काठमाडौं- काठमाडौंमा बसोबास गर्ने प्रवेश आचार्यले अगस्ट २० मा फेसबुकमार्फत् एउटा पोस्ट लेखे, ‘अन्ततः मैले मेरो कोभिड पोजेटिभ भएको रिपोर्ट स्वाव दिएको आज १२ दिनपछि प्राप्त गरेँ। कोभिडसँग लड्नु र आफ्नो रिपोर्टको लागि लड्नु करिब-करिब एउटै रह्यो।’
स्वाव दिएको १२ दिनपछि पनि उनलाई रिपोर्ट पाउन सहज थिएन। त्यसको दुई दिनअघि अगस्ट १८ मा आचार्यले स्टाटसमार्फत् नै रिपोर्ट प्राप्त गर्न खेपेको दुःखबारे लेखेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको आशंकामा उनले टिचिङ अस्पताल महाराजगञ्जमा परीक्षण गरे।
‘सरकारको नियमअनुसार ५ हजार ५ सयमा कोभिड परीक्षण गर्नुपर्ने थियो। पहिले ५ हजार ५ सय तिरेपछि, फेरि आवश्यक किट किनेर ल्याउन भनियो। त्यसबापत फेरि मैले ३ सय ७५ तिर्नुपर्यो। सरकारले गरेको घोषणअनुसार सबै ५ हजार ५ सयमै हुनुपर्ने थियो। त्रासपूर्ण मानसिकता भएको बेला केही नबोली तिरेँ,’ उनले गुनासो गर्दै फेसबुकमा लेखेका थिए, ‘स्वाव दिएपछि, मंगलबार विहान १० बजे १३ नम्बर काउन्टरमा आएर रिपोर्ट लिन भनियो। म मंगलबार सम्पर्क गर्दा, रिपोर्ट दिन सकिँदैन तपाईँलाई फोन आउँछ भनियो। मैले रिपोर्ट दिनुस्, यदि म संक्रमित भए अरुलाई सर्न सक्छ, म आइसोलेसनमा जान्छु भन्दा पनि रिपोर्ट दिइएन।’
रिपोर्टको प्रतीक्षामा छट्पटिएका उनले ल्याबमा फोन गरे। ल्यावबाट जवाफ गयो, ‘तपाईँलाई इडीसीडी टेकुबाट फोन आउँछ।’ तर त्यो दिन फोन आएन। भोलिपल्ट विहान उनी आफैँले रिपोर्ट नआएको जानकारी गराए।
रिपोर्ट पत्ता नलागेपछि उनले आफ्नो चिनजानको मान्छे खोजेर फोन गरे। ती व्यक्तिले उनलाई पोजेटिभ छ मात्र भने, बाँकी कुरा भनेनन्। ‘बिहीबार पनि मलाई फोन आएन। एक जना पत्रकार दाइले स्वस्थ्य मन्त्रीको सचिवालयमा फोन गरेर गुनासो गरेपछि बिहीबार बेलुका फोन आयो- तपाईँको पोजेटिभ छ। त्योभन्दा अरु केही कुरा भएन। मेरो ‘कन्ट्याक्ट ट्रेसिङ’, मेरो स्वास्थ्य अवस्था केही सोधिएन,’ आचार्यले गुनासो पोख्दै भने, ‘मैले आफैँ भन्न खोज्दा वार्ड अफिसबाट फोन आउँछ भनियो। आज १० दिन हुँदा पनि कतैबाट फोन आएन, न ‘कन्ट्याक्ट ट्रेसिङ’ नै भयो।’
त्योबीचमा उनले आफ्नो स्वास्थ्यमा समस्या आएको पनि जानकारी गराएका थिए। १२ दिनपछि रिपोर्ट आउन पनि उनले पहुँच लगाउनुपर्यो। पछि उनलाई स्वास्थ्य मन्त्रीको प्रमुख सल्लाहकार डा. खेमबहादुर कार्कीले सम्पर्क गरेर रिपोर्ट लिन आग्रह गरेका थिए।
यतिमात्र हैन, आचार्यको परिवारका एक सदस्यलाई रिपोर्ट नेगेटिभ भनेर जानकारी गराइएको थियो, तर पछि रिपोर्टमा पोजेटिभ आयो।
एक जना पत्रकार दाइले स्वस्थ्य मन्त्रीको सचिवालयमा फोन गरेर गुनासो गरेपछि बिहीबार बेलुका फोन आयो- तपाईँको पोजेटिभ छ। तर मेरो ‘कन्ट्याक्ट ट्रेसिङ’, मेरो स्वास्थ्य अवस्था केही सोधिएन। मैले आफैँ भन्न खोज्दा वार्ड अफिसबाट फोन आउँछ भनियो। आज १० दिन हुँदा पनि कतैबाट फोन आएन, न ‘कन्ट्याक्ट ट्रेसिङ’ नै भयो।’
