फ्रान्सेली फुटबलमा लागेको दाग- ‘किसानको लिग’-Sutra News

फ्रान्सेली फुटबलमा लागेको दाग- ‘किसानको लिग’

सोमबार, ८ भाद्र २०७७

सोमबार, ८ भाद्र २०७७

युइएफए च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखको पोल्टामा परेको २४ घण्टा नबित्दै फुटबल जगतमा विभिन्न खालको बहस सुरु भैसकेको छ। सामाजिक सन्जालमा आफ्नै समर्थकहरु पीएसजीसँग आक्रोशित भइरहेका छन्। धेरै समर्थक र फुटबल पण्डितहरुले बायर्नको यसपालीको अपराजित यात्रा पीएसजीले फाइनलमा पूर्णविराम लगाउने अनुमान लगाएका थिए।



अन्तर्राष्ट्रिय सञ्चार माध्यमले गरेको अनलाइन सर्वेक्षणमा ७४ प्रतिशत समर्थकहरुले पीएसजीले उपाधि जित्ने विश्वास व्यक्त गरेका थिए। तर फुटबल कुनै रियालिटी शोजस्तो समर्थकको भोटले जित्न सकिँदैन, मैदानमा गोल गरेर जित्न सक्नुपर्छ। विशेषज्ञहरुले पीएसजीले खेलाडी किनबेचमा अन्धाधुन्ध मोटो रकम खर्च गरेको र त्यसले उचित प्रतिफल दिन नसक्ने आरोप पहिलादेखि नै लगाँउदै आएका छन् र त्यो सही साबित पनि भयो।

गत अगस्ट १६ मा पीएसजीका खेलाडी किलियन एमबाप्पेले आफ्नो टिमले क्वार्टरफाइनलमा इटालियन क्लब एटलान्टालाई २:१ गोलले हराएपछि व्यङ्ग्यात्मक शैलीमा ट्वीटरमा लेखेका थिए- ‘फारमर्स लिग’ अर्थात् किसानको लिग। उता अर्को फ्रान्सेली क्लब लियोनले क्वार्टरफाइनलमा इटालियन क्लब युभेन्टसलाइ रोकेपछि क्लबको ट्वीटरमा एमबाप्पेको व्यंग्यमाथि अर्को व्यंग्य थप्दै लेखे- ‘नट अ फारमर्स लिग’ अर्थात किसानको लिग होइन।

फ्रान्सेली फुटबल लिगलाई ‘किसानको लिग’ भनेर फुटबल समर्थक अनि विशेषज्ञहरुले स्वस्फुर्त आरोप लगाँउदै आएका छन्। आज हामीले त्यसको जवाफ खोज्ने प्रयास गरेका छौं र तथ्यहरु प्रस्तुत गर्दैछौं।

युरोपेली फुटबल समर्थकहरुले फ्रान्सेली फुटबल लिगलाई गिज्याएर बोल्ने टुक्का हो ‘किसानको लिग’। यसको वास्तविक अर्थ पनि त्यही हो कि किसानहरुले खेल्ने लिग अर्थात् किसानहरुले खेल्ने फुटबल। किसानहरु दिनभरि खेती किसानीमा व्यस्त हुने र साँझपख मनोरञ्जनका लागि फुटबल खेल्ने सन्दर्भलाई जोडेर फ्रान्सेली लिगलाई जिस्कने भाषा हो किसानको लिग। यस्तो किन त?

फुटबल समर्थकहरुका अनुसार युरोपका टप ५ लिगहरु-  इङ्ग्लिस प्रिमियर लिग, लालिगा, सिरि ए, बुन्डेस लिगा र लिग वान अर्थात् फ्रान्सेली लिगहरुमध्ये सबैभन्दा कमजोर लिग हो- फ्रान्सेली लिग। उनीहरुका अनुसार फ्रान्सेली क्लबहरु एक अर्कामा प्रतिस्पर्धा गर्न सक्छन्, तर बाहिरका क्लबहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। उनीहरुमा व्यावसायिक फुटबल खेल्ने बानी छैन। समय कटाउन किसानी शैलीमा मात्रै खेल्छन्।

अर्को आरोप के छ भने लिग वानमा बलिया बलियाहरु मिलेर एउटा टिम बनाउँछन् अनि कमजोरहरुलाई सधैं हराउँछन्। यहाँ प्रतिस्पर्धा नै छैन। बलिया किसानहरु मिलेर कमजोर किसानहरुलाई हराउँछन् अर्थात् बलिया खेलाडीहरु लिएर टिमको निर्माण गरिन्छ अनि कमजोरहरुमाथि विजय हासिल गरिन्छ। वास्तवमा तथ्यले पनि त्यही बताउँछ कि लिग वानमा त्यही भएको थियो र अझै छ।

अन्तर्राष्ट्रिय सरुवा बजारले राखेको तथ्यांकअनुसार सन् १८९३ मा लिग वान सुरु भएदेखि नै यो घटना दोहोरिरहेको छ। लिगको सुरुवाती ७ वर्षमा स्ट्यान्डर्ड एथलेटिक क्लबले ५ वटा उपाधि जितेको थियो। सन् १९०१ देखि १९०८ सम्ममा क्लब रुवेइक्सले ५ वटा उपाधि जितेको थियो। त्यसयता पनि यस लिगमा अन्य क्लबहरुले लगातार धेरै लिगवान उपाधि जितेको थियो। सन् १९८८ देखि १९९२ सम्म मार्सेलीले लगातार उपाधि जितेको दियो। सन् २००१ देखि २००७ सम्ममा लियोनले सम्पूर्ण उपाधि जितेको थियो भने पीएसजीले सन २०१२ देखि हालसम्म ८ वर्षमा ७ वटा उपाधि जितिसकेको छ। यस तथ्यांकले लिग वानमा एउटै टोलीले लामो समयसम्म लगातार उपाधि जितेर दबदबा कायम राख्ने यथार्थ छर्लङ्ग छ। यस पछाडिको कारण यही मानिन्छ कि निश्चित समयका धनी एवं सभ्रान्त क्लबले राम्रा खेलाडीहरु भित्र्याएर अरु टिमको तुलनामा बलियो टिम तयार पार्ने चलन पुरानो हो।

घरेलु लिगमा दबदबा राख्ने तर अन्य लिगका टोलीसँग प्रतिस्पर्धा गर्दा सधैं हार्ने तथ्यले पनि फ्रान्सेली लिगलाई किसानको लिग भन्ने भनाइलाई सार्थक तुल्याइरहेको छ। हुन पनि च्याम्पियन्स लिग स्थापना भएदेखि ६५ वटा फाइनल खेल भइसकेको छ। तर यति लामो इतिहाँसमा फ्रान्सेली टोलीले जम्मा २ वटामात्रै फाइनल खेलेर एउटा उपाधि जितेको छ। सन् १९९२/९३ को सिजन मार्सेल्लीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो। आज बिहानमात्रै भएको च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग फ्रान्सेली टोली पीएसजी पराजित भएको थियो।

च्याम्पियन्स लिग अर्थात् अन्य लिगका टोलीसँगको खेलमा अति नै दयनीय तथ्यांकले पनि फ्रान्सेली लिग कमजोर रहेको प्रष्ट छ। त्यसैले पनि अन्य लिगका समर्थकहरुले उनीहरुलाई आफ्नै खेतमा मात्रै रमाउने किसानको लिग भनेर धज्जी उडाइरहेका छन्।

पछिल्लो समय फ्रान्सेली क्लब पीएसजीले लिगका अन्य क्लबलाई टक्कर दिने उद्देश्यले टिममा खेलाडीहरु भित्र्याइरहेका छन्। उसले विश्वस्तरीय अर्जिन्टिनी खेलाडी डिमारिया, रियल मड्रिडका उत्कृष्ट गोल रक्षक किर्लियो नाभास, बार्सिलोनाबाट विश्वकीर्तिमानी रकम २२२ मिलियन युरोमा नेयमार र मोनाकोबाट १३५ मिलियन युरोमा एम्बाप्पेलगायत धेरै खेलाडी भित्र्याइसकेको छ। तर सन २०१८-१९ को सिजनसम्म आइपुग्दा टोलीले क्वार्टरफाइनलभन्दा माथिको ढोका खोल्न सकेन।

यसपालीको सिजन फाइनलसम्म पुगेको पीएसजीको अगाडि फ्रान्सेली लिग अब किसानको लिगको रुपमा नरहेको सन्देश दिने गतिलो अवसर थियो। तर ऊ जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्नसँग हारिसकेकाले  किसानको लिग भन्नेहरुको मुख थुन्न ऊ असमर्थ बनेको छ। 

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट