँदै ज्वरो आएको महसुस भयो। भोलिपल्ट उपचारको लागि मेडिसिटी अस्पताल गएँ। कोरोना संक्रमणको आशंकाका साथ मेरो पिसिआर परीक्षण गरियो।
पिसिआर परीक्षण गर्दा ‘पोजेटिभ’ आयो। बैठकमा हुँदा नै मलाई श्वास फेर्न कठिन भइसकेको थियो। कोभिड–१९ को संक्रमण भएको पुष्टि भएपछि १२ दिनसम्म मेडिसिटी अस्पतालमा मेरो सघन उपचार भयो। ‘एन्टिबाइटिक’लगायत धेरै औषधि लिएँ।
संघ र प्रदेशले गर्ने काम पनि मैले गरेको थिएँ। अब आफूचाहिँ काम नगर्ने, स्थानीय तहले गर्ने काममा अवरोध गर्ने काम उहाँहरुबाट भयो।
त्यसपछि स्टार अस्पतालमा गएँ। त्यहाँ पनि मलाई आराम भएन। दबाबको कारणले यस्तो भएको थियो। त्यसमाथि मेरो परिवार पनि सबै संक्रमित थिए। व्यवस्थापन सबै राम्रो भए पनि सबै बन्द थियो। त्यसपछि म आफ्नै घरमा आएर ‘आइसोलेटेड’ भएर बसेँ। आइतबार मेरो रिजल्ट ‘नेगेटिभ’ आयो।
यसअवधिमा १२ दिन आइसियुमा रहनुपर्यो। बाँकी दिन काठमाडौंको स्टार अस्पतालमा रहेँ। ५ दिन वीरगञ्जमा बिताएँ।
रिजल्ट जब नेगेटिभ आयो, कस्तो अनुभूति भयो ?
म वीरगञ्ज महानगरपालिकाको मेयर भएको कारण जिम्मेवारी निकै ठूलो थियो। वीरगञ्ज देशकै ठूलो ट्रान्जिट क्षेत्र पनि हो। २८ दिन आइसोलेसनमा रहँदा समाचारहरु हेर्थें। यहाँ संक्रमण भुसको आगो जसरी फैलिरहेको थियो। यसले भयावह रुप लिन्छ भन्ने बुझिरहेको थिएँ मैले। तर, मैले जति योजना बनाएँ, त्यसमा यहाँको प्रशासनले सहयोग गरेन, न राजनीतिक पार्टीहरुले गरे। तैपनि मैले साढे १२ सय जनाको पिसिआर टेस्ट महानगरबाट गराएँ।
मेरो परिवारका सबैजना संक्रमित थिए। आफू संक्रमणमुक्त भएपछि परिवारलाई हेर्न पाइयो। तर मेरो बुबा ग्राण्डी अस्पतालको भेन्टिलेटरमा हुनुहुन्छ, १० दिनदेखि। बुबाको स्वास्थ्यको चिन्ता रहेपनि अब ‘फ्रि’ भएर महानगरवासीहरुको व्यवस्थापनमा लाग्न सक्छु। अहिलेको मेरो दायित्व भनेको वीरगञ्जलाई कोभिडमुक्त गराउनु हो।
आफैँ मापदण्ड पालना नगरी भीडमा गएकाले यस्तो भयो भन्दै तपाईँको आलोचना भयो। कुरा के हो ?
तत्कालीन प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले ममाथि यस्तो आरोप लगाउनुभयो। तर, सत्य कुरा के हो भने, उहाँहरुले पनि कोभिड नियन्त्रणका लागि केही काम गर्नुभएन। उहाँहरु कोठे राजनीतिमा मात्र लाग्नुभयो। हामीले दिएको सुझाव मान्नु भएन। समन्वयमा कठिन वातावरण सिर्जना गरेर उहाँहरुले असहयोग गर्नुभयो।
राज्यले सबै अधिकार उहाँहरुलाई दिएको थियो। त्यो अधिकार उहाँहरुले कहाँ प्रयोग गर्ने हो भन्ने कुरा नै बुझ्नुभएन। उहाँहरुले आफ्नो कर्तव्य पूरा गर्नुभएको भए वा हामीले ल्याएका कार्यक्रम पूरा गर्न दिनु भएको भए यस्तो अवस्था आउँदैन थियो। उहाँहरुको बढी ‘फोकस’ काममा हैन, महानगरपालिकाले किनेका सामान र वितरण गरेको राहतमा हुन्थ्यो।
संकटको बेलामा सिडिओको जिम्मेवारी महामारी कसरी नियन्त्रण गर्ने हो भनेर हेर्ने हो। ‘भारतसँगको सीमा खुला छ, त्यसैले प्रवेशलाई रोक्नुस्’ भनेर अनुरोध गर्यौं। प्रशासनले यो काममा आफूलाई फोकस गर्नुपर्थ्यो। तर त्यसमा ध्यान दिनुभएन।
यहाँका राजनीतिज्ञहरुले पनि गल्ती गरे। महानगरपालिकालाई लत्याउने काम गरे। मेयरजस्तो मान्छेलाई लत्याएको परिणाम हो आजको वीरगञ्ज। मलाई आरोप लगाउनेलाई म अरु त के नै भन्न सक्छु र?
आफ्नो पिसिआर टेस्ट गरेपछि मोबाइल नै अफ गरेर गैरजिम्मेवारपूर्ण ढंगले हिँड्नुभएको भन्ने कुरा पनि सुनिएको थियो नि ?
मोबाइल मैले अफ गरेको हैन, अस्पतालले अफ गरिदिएको हो। म त बिरामी भएर सुतिरहेको थिएँ। मैले त्यस्तो बेलामा कसरी फोन चलाउन सक्छु?
स्थानीय तह, प्रदेश र सघीय सरकारबीच तालमेल नमिल्दा वा एकले अर्कोलाई असहयोग गर्दा पनि समुदायमा संक्रमण फैलिएको भनिन्छ नि?
म राजनीतिक पृष्ठभूमिको मानिस होइन, व्यापारिक र सामाजिक पृष्ठभूमिको मान्छे हुँ। मेयरमा मैले जितेकै समाजप्रतिको मेरो लगाव र लगानीको कारणले हो। त्यही कारण जनताले मलाई जिताएका हुन्। संघ र प्रदेशले गर्ने काम पनि मैले गरेको थिएँ। अब आफूचाहिँ काम नगर्ने, स्थानीय तहले गर्ने काममा अवरोध गर्ने काम उहाँहरुबाट भयो।
कहाँ, कुन सन्दर्भमा त्यस्तो गरियो ?
राहत बाँड्ने क्रममा सुरुदेखि नै हामीलाई हतोत्साहित गरियो। जनरल अस्पताल भनेको हामीसँग नारायणी अस्पताल मात्र हो। जब सरकारले कोभिड हस्पिटल व्यवस्था गर्न सकेन, तब त्यही हस्पिटललाई ‘कोभिड हस्पिटल’ घोषणा गर्यो।
एउटै जनरल हस्पिटलमा १ हजारभन्दा बढी ओपिडी चल्थ्यो। तर कोभिड अस्पताल भइसकेपछि त्यो ठाउँमा गरिब मानिसहरु जान पाएनन्। बेड नपाएर प्राइभेटमा जान थाले, अनि धमाधम मृत्यु हुन थाल्यो। धेरै जनतालाई समस्या हुँदापनि प्रदेश र संघीय सरकारले कुनै विकल्प दिन सकेन।
कोरोनाबाट मुक्त भएका मानिसहरुलाई बोलाएर स्वास्थ्यसेवा, औषधि वितरणलगायतका काममा लगाउन सक्छौँ। उनीहरुलाई भत्ता दिएर काम गराउन सक्छौं। हामीले यसलाई अवसरको रुपमा लिनुपर्छ।
तपाईँहरुले चाहिँ के गर्नुभयो त ?
हामी आफैँले निजी क्षेत्रलाई अनुरोध गरेर कोभिडको लागि ७० बेडको अस्पताल लियौं। करिब ४ सय भन्दा बढी मान्छेलाई उपचार गरेर हामीले त्यहाँबाट घर फर्काइसकेका छौं।
हामीले काम गर्छौ भनेर लेखेर सरकारलाई पठायौं, २८ दिनसम्म हाम्रो चिठ्ठीको जवाफ दिइएन। संविधानले नै जुन कामको दायित्व नेपाल सरकारलाई दिएको छ। तर सरकारले भौतिक र आर्थिक पूर्वाधारको खर्च वीरगञ्जले धान्नुपर्छ भनेर यो जिम्मेवारी हाम्रो टाउको थुपारिदियो।
वीरगञ्ज महानगरपालिकाकै मान्छेमात्र राख्नु परेको भए समस्या थिएन। तर हामीले रौतहट, सर्लाहीका मानिसपनि राख्नुपर्ने भयो। पर्सा जिल्लामा अन्य पालिका पनि थिए। तर संघीय सरकारले पूरै सेवा हामीले दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिदियो।
यस्तो स्थितिमा हामीले जम्मा ४५ लाखमा अस्पताल चलाइदियौं। तर, नेपाल सरकारले महिनाको डेढ करोड खर्च गरिरहेको छ। हामीले के देख्यौं भने, यहाँ टेस्ट भइराको छैन, त्यसैले कोरोना संक्रमण बढिरहेको छ। त्यसैले, हामीले नै पिसिआर मेसिन पनि किनेर दियौं। त्यो वीरगञ्ज महानगरपालिकाको काम थिएन। प्रदेश र संघ सरकारले वीरगञ्ज महानगरपालिकालाई धेरै दुःख दियो।
अब त तपाईँ संक्रमणमुक्त हुनुभयो। तर, वीरगञ्ज अझै पनि जोखिममा छ। महानगरलाई जोखिममुक्त बनाउने तपाईँका योजना के छन् ?
कसरी राहत दिने भन्ने कुरा सोचिरहेको छु। हामी प्रशासनकै जिम्मामा राहत सामग्री दिन्छौं। पिसिआर टेस्ट २ हजार बढी गराउन सकिन्छ। ठाउँ ठाउँमा ‘काउन्सिलिङ सेन्टर’ खोल्छौं। औषधि दिनुपर्ने, इम्युनिटी पावर बढाउने कुराको पनि व्यवस्थापन गर्दैछौं।
थप केही भन्नुपर्ने छ कि ?
म कोरोनामुक्त भइसकेको छु। कोरोनामुक्त भएकाहरुले कोरोना संक्रमितहरुको सेवा गर्नुपर्छ जस्तो लाग्छ। अब म त्यही गर्छु। विश्वमा जहाँ-जहाँ मान्छे निको भएर गएका छन्, उनीहरुलाई पनि अस्पतालका कतिपय कामको जिम्मा दिइएको छ। हामी पनि त्यसरी जाँदा फाइदा हुन्छ। कोरोनाबाट मुक्त भएका मानिसहरुलाई बोलाएर स्वास्थ्यसेवा, औषधि वितरणलगायतका काममा लगाउन सक्छौँ। उनीहरुलाई भत्ता दिएर काम गराउन सक्छौं। हामीले यसलाई अवसरको रुपमा लिनुपर्छ।