०००
नेपालमा कोभिड-१९ बाट हालसम्म ३३ हजारभन्दा बढी संक्रमति भएका छन् भने मृत्यु संख्या १ सय ६४ पुगेको छ। संक्रमितहरु बढेसँगै सर्वसाधारणलाई पीसीआर टेस्टको रिपोर्ट पाउन कति मुस्किल भइरहेको छ, त्यसको एक उदाहरण हुन्, आचार्य।
सरकारी अस्पतालमा घण्टौं लाइन लागेर स्वाj दिए पनि यतिखेर सर्वसाधरणले रिपोर्ट पाउन एक महिना कुर्नुपर्ने बाध्यता छ। सोमबार पत्रकार जेबी पुन मगरले सरकारी अस्पतालमा परीक्षण गर्दा समय लाग्ने भन्दै निजी प्रयोगशालामा स्वाव दिएको फेसबुकमार्फत् जानकारी गराएका थिए। ‘भनसुन गरीवरी सरकारी अस्पतालमा घन्टौं लाइन लागेर स्वाव दिइयो, रिपोर्ट आउन आधा महिना कुर्नुपर्ने! त्यसैले आज १२ घन्टाभित्रै रिपोर्ट दिने सरकारले मान्यता दिएको एउटा निजी प्रयोगशालालाई स्वाव दिइयो,’ उनले लेखेका छन्।
यसरी समयमा रिपोर्ट नपाएर सर्वसाधारण मानसिक तनाव र पीडाको अवस्थाबाट ग्रुजिरहेका बेला भिआइपीहरुले भने घरघरमै परीक्षणको सुविधा पाइरहेका छन्। गत ६ भदौमा नेकपा वरिष्ठ नेता माधव कुमार नेपालको स्वाव परीक्षण लिन स्वास्थ्य विभागको टोली उनको घरमै पुग्यो। परीक्षणको रिपोर्टमा पीसिओसहित ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। तर, नेपाल र उनको परिवारलाई भने नेगेटिभ देखियो।
माधव नेपालमात्र हैन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा वरिष्ठ नेता झलनाथ खनालको पनि घरमै गएर पीसीआर टेस्ट गरिएको थियो।
‘भिआइपीहरुको पटक-पटक घर-घरमै गई स्वाव परीक्षण गर्छन्। ४ घण्टामा रिपोर्ट आउँछ। हाम्रो भने हप्तौं बित्दा पनि आएको छैन,’ १० दिनसम्म रिपोर्ट कुरेरे आजित भएका एक सर्वसाधारणले नाम नलेखिदिने सर्तमा गुनासो पोखे।
रिपोर्ट आउन किन ढिलाइ?
जनस्वास्थ्यविद् सुजनबाबु मरहठ्ठा सरकारी प्रयोगशालाहरूमा परीक्षण गर्नेहरुको संख्या बढेकै कारण रिपोर्टमा ढिलाइ भएको बताउँछन्। ‘ढिला हुनुमा सरकारी क्षेत्रमा माग बढी र वितरण कम भएर हो। त्यसलाई नियन्त्रण गर्न सरकारले सकिरहेको छैन,’ डा. मरहठ्ठा भन्छन्।
उनका अनुसार पीसीआर परीक्षणको चार घण्टापछि रिपोर्ट आउँछ। त्यसकारण रिपोर्ट आउन समय नलाग्ने तर स्याम्पलहरु ‘क्यु’मा बसिरहेका कारण ढिलाइ भएको उनको दाबी छ। सरकारले निर्णय र सल्लाह गर्ने पद्धतिको विकास गर्यो भने यी कुरा समाधान गर्न गाह्रो नहुने मरहट्ठा बताउँछन्।
त्यस्तै जनस्वास्थ्यविद् रवीन्द्र समीर रिपोर्ट आउन ढिलाइ भएका कारण ‘कन्ट्याक्ट ट्रेसिङ’ प्रभावकारी बन्न नसकेको बताउँछन्।
नेपालमा एक जनाले धेरैमा १ सय २५ जनासम्मलाई सारेको छ। सबैभन्दा कम सार्नेले १ जनाले १ जनालाई सारेको छ। सरदरमा सबै हेर्दा १ जनाले १२ जनालाई कोरोना सारिरहेको छ।
