वैदेशिक मुद्रा सञ्चिति र शोधनान्तर बचत हालसम्मकै उच्च-Sutra News

वैदेशिक मुद्रा सञ्चिति र शोधनान्तर बचत हालसम्मकै उच्च

मंगलबार, ९ भाद्र २०७७

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं- नेपाल राष्ट्रबैंकले गत आर्थिक वर्ष २०७६/७७ को आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ। विदेशबाट भित्रने रेमिट्यान्समा ०.५ प्रतिशतको गिरावट आएको छ। अघिल्ल्लो आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स गत आर्थिक वर्ष २०७६/७७ मा ०.५ प्रतिशले घटेको नेपाल राष्ट्रबैंकले जनाएको छ।



मूल्य वृद्धि ६.१५ प्रतिशत

गत आर्थिक वर्षमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ६.१५ प्रतिशत छ। यो राष्ट्र बैंकको वार्षिक लक्ष्यभन्दा बढी हो। राष्ट्रबैंकले गत आर्थिक वर्षमा मूल्य वृद्धिदर ६ प्रतिशतको सीमाभित्रै राख्ने लक्ष्य तय गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ४.६४ प्रतिशत थियो।

आर्थिक वर्ष ०७६/७७ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मूल्य वृद्धिदर ८.१६ प्रतिशत छ। अघिल्लो आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.०९ प्रतिशत थियो। सोही अवधिमा गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ४.६१ प्रतिशत छ। अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो वृद्धिदर ५.८६ प्रतिशत थियो। लकडाउनपछि मूल्य वृद्धिदरमा पनि सुधार देखिएको छ। गत चैतमा मूल्य वृद्धिदर ६.७४ प्रतिशत रहेकोमा वैशाखमा घटेर ५.८३ प्रतिशतमा झरेको थियो । त्यसपछि फेरि बढ्न थालेको हो।

शोधनान्तर बचत २ खर्ब ८२ अर्ब

गत आर्थिक वर्षमा मुलुकको शोधानान्तर स्थिति २ खर्ब ८३ अर्ब रुपैयाँले बचतमा छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा गत आर्थिक वर्षमा २ अर्ब ३५ करोडले बचतमा छ।

सरकारले लकडाउन सुरु गरेको (गत चैतदेखि) शोधनान्तर बढ्न थालेको हो। यही क्रममा जेठसम्म आइपुग्दा शोधनान्तर बचत करिब पौने २ खर्ब रुपैयाँ पुगेको थियो। गत वैशाखमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको र सरकारको बाह्य ऋण बढेको लगायतका कारण शोधनान्तरमा राम्रो सुधार देखिएको राष्ट्रबैंकले जानकारी दिएको।

लकडाउनको अवधिमा निर्यातमा केही सुधार हुनु, विदेशमा अध्ययन तथा पर्यटन खर्च घट्नु, बिजुलीको आयात घट्नुलगायत कारण शोधनान्तर स्थिति सुधारमा सहयोग पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

विदेशी मुद्रा सञ्चिति १४ खर्ब

गत आर्थिक वर्षको अन्त्यमा मुलुकको कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। गत असारको तुलनामा यो करिब ३५ प्रतिशतको वृद्धि भएको हो। २०७६ असारमा यो १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ थियो। गत वर्ष अमेरिकी डलरमा पनि यस्तो सञ्चिति बढेको छ।

२०७६ असारमा ९ अर्ब ५० करोड रहेको सञ्चिति २०७७ असारमा ११ अर्ब ६५ करोड पुगेको राष्ट्रबैंकले जनाएको छ । गत असारसम्मको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १२.७ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्रबैंकको दाबी छ। यो राष्ट्र बैंकको चालु आवको लक्ष्यभन्दा करिब ६ महिना बढी हो।

118164195_647643306131396_516472833379748091_n.png

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट