हाल: निकै कष्टकर र भयावह समय अधिकांश व्यक्तिले भोगिरहेका छन्। त्यसको कारण हो कोभिड–१९ को महामारी। यस समयबीच मानिसले अनेकौं समस्या झेलिरहेका छन्। जुन सर्वविदितै छन्। मान्छेले आफ्नो गुजाराका निम्ति जीवनभर गर्नुपरेका संघर्ष शब्दमा उतार्न जति कठिन छ, त्यति गाह्रो भोगाइमा छ। देशमा यस्तो भयावह स्थिति इतिहासमै सम्भवतः पहिलोपटक हो। सोही कारण लामो समय मानिस घरमै थुनिएर निष्कृय हुनुपरेको छ। यसैपनि नेपालमा बेरोजगारीको समस्या यथावत् थियो नै, त्यसमाथि यो महामारीले झनै ठूलो समस्या निम्तिएको छ।
विकासोन्मुख देशमध्ये रोजगारीको हिसाबमा निकै नै पछाडि परेको देश हो। कोरोना सन्त्रासका कारण देश विकासको प्रमुख आधार मानिने युवा पीडिमा झन् जोशजाँगर क्रमशः सेलाउँदै गइरहेको पाइन्छ। अहिले अधिकांश युवाको चाहना भनेको देशमै रोजगारी प्राप्त गर्नु र त्यसैलाई निरन्तरता दिनु हो। तर बदलिँदो परिस्थिति र देशको राजनीतिक अस्थिरताका कारण कैयौं युवामा नैराश्यता छाउँदै गएको कुरालाई नकार्न सकिँदैन।
केही वर्षयता नै नेपालको भावी दिनमा प्रश्नचिन्ह उठाउँदै युवायुवती रोजगारी तथा अध्ययनका बहानामा विदेशिने र उतै पलायन हुने क्रम बढ्दो छ। यस्ता व्यक्तिलाई राज्यले देशमै सम्भावनाका बाटो देखाउन सकिरहेको छैन। यसबाट प्रत्यक्ष एवम् परोक्ष राज्यलाई नै असर परिरहेको छ। किनकी सशक्त र होनहार युवालाई विदेसिनबाट राज्यले रोक्न सकिरहेको अवस्था छैन। यसले देशको भविष्यप्रति नै औँला उठ्ने अवस्थाको सिर्जना हुन्छ।
अब कुरा गरौँ रोजगार प्रणालीको, नेपालको रोजगार प्रणालीमा नातावाद र कृपावादले जरा गाडिसकेको छ। प्रशासनिक संयन्त्रदेखि निजी तथा गैर सरकारी संघ–संस्था लगायत सबै किसिमका कार्यालयमा यस प्रचलन विद्यामान नै छ। यसको अन्त्य कहिले होला त? यस बिषयमा निष्पक्ष र सर्बसम्मत चुनाई कहिले हुन्छ? अहिले आम युवाको मन मस्तिष्कको प्रश्न हो यो। अर्को एकदमै चरम बिन्दुमा रहेको र जनमानसबाट उठाउनै पर्ने बिषय भनेको रोजगारीको कुनैपनि पदमा रोजगार आवेदन गर्दा अनुभवको इतिहास खोजिन्छ।
जब कुनैपनि व्यक्तिले आफ्नो ज्ञान, सीप, क्षमता र दक्षता प्रस्तुत गर्ने अवसर नै पाएको हुँदैन भने उसले अनुभवप्राप्त लिखित प्रमाणपत्र कहाँबाट ल्याउने? अनि अनुभवी र आफ्नालाई मात्र रोजगारीमा प्राथमिकता दिने हो भने नयाँ पुस्ता र फरक बिचारधारालाई कसरी समावेश गराउने त? प्रश्न गम्भीर छ। सधैभरी एकै स्तरका र अनि एउटै बिचारका व्यक्तिलाई रोजगारी दिने हो भने नयाँ सोच, नयाँ बिचार र नयाँ प्रणालीले कहिले मौका पाउने त? यस्तो प्रणालीलाई निरन्तरता दिइरहँदा फरक सोचबिचार र प्रवृत्तिको कहिल्यै कदर हुन सक्दैन। यस्तै कारणले गर्दा आज लाखौँ युवा सरकार र सरोकारवालाप्रति नकारात्मक बिचार तथा वितृष्णा पैदा गर्न बाध्य भएका छन्। यसतर्फ गम्भीर ध्यानाकर्षण हुनु आवश्यक छ।
यो समस्या तत्काल निवारण हुने त होइन तर पनि सरकार र राज्यस्तरबाट नागरिकलाई जागरण गर्ने र हौसला प्रदान गर्ने जस्ता कार्यक्रम ल्याउनुपर्छ।
हाम्रो देशको प्रशासनिक संयन्त्रदेखि लिएर विभिन्न निजी संघ संस्थामा आफ्ना नजिकका नातेदार अनि अनुभवी भनिने हरुलाई चिनजानका आधारमा जागिरमा राख्ने परिपाटि मौलाइरहेको पाइन्छ। आफन्त ठूला पदमा छैनन् भने जतिसुकेै योग्य भएतापनि अवसर पाउन कठिन छ। यस्तो परिपाटीको अन्त्य कहिले होला? के राज्यले सार्वजनिक हक र हितका निम्ति खुला प्रतिस्पर्धा गर्नु अझै जरुरी छैन? यस्तै विविध कारणले गर्दा गतिशील युवापुस्तामा बिस्तारै जोश र जाँगर हराउँदै गएको छ र विदेशप्रतिको मोह बढ्दो छ।
यसले राज्यलाई ठूलो मूल्य चुकाउनुपर्ने स्थिति सिर्जना नहोला भन्न सकिन्न। नेपालमा अझैपनि ६५ प्रतिशत भन्दा बढि जनशक्ति बेरोजगार छन्। देश विकासका प्रमुख आधार मानिएका युवापीढि यसरी ओइलाउँदै जानु भनेको पक्कै पनि राम्रो संकेत भने होइन। युवालाई समाज परिवर्तनको संवाहक मानिन्छ। यस्ता सम्भावना पलायन हुनु अथवा त्यसै बस्नु भनेको दुःखको कुरा हो। नेपालमा श्रमको उचित मुल्याङ्कन र समान वितरण छैन भन्ने कुरालाई यसले छर्लङ्ग बनाएको छ।
कस्ता ठाउँमा कस्तो जनशक्ति परिचालन गर्नुपर्ने हो भन्ने तर्फ कसैको ध्यान गएको देखिँदैन। देशमा विद्यमान समस्यालाइ नियाल्दा आगामी दश वर्षमा बेरोजगारीको समस्या दोब्बर हुने कुरा अनुमान लगाउन सकिन्छ। यो वर्तमान समयको तीतो सत्य हो। अहिले अधिकांश व्यक्ति बेरोजगार छन् भने रोजगारी हुने र व्यवसायी मध्येपनि कतिले त रोजगारी नै गुमाउनु परेको छ भने व्यवसाय सञ्चालन गरेकाहरूले पनि आफ्नो व्यवसाय ठप्प गर्नुपरेको छ।
लकडाउन र बन्दाबन्दीको अवधि कति र कहिलेसम्म हो जनमानसमा यतिबेला अन्योलता छाएको छ। यसैबीचमा ऋण र व्यवसायको चटारो अनि देशको अस्तब्यस्तताका कारण केही मानिसले आत्महत्या जस्तो डरलाग्दो कदम पनि चालिएको देखियो। यस्तै अवस्थाले गर्दा अधिकांश व्यक्ति डिप्रेशनको सिकार बन्दै गइरहेका छन् भन्ने समाचार पनि सुन्नमा नआएका होइनन्। यो वर्तमान समयमा भइरहेको गम्भीर विषय हो।
यो समस्या तत्काल निवारण हुने समस्या त होइन तर पनि सरकार र राज्यस्तरबाट नागरिकलाई जागरण गर्ने र हौसला प्रदान गर्ने जस्ता कार्यक्रम ल्याइनु जरूरी देखिन्छ। अर्को कुरा सरकारी तवरबाट युवालाई रोजगार सुनिश्चितता र उत्पादनमा प्रोत्साहन दिने जस्ता कार्य हुनुपर्दछ। यति नगरिए राज्यले विकास निर्माणका दियो मानिने हौसिला युवापुस्ता सधैँका लागि गुमाउनुपर्ने अवस्था आइपर्ने तथा निरुत्साहित हुनुपर्ने दिन धेरै लम्बिनेवाला छैन।
मानिसलाई अगाडी बढ्नका निम्ति शारिरीक स्फुर्तता सँगसँगै मानसिक सहजता हुनु पनि अति आवश्यक हुन्छ। यसका साथसाथै हौसला र अवसरका ढोकाहरू निष्पक्ष ढङ्गबाट खोलिनु पर्दछ। विशेषगरी युवालाई लक्षित हुने गरी समयसमयमा ओरियन्टेशन प्रोग्राम लगायत विभिन्न अनलाइन माध्यमबाट पनि विभिन्न कार्यक्रम संगठनात्मक हिसाबले सञ्चालन गरी सीप र क्षमता अनुकुलका रोजगारीका अवसर दिलाउनु अत्यन्तै आवश्यक छ।
भोलिका कर्णधार निराश हुनु र एकाएक विदेशिदै जानु देशकै भविष्यमाथिको धारिलो प्रहार हो। त्यसैले यस कहर पश्चात् सरकारले युवा वेरोेजगारी र असामान्य जीवन बिताउन बाध्य जनतालाई हौसित गर्ने र क्षमता अनुरुप उनीलाई आवश्यक क्षेत्रमा परिचालन गर्नलाई ढिलो नगरीकन पहल गरोस्। आशा गरौँ कोरोना महामारी चाँडै अन्त्य हुनेछ। सुरक्षित रहौँ, सजग रहौँ।