‘जति ढिला रिपोर्ट आयो, त्यति नै धेरै कोरोना संक्रमण सर्ने, ‘कन्ट्याक ट्रेसिङ’ गर्न गाह्रो हुने अवस्था सिर्जना हुन्छ,’ उनी भन्छन्, ‘ तर, छिटो रिपोर्ट आयो भने को-को मान्छेलाई सर्यो भनेर कन्ट्याक्ट ट्रेसिङ गर्न पनि सजिलो हुन्छ। कोरोना नियन्त्रणमा यसको महत्वपूर्ण भूमिका हुन्छ। अहिले कन्ट्याक्ट ट्रेसिङ एकदमै कम भएको छ। पहिले निकै प्रभावकारी थियो। परीक्षण बढेर पनि त्यस्तो भएको हुनसक्छ। तर परीक्षण बढेपनि कन्ट्याक्ट ट्रेसिङ व्यवस्थित र प्रभावकारी गराउन पनि नसकिने हैन। यो व्यवस्थापनको कुरा हो।’
यसरी सर्वसाधारण तथा जनस्वास्थ्यविद्बाटै समयमा रिपोर्ट नआएको गुनासो बढिरहे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम यसलाई स्वीकार्न चाहँदैनन्। उल्टै दाबीसहित भन्छन्, ‘एक दुई वटा प्रयोगशालामा त्यस्तो भए होलान्। हामीले कुनै पनि परीक्षणको रिपोर्ट आउन ढिलाइ गरेका छैनौं।’
ढिला रिपोर्ट आए संक्रमण फैलने अत्यधिक जोखिम हुन्छ : डा. रवीन्द्र समीर
अहिले पीसीआर परीक्षणको रिपोर्ट चार घण्टामै आउँछ, निजी ल्याबहरुले छिटै रिपोर्ट दिन थालेका छन्। अहिले यस्तो भइरहेको छ कि शंका लागेको व्यक्तिले आएर परीक्षण गर्छ, त्यसपछि ऊ घर जान्छ। घर गएपछि आफ्नो परिवार र साथीभाइ भेट्छ। रिपोर्ट आउने बेलासम्म उसले धेरै जनालाई भेटेको हुन्छ। दुई दिनपछि मात्र उसलाई तपाईँको पोजेटिभ आएको छ भनेर फोन आउँछ। घरमा बस्ने वातावरण भए घरमा बस्नु, नभए वडामा बस्नु भनेर भनिन्छ। त्यतिबेलासम्म उसले धेरैलाई सारिसकेको हुन्छ र त्यसैले यसमा तत्कालीनरुरुपमा जसलाई शंका लागेर चेक गराएको छ, उसलाई स्वाव लिने बेलामा आइसोलेसन बस्न काउन्सेलिङ गर्न सकिन्छ।
कहिलेकाहीँ मान्छेले रिपोर्ट परीक्षण गर्छ अनि गाउँतिर जान्छ। यसले त धेरैलाई संक्रमण सर्ने डर हुन्छ। त्यसैले परीक्षण र रिपोर्ट अनि कन्ट्याक ट्रेसिङचाहिँ जति छिटो हुन्छ त्यतिधेरै प्रभावकारी हुन्छ।
नेपालमा एक जनाले धेरैमा १ सय २५ जनासम्मलाई सारेको छ। सबैभन्दा कम सार्नेले १ जनाले १ जनालाई सारेको छ। सरदरमा सबै हेर्दा १ जनाले १२ जनालाई कोरोना सारिरहेको छ। कन्ट्याक ट्रेसिङको कुरामा मानौं कि मैले ५ जनालाई भेटेँ भने ५ जनाको कन्ट्याक ट्रेसिङ गर्नुपर्यो।
कन्ट्याक ट्रेसिङ गरिएन भने जसलाई संक्रमण देखियो उसलाई मात्र आइसोलेसनमा राखिनुपर्छ। २४ घण्टाको रिपोर्ट भनिएको हुन्छ। त्यो २४ घण्टामा प्राप्त भएको रिपोर्ट हो। रिपोर्टमा पारदर्शीचाहिँ हुनुपर्छ।
सरकारले कोरोना संक्रमितलाई सान्त्वना दिनुपर्ने हो। तर तर्साइरहेको छ। आइसोलेसन वार्ड छैन भनेर त्रास बढाइरहेको छ। पारदर्शिता कायम गर्नुपर्छ। सम्बन्धित ल्याबहरुले पनि पारदर्शी ढंगले सूची राख्नुपर्छ। कतिपय देशहरुमा संक्रमितहरुको संख्या घटाइरहेको भन्ने कुरा आइरहेको छ। इरानमै २ हप्ताअघि त्यहाँ १४ हजारको मृत्यु भनिएको थियो। तर, ४२ हजार ९ सयको मृत्यु भएको थाहा भयो। यो कुरामा नेपाल सरकार सजग हुनुपर्ने अवस्था छ। सूचना लुकाए यसले झन् ठूलो महामारीको रुप लिनसक्छ।